Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरलाई आफ्नो किल्ला क्षेत्र भन्दै आएका महेश बस्नेतलाई यो चुनावमा कति गाह्रो ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २६ २०७९
  • 4.2K
    SHARES

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा अझै पनि चुनावी माहौल तातेको छैन् । २०७४ मा महेश बस्नेतको पक्षमा भोट माग्नेको संख्या टन्नै थियो । चुनाव प्रचारप्रसार गर्न नेकपा एमालेका कार्यकर्तालाई भ्याइ-नभ्याइ थियो । तर, अहिले त्यस्तो छैन् । हिजो जो बस्नेतको अघिपछि हिँडेका थिए, आज तिनीहरुले नै उनलाई समर्थन गरेका छैनन् । एमालेको चुनावी प्रचारप्रसारमा पनि त्यति रौनक छैन् ।

२०७४ सालमा माओवादी र एमाले मिलेर चुनाव लडेको थियो । एमालेले चुनाव जित्छ भन्ने पक्कापक्की भएपछि उनको अघिपछि लाग्नको लागि दौडधुप चलेको थियो । आफ्नो छोराछोरीलाई जागिर लगाउन, ठेक्कापट्टा आफ्नो हातमा पार्न र सरकारी र गुठीको जग्गा आफ्नो नाममा ल्याउनका लागि सबैजना बस्नेतकै पछि लागे । होटल व्यवसायी, उद्योग व्यवसायी, भूमाफिया, सहकारी सञ्चालक, निर्माण व्यवसायी सबै उनकै समर्थनमा जुटेका थिए ।

बाहिरी जिल्लाबाट आएर यो क्षेत्रमा जग्गा किनेर घर बनाएका नयाँ बस्तीहरुले पनि एमालेको झण्डा बोके । बस्नेतले त्यतिखेर थुप्रै आश्वासन बाँडेका थिए । आफ्नो स्वार्थ पूरा भएका र फाइदा लिन सकेकाहरु अझैपनि उनको पछाडि लागेका छन् । तर, आश्वासन मात्र पाएकाहरुले उनलाई चोर भन्न थालेका छन् । पहिले गर्दिछु भनेर भोट लिए तर पछि फर्किएर पनि हेरेनन् । अहिले उनीहरुले महेश बस्नेतलाई भोट पनि दिँदैनन् । उनको घरदैलो कार्यक्रममा पनि सहभागिता जनाएका छैनन् । यो क्षेत्रका जनताहरु बस्नेतले चुनाव हार्छ भनेर खुलेर भन्न थालिसकेका छन् । चुनाव नजित्नुको पछाडि थुप्रै कारण छ । एकातिर पाँच दल एक गठबन्धन भएको छ अर्कोतिर पाँच वर्षमा बस्नेतले विकासका लागि सिन्को पनि नभाँचेको स्थानीय जानकार ब्यक्तिहरु बताउछन ।

खाली खेतीयोग्य जमिन प्लानिङ गर्ने बाहेक अरु केही नै काम भएन् । पाँच वर्ष सांसद्को कार्यकाल फजुलमा खेर फाले, उनले १० वर्ष अगाडि यो क्षेत्रमा धेरै खेतबारी थियो । सबैतिर हरियाली थियो । तर, अहिले सबैतिर घर ठड्याइएको छ । प्लानिङ भएको छ । जग्गा धनीसंग आनाको दुई लाखमा किनेर खण्डीकरण गर्ने काम भयो । टुक्राटुक्रा बनाउँदै आनाको ५० लाखमा बेच्ने कार्य भयो । गुठीका जग्गा, सरकारी र सार्वजनिक जग्गा सबै व्यक्तिको नाममा गइसकेको छन । पार्टीपौवा , चौतारा, ढुंगेधारा, ताल, पाखेरी, मठमन्दिर, आर्यघाट सबै माँसियो । सरकारी सम्पत्ति माँसेर भवन ठड्याइएको छ । आफ्नो क्षेत्रमा भएको सरकारी सम्पत्ति कुन अवस्थामा छ ? उनले खोज्नका निम्ति कहिले चासो देखाएनन् । २०६४ सालमा यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले चुनाव जितेको थियो ।

त्यसअघिको चुनावमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसको किल्ला क्षेत्र हो , यो । कांग्रेस र नेमकिपाले यसरी खेतीयोग्य जमिनलाई प्लानिङ गर्न दिएका थिएनन् । कृषियोग्य जमिनमा निर्माणका कार्य अघि बढायो भने जनता भोकभोकै मर्छन् भनेर यी दुई पार्टीले जमिन बचाएर राखेका थिए । बाहिरको मान्छे पनि भित्राउन नहुने र पूराना जनतालाई पनि विस्थापन हुन दिने मान्यता दुई दलको थियो ।

जग्गा बेच्नेबित्तिकै पूराना बासिन्दा सबै विस्थापन हुन्छन् भन्ने उनीहरुले पहिलै सोचिसकेका थिए । पूराना स्थानीयमध्येमा नेमकिपा र कांग्रेसको सदस्यता मात्र थियो । एमालेको नामो निशान थिएन् । तर, जब उनीहरुले जग्गा बेचे त्यसपछि धमाधम बाहिरी जिल्लाका मान्छे भित्रिए । नयाँ आउने जति सबैले एमालेको सदस्यता लिए । नचाँहदा नचाँहिदै पनि एमाले बन्नुपर्ने बाध्यता थियो, उनीहरुलाई । एमाले नबनिकन राज्यबाट पाउनुपर्ने सेवासुविधा नै नदिने । सेवासुविधाका लागि पनि एमालेको सदस्यता लिनैपर्ने । धारा, बिजुली, ढल, बाटोलगायतका सेवासुविधा पाउनका लागि पार्टी नै बदल्नुपर्ने बाध्यता बस्नेतले पारेका थिए । कांग्रेस र नेमकिपाप्रति आस्था राख्नेहरु जग्गा बेचेर अन्य जिल्लामा पुगे । यहाँ सुकुम्बासी भएपछि थातथलो नै छोडेर हिँडे । जसले राप्रपा, कांग्रेस र नेमकिपालाई भोट दिन्छ त्यो क्षेत्रमा बजेट नै नहाल्दिने ।

विकासमै भेदभाव गरिदिने । निर्माण र विकासका काममा अत्यन्त ढिलासुस्ती गरिदिने । आफ्नो पार्टीले जितेको वडाध्यक्ष र मेयरहरुले कार्यकर्ताको जे पनि काम गरिदिने । मुखबाट तल झर्न नपाइकन एमालेका कार्यकर्ताहरुको काम हुन्छ । तर, कांग्रेसलगायत अन्य दलका कार्यकर्ता आए भने काम नै नगरिदिने । आज र भोलि भन्दै अड्काएर राखिदिन्छन् । एमालेहरुले यहाँ आफ्नो दबदबा बनाएर राखेका छन् ।महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भनेका थिए,‘विकास कस्तो हुन्छ र कसरी हुन्छ ? हेर्न मन छ भने भक्तपुर क्षेत्र नम्बर २ मा आउनु ।’ खेतीयोग्य जमिन प्लानिङ गरेर विकास हुन्छ ? खेत मासेर घर ठड्याउदैमा विकास हुन्छ ? १० वर्ष अघि यहाँका स्थानीयले आफ्नै बारीमा फलेको खान्थे भने अहिले प्लास्टिकको किनेर खान्छन् ।

हिजो बिसौं रोपनी जग्गा हुने व्यक्ति आज तीन रोपनीमा सीमित भएका छन् । यसलाई विकासको नाम दिनु लाजमर्दो कुरा हो । घर ठड्याउँदैमा विकास हुन्छ भनेर सोच्नेको बुद्धिभ्रष्ट भएको रहेछ भनेर जनताले बुझ्नुपर्छ । यहाँ दुई जनाको चाँहि अत्यधिक विकास भएको छ । प्लानिङ गरेर टन्न कमाउनेहरुका लागि भने विकास भयो । हिजो दुई लाखमा किनेको जग्गा प्लानिङ गर्दै बेच्ने भूमाफिया र धमाधम स्वीकृति दिने बस्नेतको चाहि विकास भएको छ ।

पर्दाभित्र बसेर टन्न कमाइहालेका छन् । अनि त्योभन्दा अरु के चाहियो ? राज्यलाई घाटा भयो, बिचौलिया र भूमाफियालाई फाइदा भो । भोलि जनतालाई घर होइन्, अन्नको आवश्यकता पर्छ भनेर समेत सोचेनन् । भारत र अन्य मुलुकले खाद्यान्न पठाएनन् भने यहाँका जनताले के खान्छन् ? आफ्नो फाइदाका लागि जग्गा प्लानिङ गर्न दिए । एकातिर पैसा पनि कमाए, अर्कोतिर नयाँ बस्तीको भोटले नेता पनि बने । आफु दुइटै हातमा लड्डु लिएर बसेका छन् तर राज्यलाई त ठूलो क्षति भयो नि । भक्तपुर उपत्यकाभित्र पर्छ तर यहाँका स्कुलहरुको अवस्था कस्तो छ ? सरकारी अस्पतालको हालत कस्तो छ ? यतातिर उनको कहिले ध्यान केन्द्रीत भएको छ ? सरकारी विद्यालयमा शिक्षक छैनन् । पढ्न गएका विद्यार्थी दिनभर डुलेर फर्किन्छन् । सरकारी अस्पताल हेर्यो भने छिर्न सम्भव छैन् ।

अनि यसलाई विकासको नाम दिने ? एउटा उखान छ,‘आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ ।’ यो उखान बस्नेतलाई सुहाउने खाले छ । २०७० सालमा कांग्रेसबाट चुनाव जितेका रामेश्वर ढुंगेलले राजनीति गर्दा बिसौं रोपनी जग्गा सिद्धाए । उनले यो क्षेत्रमा पानी ल्याइदिए । पहिले यहाँ पानीको कत्रो सकस थियो । पानी लिनका लागि यहाँका स्थानीय कहाँ कहाँ पुग्नुपथ्र्यो । उनले पानी ल्याइदिएपछि यहाँका स्थानीयलाई निकै सहज भएको छ । उनी मरेर गए पनि उनले गरेको काम सँधै जनताको मनमा रहनेछ । उनलाई यहाँका जनताले पानी पिता भनेर सम्बोधन गर्छन् । उनले राजनीति गरेर कमाएनन्, बरु आफ्नो पुख्र्यौली सम्पत्ति सिद्धाए । २०५० सालसम्म बस्नेतको परिवारको अवस्था एकदमै नाजुक थियो । आफ्नो खेतमा फलेको अन्नले पुग्ने अवस्था थिएन् ।

बस्नेत गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । तर, अहिले उनको सम्पत्ति भनिसाध्य छैन् । वडाध्यक्ष हुँदै मन्त्री र सांसद्सम्म आइपुगेका उनको सर्यौं ठाँउमा घरजग्गा भएको बताइन्छ । व्यवसायिक क्षेत्रमा पनि उनको धेरै लगानी भएको यहाँका स्थानीयहरु बताउँछन् । देश र विदेशी बैंकमा उनले प्रशस्तै पैसा राखेको बताइन्छ । यो सम्पत्ति कहाँबाट आयो ? गुण्डागर्दी पृष्ठभूमिबाट आएका उनले पहिलेपहिले व्यवसायीहरुलाई थर्काएर हप्ता उठाउँथे ।

तर, मन्त्री र सांसद् भएपछि यो क्रम रोकिएको छ । नयाँ बस्तीले पनि उनको यथार्थ कुरा थाहा पाइसकेका छन् जसले गर्दा उनको भोट कटौती हुने देखिन्छ । चिया पसल, पार्टीपौवामा बस्नेतकै चर्चा चलेको सुनिन्छ । उनले चुनाव हार्छन् भनेर यतिखेर बहस चलेको छ । २०७४ सालको चुनावमा अधिकांश वडा र नगरपालिकामा एमालेका प्रतिनिधि आएका थिए ।

तर, योचोटिको स्थानीय तहको चुनावमा एमालेले धेरै वडा र नगरपालिका गुमाएको छ । बस्नेतको भाषण सुन्दा दिक्क लागेर आँउछ । उनीसंग नेता हुने गुण छैन् भन्ने त प्रष्ट हुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइदिएर उनी नेता बनेका हुन् । ओलीले दुई चोटि सांसद् विघटन गरेको पनि जनताले बिर्सिएका छैनन् । एमालेलाई बहुमत दिँदा पनि सरकार चलाउन नसकेको त स्मरण नै छ । अब आउने चुनाव एमालेका धेरै उम्मेदवारहरु पाखा लाग्छन् । त्योमध्ये एक महेश बस्नेत पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४