काठमाडौं । सेना र म्यादी प्रहरी परिचालनले समेत नपुगरे निर्वाचन सुरक्षाका लागि काठमाडौ उपत्यकामा रहेका प्रहरी कर्मचारीलाई बाहिर पठाइएको छ । काठमाडौं उपत्यकामा रिजर्भ फोर्समा रहेका प्रहरी कर्मचारीलाई काठमाडौं बाहिर पठाइएको हो ।
प्रहरी प्रधानकार्यालयका अनुसार बाहिर जिल्लामा १२ हजार प्रहरी पठाइएको छ । प्रहरी प्रधान कार्यालयले मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि शुक्रबारबाट बाहिरी जिल्लामा ११ हजार ९ सय ६१ जना प्रहरी परिचालनका लागि पठाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डीआईजी टेकप्रसाद राईले प्रहरी हेडक्वाटर र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट ती प्रहरी खटाइएको बताएका छन् । काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ३ हजार ८ सय २ जना प्रहरी मधेश प्रदेशमा पठाइएको छ ।
मधेश प्रदेश र अन्य जिल्लाबाट पनि सहायता माग भए बमोजिम उनीहरुलाई पठाइएको हो । यसअघि पनि काठमाडौबाट बाहिर जिल्लामा प्रहरी कर्मचारीहरु पठाउने गरिएको थियो । ‘काठमाडौको सुरक्षामा प्रयाप्त संख्या राखेर नै सुरक्षाकर्मीहरु पठाइएको हो’, प्रवक्ता राईले भने । मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थापनका उनीहरुलाई जिल्ला पठाउनु परेको बताएका छन् । नेपाल प्रहरीले निर्वाचन सकिए लगत्तै उनीहरुलाई उपत्यकाको आफ्नो यूनिटमा फिर्ता हुने गरी पठाएको हो । सरकारले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यकता अनुसार खटाएको हो ।
सशस्त्र प्रहरीले शुक्रबारदेखि आवश्यक परेको स्थानमा कर्मचारी पठाएको छ । सशस्त्र प्रहरीको सूचना शाखाका अनुसार आफ्ना कर्मचारीलाई बुधबारदेखि नै सम्बन्धित स्थानमा खटाइसकेको जनाएको छ । नेपाल प्रहरीले सुरक्षा जिम्मा लिएका प्रतिष्ठानहरु नेपाली सेनाले सुरक्षा जिम्मा लिएसँग उनीहरु काठमाडौं बाहिर गएका हुन् ।