काठमाडौं । धनुषा क्षेत्र नं. ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्र महतो उतै रोकिएका छन् । उनलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले २ हजार ११ मत अन्तरले पराजित गरेपछि महतो उतै रोकिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएपछि संसदभित्र उनको कचकच पनि सकिएको छ । विजयी महिन्द्रले २३ हजार ५२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी बनेका महतोले २१ हजार ५१८ मतमा मात्र पाएका छन् ।
संविधानसभा निर्वाचन–२०७० मा पनि सर्लाही–५ मा महिन्द्रले राजेन्द्रलाई नै हराएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । यो हारले ६५ वर्षीय राजेन्द्रको आगामी राजनीति यात्रा चुनौतीपूर्ण बनेको छ ।
२०७० मा चुनाव लड्दा राजेन्द्र सदभावना पार्टी नेपालका अध्यक्ष थिए भने महिन्द्र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष । मधेश आन्दोलनपछि मधेस केन्द्रित ६ दल मिलेर महन्थ ठाकुरको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । राजेन्द्र र महेन्द्र एउटै दलका सहयात्री बन्न पुगे । २०७४ को निर्वाचनमा महिन्द्र सर्लाही–२ बाट लड्ने भएपछि राजेन्द्रले मधेश आन्दोलनको केन्द्र धनुषा ३ रोजेका थिए ।
मधेश आन्दोलनको रापतापको प्रभावले राजेन्द्र २ हजार ९०३ मतान्तरले विमलेन्द्रलाई पराजित गर्दै सांसद बने भने महिन्द्र सर्लाही–२ बाट चुनिएर आए । प्रतिनिधिसभाको त्यही कार्यकालमा मधेशकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि जसपाका नेताहरु दुई खेमामा विभावित भए । राजेन्द्र, महन्थ ठाकुरतिर लागे भने महिन्द्र, उपेन्द्र यादवतिर ।
गत वैशाखको स्थानीय चुनावको नजिताले धनुषा ३ मा पार्टीको अवस्था कमजोर देखेपछि राजेन्द्र पनि सर्लाही–२ मा फर्किएका हुन् । अघिल्लो पटक आफूलाई जिताउन भूमिका खेलेकी जुली महतोले यो पटक धनुषा ३ बाट प्रत्यक्ष उम्मेदवार बनेका करण पनि उनी उता गएका थिए ।
माओवादीले महिन्द्रलाई यो क्षेत्रमा उम्मेदवार बनाउने अडान लिएपछि राजेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार समेत बन्न सकेनन् । तर उनी मित्रवत् प्रतिस्पर्धा गर्न तयार भए । कांग्रेसका जंगीलाल राय लगायतको साथका कारण उनी चुनाव जित्नेमा आशावादी पनि थिए । सर्लाहीमा २०५१ यता लगातार ५ पटक चुनाव जितेर बलियो पकड बनाएका महेन्द्रँग पराजित भए ।
यो हारले पार्टीको नेतृत्व लिने राजेन्द्र महतोको योजनामा अवरोध आउन सक्ने नेताहरु बताउँछन् । किनकी ८० वर्ष पुगिसकेका लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ बाट चुनाव जितेर आएका छन् भने नेताहरु शरत सिंह भण्डारीले महोत्तरी– २ र सर्वेन्द्रनाथ शुक्लाले पनि रुपन्देही–४ मा चुनाव जितेका छन् ।