प्रदीप पौडेलको निर्णयलाई समेत ख्याल गर्दै कांग्रेस नेताहरु गगन थापाका प्रतिकुलता र अनुकुलताका केही सीमाहरु देख्छन् ।
- पहिलो – माओवादीको पोजिसन कस्तो आउला ?
- दोस्रो– रास्वपाको हैसियत के हुने छ ?
यो समाचार लेख्दै गर्दा बेलाको चुनावी नतिजा हेर्दा कुन दल तेस्रो दलका रुपमा उदाउँछ भन्ने यकिन छैन । प्रचण्डले दाबी गरेझैं ‘निर्णायक तेस्रो’ हुन नसके पनि वरियतामा तेस्रो दल रहिरहने माओवादी केन्द्रको प्रयास छ । तर यही स्थानमा आउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जोड लगाइरहेको छ । यस्तो अवस्थामा कथं तेस्रो दल रहे पनि माओवादी केन्द्र सरकार बनाउने सन्दर्भमा निर्णायक नहुन सक्छ । कांग्रेस नेताहरुका अनुसार सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादीले सरकार बनाउन सक्ने गरी बहुमत पाएको अवस्थामा राजनीतिक कोर्स शेरबहादुर देउवाकै नेतृत्वमा अगाडि बढ्छ । शेरबहादुर देउवालाई गगन थापाले टक्कर दिए पनि हराउन सक्ने छैनन् । किनभने, टिकट वितरणदेखि समानुपातिक सूचीमा देउवाले आफूलाई अनुकुल बनाउने प्रयास गरेकै छन् ।
केही गरी गठबन्धनले सरकार बनाउन सक्ने बहुमत प्राप्त गरेन वा माओवादी केन्द्र तेस्रो दल भएर पनि निर्णायक रहेन भने साना दलहरुको साथ खोज्नुपर्ने हुन्छ । यो स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय निर्णायक हुनेछ । रास्वपाले ‘फलाना’लाई प्रधानमन्त्री बनाउने भए सहयोग गर्छु भनेर ‘किङ मेकर’को भूमिका निभाउन सक्छ । रास्वपाका सभापति रवि लामिछानेले नयाँ व्यक्ति अगाडि सर्दा अर्को दललाई सरकार बनाउन सहयोग गर्न सक्ने संकेत गरेका छन् । यसको सोझो अर्थ कांग्रेसबाट देउवा नै प्रधानमन्त्री बन्ने हुँदा सहयोग नगर्ने र नयाँ अनुहार भए सहयोग गर्ने लामिछानेको उद्घोष हो । यसकारण पनि कांग्रेसभित्र प्रकाशमान, रामचन्द्र पौडेल र शेरबहादुर देउवाले दवाव महसुस गरेका छन् ।
सत्ता गठबन्धनले सरकार बनाउन नसक्दा एमालेले दाबी गर्न सक्छ । अर्थात, राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य स्वतन्त्र र बागी उम्मेदवारहरुको साथ लिएर कांग्रेस वा एमाले कुनै पनि दलले सरकार बनाउनुपर्ने अवस्था बन्यो भने सहयोग गर्नेहरुले प्रधानमन्त्रीमा नयाँ अनुहार ल्याउनुपर्ने शर्त राख्न सक्छन् । यस्तो परिस्थितिमा सोही अनुसार नयाँ अनुहार अगाडि सार्ने कि सरकार नबनाउने भनेर फेरि चुनावमा जाने भन्ने अहं प्रश्न खडा हुन्छ ।
दलहरुले सरकार बनाउनै नसकेको भनेर जनआक्रोश नयाँ दलप्रति पोखिन सक्ने त्रासमा दलहरु नयाँ अनुहारलाई नै अगाडि बढाउन बाध्य हुने कातिपयको बुझाइ छ । यो बहस स्वयं कांग्रेसभित्र पनि हुनेछ । यो बुझाइ कांग्रेसका गगन थापा पक्षधरहरुको पनि छ । यस्तो बेला प्रदीप पौडेल लगायतका नेताहरु खुलेर गगन थापाको पक्षमा देखिन सक्छन् । यसकारण पनि गगन थापालाई भावी प्रधानमन्त्रीमा अगाडि सार्ने विश्वप्रकाशको निर्णयले कांग्रेसमा नेतृत्व पुस्तान्तरण हुन दबाब सिर्जना गर्न सक्ने कांग्रेस नेताहरुकै बुझाइ छ ।
- संवादमा शीर्ष नेता
भावी सरकार र समीकरणका सम्भावनाबारे कांग्रेसका अघिल्लो पुस्ताका नेताहरु अनौपचारिक संवादमा जुट्न थालेका छन् । नेताहरुका अनुसार गगन थापाले संसदीय दलको नेताका लागि तयारी जुट्ने घोषणा गरेकै दिन मंगलबार साँझ नेता प्रकाशमान सिंह, रामचन्द्र पौडेल र शेरबहादुर देउवाका बीचमा अनौपचारिक कुराकानी भएको छ । प्रकाशमान सिंहको पहलमा भएको तीन नेताको भेटमा मुख्यतः संसदीय दलको नेताका विषयमा तीन नेता मिलेर जानुपर्ने विषयमा छलफल भएको छ ।
तीन नेताको तर्फबाट एक जना मात्रै संसदीय दलको नेताका रुपमा अगाडि सर्नुपर्ने विषयमा छलफल भएको छ’ एक नेताले जन प्रहारलाई भने । तर, यी तिनै जना संसदीय दलको नेता र प्रधानमन्त्रीका आकांक्षी हुन् । प्रकाशमानले चुनाव प्रचार प्रसारका क्रममा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । रामचन्द्र पौडेलले मुलुकले आफ्नो नेतृत्व खोजेको बताउँदै आएका छन् । जबर्जस्त नयाँ अनुहार भनेर संसदीय दलका प्रतिस्पर्धा हुने परिस्थिति बन्दा बाजी मार्न सकिन्छ कि भन्ने दाउ प्रकाशमानको पनि छ । केही नेताहरु गगन थापाले बलियो माहेल बनाए प्रदीप पौडेललाई अघिल्लो पुस्ताका नेताहरुले भिडाउन सक्ने आंकलन पनि गर्छन् ।
गगन थापासँग लड्न सक्ने नेताको रुपमा पौडेललाई लिइन्छ । यसकारण पनि यी दुई नेतालाई एक हुन नदिएर भिडाउने र तेस्रो व्यक्तिलाई संसदीय दलको नेता बनाउने प्रयास हुन सक्छ । देश भित्र र बाहिरका अरु शक्ति केन्द्रले पनि गगन थापालाई काउण्टर दिने नेताको रुपमा प्रदीप पौडेललाई लिँदै आएको तर्क गर्नेहरुको यो बुझाइ छ । तर, आफ्ना लागि छोड्न देउवा, रामचन्द्र र प्रकाशमान तयार नहुँदा पुस्तान्तरणको विषय उठाएर प्रदीपले नै गगनलाई नै समर्थन गर्ने स्थिति बन्न सक्छ । यो अवस्थामा पनि विश्वप्रकाशको मंगलबारको निर्णयले कांग्रेसमा नेतृत्व पुस्तान्तरण हुनसक्छ ।
- रास्वपासँग संवाद
सरकार बनाउन रास्वपाको निर्णय निर्णायक हुन सक्ने आंकलनका बीच यस पार्टीका नेताहरु कांग्रेसका नेताहरुसँग संवादमा पुगेका छन् । नेताहरुका अनुसार संवादका मुख्य दुई विषय छन् ।
- पहिलो : अनुभव आदानप्रदान ।
- दोस्रो : सम्भावित राजनीतिक दृश्य
‘रवि लामिछाने र केही नेताहरुले फोन गरेर जनताले दिएको मतलाई व्यवहारिकतामा कसरी प्रदर्शन गर्ने हो’ भनेर सल्लाह लिनुभएको छ’ कांग्रेसका एक नेता भन्छन्, ‘उहाँहरुले कांग्रेसबाट सिक्न खोज्नुभएको छ ।’ साथसाथै, संवादमा क्रममा भावी राजनीतिबारे पनि छलफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको सरकारमा जाने भन्दा पनि संसदमा र जनतामा कसरी प्रस्तुत हुने भन्नेमा आफूहरु रहेको जवाफ फर्काएका छन् । आफूहरुकै कारण सरकार बन्ने र नबन्ने स्थिति आउने र आफूहरुको पार्टी प्रमुख प्रतिपक्षी दलको रुपमा नरहने स्थितिमा सरकार बनाउन सहयोग गर्ने र प्रतिपक्षीको भूमिका खेल्न तयार रहेको वचन दिएका छन् ।
नेताहरुका अनुसार तेस्रो शक्तिको रुपमा रहन सक्ने आंकलन भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु कांग्रेसका नेताहरुसँग संवादमा आउनु, आवश्यक पर्दा सहयोग गर्ने वचन दिनु जस्ता विषयले कांग्रेसभित्र तरंग नै ल्याइदिएको छ । यही तरंगका बीचमा प्रकाशमान, रामचन्द्र र देउवा अनौपचारिक संवादमा जुटेका हुन भने गगन थापा घोषणै गरेर संसदीय दलको नेताको प्रतिस्पर्धा गर्ने गरी माहोल बनाउन लागि परेका छन् ।
