काठमाडौं । चुनावी नतिजाको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन । नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । त्यही कारणले धेरै ‘एक्जिट पोल’हरु असफल भएका प्रशस्तै उदाहरणहरु छन् । तर निकट विगतको चुनावी नतिजा र चुनावका क्रममा बनेको राजनीतिक समीकरणलाई आधार मानेर पूर्वानुमान गर्न सकिन्छ । जसरी कुनै खेलमा खेलाडी र उसको टिमको पृष्ठभूमिलाई आधार मानेर नतिजाबारे पूर्वानुमान गर्ने प्रचलित विधि छ ।
४ मंसिरमा हुने चुनावको नतिजा आंकलन गर्न स्थानीय चुनावको नतिजा र दलहरुबीच बनेको राजनीतिक समीकरणको विश्लेषण एउटा बलियो विधि हो । किनकि ३० वैशाखमा देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा पनि दलहरु गठबन्धन र तालमेल गरेर नै चुनावी प्रतिस्पर्धामा थिए । यद्यपि त्यो बेला सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेतिर लागेको छ भने त्यसबेला कतिपय ठाउँमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनतिर लागेको छ ।
साथै, स्थानीय चुनावपछि गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हाम्रो नेपाली पार्टी (लौरो अभियान) को केही क्षेत्रमा राम्रो प्रभाव देखिन्छ । नयाँ पार्टीहरुले प्रतिनिधिसभाको केही निर्वाचन क्षेत्रको जित हारमै प्रभाव पारे पनि समग्रमा कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धनकै प्रतिस्पर्धा हुने देखिन्छ । यो आलेखमा दुई गठबन्धनमा आवद्ध दलहरुले स्थानीय निर्वाचनमा (वडाध्यक्षका उम्मेदवारहरु) ले पाएको मत, गठबन्धनभित्र मत स्थानान्तरण (ट्रान्सफर) र त्यसअनुसार आउने सम्भावित परिणामबारे चर्चा गर्नेछौं ।
पहिलो : १३४ र ३० को आंकडा
सबभन्दा पहिला दुबै गठबन्धनमा आवद्ध दलले वडाध्यक्षमा पाएको मतका आधारमा आउने नतिजा हेरौं ।
सत्ता गठबन्धनमा आवद्ध दलका वडाअध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा जसको बढी आउँछ, त्यसले जित्छ भन्ने मान्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनले १३४ र एमाले नेतृत्वको गठबन्धनले मात्र ३० निर्वाचन क्षेत्रमा चुनाव जित्ने छ । भक्तपुर क्षेत्र नम्बर १ मात्रै यस्तो एउटा क्षेत्र हो, जहाँ दुबै गठबन्धन जित्ने छैन । त्यहाँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सबभन्दा धेरै भोट छ ।
यो आंकडाअनुसार, सत्तारुढ र एमाले दुवै गठबन्धनले शतप्रतिशत सफलता पाउँदाको स्थिति हो । तर यस्तो नजिता आउने सम्भावना अत्यन्तै न्यून हुनेछ ।
दोस्रो : ८५/७९ को आंकडा
सत्तारुढ कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ । लोसपासँग प्रदेश २ मा मात्र गठबन्धन हो भने अरु दलसँग देशभर । स्थानीय निर्वाचनको पहिलो दल र तेस्रो दलले देशभर तालमेल गर्नु र त्यही गठबन्धनमा अरु दल पनि थपिनु सत्ता गठबन्धनका लागि चुनावी अनुकलता हो ।
तर एउटा पार्टीको समर्थकको मत अर्को पार्टीका उम्मेदवारमा जानु (मत ट्रान्सफर) उनीहरुका लागि चुनौती हो । एउटा दलले पाएको मत अर्को दलका उम्मेदवारलाई दिलाउन सजिलो कुरा होइन । किनकि निकै कम मत भएको पार्टीका उम्मेदवारलाई ठूलो मत पाएको पार्टीले समर्थन गरेको अवस्था छ ।
यदि सत्ता गठबन्धनको उम्मेदवारले गठबन्धनकै अर्को सहयात्री दलबाट ५० प्रतिशत मात्र मत पायो र बाँकी मत अर्को गठबन्धनका उम्मेदवारलाई गयो भने नजिता हेरफेर हुनेछ । गठबन्धनको मत ५० प्रतिशत पनि ट्रान्सफर भएन भने १३४ को आंकडा घटेर ८५ मा झर्नेछ र, एमाले नेतृत्वको गठबन्धनको सिट ३० बाट बढेर ८७ पुग्नेछ । र नेमकिपाको एक सिट कायमै रहनेछ ।
यो अवस्थामा गठबन्धनमा रहेका दलहरुले समानुपातिक पद्धतिमा पाउने सिटका आधारमा बहुमतको सरकार बनाउन सक्छन् । चुनावी अंकको विश्लेषण गरिरहेका कांग्रेस नेता डा. मिनेन्द्र रिजाल भन्छन्, ‘८५ ठाउँमा मात्रै चुनाव जिते समानुपातिक जोड्दा गठबन्धनको बहुमत पुग्छ, सरकार बनाउने आधार बन्छ । तर त्यति थोरै ठाउँमा अपेक्षित सफलता प्राप्त नभएकोमा एकअर्का प्रति औंला उठाएर नयाँ गठबन्धन निर्माण गर्ने बाटोको खोजी गर्ने सम्भवना हुनसक्छ ।