Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं-५ ईश्वर-प्रदीपलाई स्वतन्त्रको डर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २३ २०७९
  • 4.1K
    SHARES

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई प्रमुख प्रतिस्पर्धी ठानिरहेका बेला विस्तारै स्वतन्त्र उम्मेदवारहरूले ‘आफूहरूलाई कम नआँक्न’ चुनौती दिन थालेका छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित धुम्रबराह माध्यमिक विद्यालयमा सोमबार बिहान योग गरिरहेकाहरूको नियमित कार्यलाई केही समय रोकेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘मानव समाज तनावग्रस्त छ । धेरै किसिमका जटिलताले गाँज्दैछ । साधना नहुँदा मानव जीवनमा तनाव देखिएको छ ।’ पोखरेलले दिएको उक्त अभिव्यक्ति अहिले उनको दिनचर्यासँग मिल्दो छ । बिहानदेखि अबेर रातिसम्म खट्नु परेको छ । सयौंका सय थरी कुरा सुन्नु छ । बेचैनी र तनाव हुँदैनथ्यो भने बिहानको झिसमिसेमा मत माग्न योग शिविरहरू धाउनुपर्ने थिएन । धुम्रबराह विद्यालयमा योग गरिरहेकाहरूसँग मत माग्ने कार्य आइतबारको दोस्रो काम थियो उनको ।

त्यसअघि उनी शंखपार्कभित्र सञ्चालित योग शिविरमा मत माग्न पुगिसकेका थिए । उनी शंखपार्क पुग्दा बिहानको ५ः४५ बजेको थियो । योग साधनाको आवश्यकता ठान्ने पोखरेल आफैंलाई भने योग गरेर बस्ने समय छैन । ६८ वर्षे उमेरमा पनि युवा लय निकाल्दै उनी बिहानीको चिसो पन्छाउँदै मत माग्न त्यहाँ पुगेका थिए । शंखपार्क, धुम्रबराह माध्यमिक विद्यालय र टुँडाल मन्दिरमा योग गरिरहेकासँग बिहान ७ः१५ बजेसम्ममा उनले मत मागिसकेका थिए ।

कात्तिक १५ गते पोखरेलले टोखा नगरपालिकाको वडा नम्बर २ मा स्थानीयसँग अन्तरक्रिया राखेका थिए । त्यसैक्रममा टोखा-२ का राजाराम श्रेष्ठले रक्षामन्त्री हुँदाको उनको भूमिकामाथि प्रश्न उठाए । श्रेष्ठको प्रश्न थियो, ‘तपाईं रक्षामन्त्री हुँदा के काम गर्नुभयो ? ओम्नीको काण्ड के हो ? खुलाइदिनु पर्‍यो ! पोखरेल पनि आफूमाथि मतदाताले प्रश्न उठाएको स्वीकार्छन् । तर, उनले धेरै आरोप मिथ्या भएको बताए । सोमबार बिहान घरदैलो प्रचार हुनुअघि भएको कार्यक्रममा उनले भने, ‘मलाई लगाएका आरोपहरू पुष्टि गरुन् । म चुनौती सामना गर्न तयार छु ।’ पोखरेलले विरोधीले तथ्यहीन विषय उरालेकोले डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

२०७४ सालमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित पोखरेललाई मतदाताले अघिल्लो पटक गरेको वाचाको जवाफ मागिरहेका छन् । निवर्तमान सांसद भएकाले उनले यस्ता प्रश्नहरू झेल्नुपरेको छ । टोखा-२ की मीरा डंगोल भन्छिन्, ‘पहिले ईश्वर कमरेडले पानी ल्याइदिन्छौं भन्नुभयो तर पानी आएन । मेरा दिदीबहिनीहरू अहिले पनि त्यही कुरा सोध्नुहुन्छ ।’ कात्तिक १५ मा पोखरेलसँग डंगोलले भनिन्, ‘यस्तो कमजोरी अब नहोस्, जे गर्छु भन्नुभएको छ, त्यो गर्नुपर्‍यो ।’ पोखरेलले डंगोलले उठाएको पानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । १७ कात्तिकमा सार्वजनिक उनको प्रतिबद्धतापत्रको १५औं बुँदामा पानीको व्यवस्था गरिने उल्लेख छ । ‘यस क्षेत्रका जनताको प्रमुख समस्या रहेको खानेपानीको अभावलाई सम्बोधन गर्न वर्तमान पानी वितरण प्रणालीलाई सुदृढ गर्दै स्रोत समेतको उपयोग गरी क्षेत्रका सम्पूर्ण घरमा स्वच्छ खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउन योजना बनाई कार्यान्वयन गरिनेछ’, प्रतिबद्धतापत्रमा भनिएको छ । पोखरेलसँगै यो क्षेत्रमा दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार छन् ।

  • पोखरेल-पौडेलको चहलपहल धेरै

२९ जना उम्मेदवार रहे पनि मूलतः एमालेका पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेलको चहलपहल अन्यको भन्दा धेरै छ । चुनावी गीत र उम्मेदवारका पक्षमा बनेका गीत दुवै उम्मेदवारले बजाउने गरेका छन् । पोखरेलले गरेको चुनावी प्रतिबद्धताका मुद्दालाई ‘काउन्टर’ दिने शैलीमा पौडेलको चुनावी तयारी देखिन्छ । पोखरेलको पहिलो प्रतिबद्धता ‘संविधानको रक्षा र कार्यान्वयनमा दृढतापूर्वक क्रियाशील हुने’ उल्लेख छ । यसको प्रतिवादसहित पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रहार गरेकाले त्यसको रक्षाका लागि गठबन्धन बनाउनु परेको बताउने गरेका छन् ।

यसैगरी पोखरेलको पक्षमा र पौडेलको विपक्षमा तर्क गर्दा एमाले कार्यकर्ताहरू यस क्षेत्रमा पोखरेल ४० वर्षदेखि बस्दै आएकोले उनको बलियो जनाधार रहेको दाबी गर्छन् । एमालेका उम्मेदवार पोखरेलले प्रतिस्पर्धी पौडेललाई ‘टुरिष्ट’ नै नभने पनि उनका कार्यकर्ताले चाहिं ‘मौका पायो कि टुरिष्ट उम्मेदवार’ भन्छन् । पोखरेलले पनि भलाद्मी भाषामा पौडेल क्षेत्र खोज्दै हिंडेकोमा व्यङ्ग्य गर्ने गरेका छन् । उनी भन्छन्, ‘युवाहरूले क्षेत्र परिवर्तन गर्दै हिंड्नु राम्रो होइन ।’ पौडेलले यसअघि तनहुँ-२ बाट प्रदेश सभामा प्रतिस्पर्धा गरेका थिए ।

तर पोखरेल पक्षले आफूमाथि ‘टुरिष्ट’ भनेकोमा प्रतिवाद गर्दै पौडेल भन्छन्, ‘तपाईंहरूको मत लिएर गएपछि पाँच वर्षसम्म नर्फकने टुरिष्ट कि म टुरिष्ट ?’

२०५६ र २०७४ सालमा पनि पोखरेल यस क्षेत्रबाट निर्वाचित भएका थिए । उनले एमाले सरकारमा रहँदा मन्त्री हुने अवसर पाए । उनको मन्त्रीको भूमिकालाई लिएर यस क्षेत्रका बासिन्दा खुसी छैनन् । टोखा-२ का रवीन्द्र श्रेष्ठ प्रश्न गर्छन्, ‘तपाईं दुईपटकसम्म यस क्षेत्रबाट जितेर गएपछि के काम गर्नुभयो ? अनि अब पनि जिताएर पठाएमा के काम गर्नुहुन्छ ?’ पोखरेलले आफूले मतदाताको शिर झुकाउने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । क्षेत्रमा आयोजित कार्यक्रममा गएको सोमबार बिहान पोखरेलले भने, ‘नालायक भएको र भ्रष्टाचार गरेको भनेर तपाईंहरूको शिर झुक्न दिने छैन ।’

यता, गठबन्धनका उम्मेदवार पौडेल चाहिं पोखरेल भन्दा आक्रामक छन् । उनी भन्छन्, ‘म निष्ठा, इमान र जवाफदेहीको राजनीतिमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आएको छु । अब पनि म तपाईंहरूको विश्वासलाई धोका दिने छैन ।’

प्रमुख दलका यी दुई उम्मेदवारको दौडधुप जारी छ । विभिन्न व्यक्तिसँगको भेटघाट, अन्तरक्रिया, घरदैलोलगायतका चुनावी अभियानले क्षेत्रमा रौनक थपेको छ । दुवै पक्षले क्षेत्रमा विभिन्न भेला गर्ने क्रममा बुद्धिजीवीहरूको पनि भेला गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ निवासी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा भन्छन्, ‘३०/४० वर्षदेखि यस क्षेत्रमा बस्दै आउनुभएकाले उहाँ क्षेत्रमा घुलमिल हुनुभएको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष भएकाले पार्टी बनाउन पनि उहाँले फेरि जित्नुपर्दछ ।’

देवकोटालाई एमालेले वागमती प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।

पोखरेलले नागरिक समाजका अगुवा डा.मथुराप्रसाद श्रेष्ठलाई उनकै निवासमा पुगेर भेटिसकेका छन् । आफू एमाले नभए पनि पोखरेलले जित्नुपर्ने सद्भाव श्रेष्ठले राखेको स्थानीय एमाले नेताहरू बताउँछन् । यसैगरी कांग्रेस उम्मेदवार पौडेल पनि यस क्षेत्रमा प्रभाव राख्ने व्यक्तिहरू भेट्ने गरिरहेका छन् । उनी स्वास्थ्यका कारणले सक्रिय राजनीतिमा नरहेका नरहरि आचार्यलाई आफ्नो मञ्चमा उभ्याउन सफल भएका छन् । आचार्यलाई मञ्चमा उभ्याउन सक्नु पौडेलको ठूलो सफलता र यस क्षेत्रमा यसको विशेष अर्थ रहने विश्लेषण कांगे्रसभित्र हुने गरेको छ ।

आचार्य २०६४ र २०७० मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । ‘काठमाडौं-५ मा युवाहरूको बलियो टीम छ । यो टीमले जिते मात्रै विकासको ढोका खुल्न थाल्छ’, आचार्य भन्छन् । पौडेलले अर्थविद् स्वणिर्म वाग्लेलाई पनि क्षेत्रको कार्यक्रममा निम्त्याएर आफ्नो पक्षमा माहोल सिर्जना गर्ने प्रयास गरेका छन् । वाग्लेले पनि ‘कांग्रेसभित्र गगन, विश्व र प्रदीप आशा लाग्दा युवा’ भनेर पौडेलको प्रशंसा गरेका छन् । पौडेलले यो क्षेत्रमा गठबन्धनलाई बलियो बनाउन खोजेका छन् । आइतबारको घरदैलोमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कल्पना शर्मा कांग्रेस उम्मेदवार पौडेलको पक्षमा मत मागिरहेकी थिइन् । ‘प्रदीप पौडेलले जित्ने गरी हामी लागेका छौं । गठबन्धनका दल ऐक्यबद्ध छौं’, शर्माले जन प्रहारलाई भनिन् ।

गठबन्धनको तर्फबाट प्रत्यक्षतर्फ संघ र प्रदेशमा कांग्रेसका उम्मेदवार छन् । प्रदेशतर्फ -क) मा भैरव सापकोटा र (ख) मा श्यामबहादुर खड्का उम्मेदवार छन् । खड्का क्षेत्रीय सभापति समेत हुन् । गुटगत राजनीति क्षेत्रमा नदेखिएकाले पार्टी संरचनाको बल पूर्ण रूपमा क्रियाशील रहेको खड्काको दाबी छ । टोखा-५ मा आइतबार घरदैलो गर्दा कांग्रेसका कार्यकर्ता उत्साही थिए । स्थानीय संगम मार्गमा बस्ने हरि सापकोटा युवा पुस्ता र परीक्षण नभएको नेता भएकाले कांग्रेस उम्मेदवार पौडेलको पक्षमा आफू रहेको खुलेरै भने ।

यस्तै उत्साह एमाले कार्यकर्ताको सोमबारको घरदैलोमा पनि देखिन्थ्यो । काठमाडौं महानगरपालिका वडा ४ को सुकेधारा क्षेत्रमा सोमबार बिहान घरदैलो गरिएको थियो । सुकेधारा आसपासका बस्तीहरू वृन्दावन कोलोनी, शिवभूमि मार्ग, करिडोर क्षेत्रलगायतमा पोखरेलले घरदैलो गर्दा माहोल उनको पक्षमा देखिन्थ्यो । तर पोखरेल हिंडेपछि कतिपयले ‘अघिल्लो चुनावमा मत दिएकै हो । अहिले नयाँ नयाँ पनि आएका छन्’, भन्ने प्रतिक्रिया दिएका थिए । प्रदेश सभा (क) मा एमालेले केन्ऽीय सदस्य नारायण सिलवाल र प्रदेश सभा -ख) मा दीपक निरौलालाई उम्मेदवार बनाएको छ । एमालेका एक क्षेत्रीय नेताका अनुसार एमालेलाई प्रदेश (क) मा भन्दा -ख) मा कठिन छ । ‘क मा त जित्छौं भन्ने छ । ख मा गाह्रो छ’, उनले भने ।

काठमाडौं-५ मा काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन् । आइतबार पौडेलले घरदैलो गरेको टोखा-५ मा गत स्थानीय तहमा कांग्रेस पराजित भएको थियो । स्थानीय तहको निर्वाचनमा टोखाको मेयर पदमा झिनो मतले पराजित रजनी थापा नतिजा कांग्रेसको पक्षमा आउनेमा ढुक्क छिन् ।

यस बाहेक पौडेलले तनहुँ र गण्डकी कार्ड पनि प्रयोग गर्न खोजेका छन् । तनहुँ गृह जिल्ला भएका पौडेलका स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा जिल्लाबाट बसाइँ सरेर आएका मतदाताले आफूलाई साथ दिनेमा विश्वस्त छन् । ‘हामी चाँडै गण्डकी प्रदेशबाट आएर यस क्षेत्रमा बसेकाहरूको भेला गरिरहेका छौं’ कांग्रेस निकट स्थानीयवासी डा. शिव रेग्मीले बताए ।

स्वतन्त्रबाट रञ्जु दर्शना, श्रीराम गुरुङ, सुशान्त श्रेष्ठ, हेमराज थापालगायतले यहाँ उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रणयशमशेर राणा र राप्रपाबाट रामप्रसाद उप्रेती चुनावी मैदानमा छन् । यस क्षेत्रमा एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई प्रमुख प्रतिस्पर्धी मान्दै गर्दा विस्तारै स्वतन्त्र उम्मेदवारहरूले ‘आफूहरूलाई कम नआँक्न’ चुनौती दिन थालेका छन् ।

स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङको प्रचार शैली थप आक्रामक हुँदै गएको छ । उम्मेदवार गुरुङको प्रचार संयोजक रहेका विकास गुरुङले मतदाताहरू विस्तारै आफ्नो पक्षमा खुल्दै आएको दाबी गरे । कांग्रेसका पूर्व कार्यकर्ता प्रणयशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । उनको चुनाव चिहृन घन्टीले कांग्रेसको र केही मात्रामा एमालेको पनि मत काट्ने विश्लेषण छ । अनि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाको प्रचार अभियान पनि तीव्र बन्दै गएको छ । उनले विगतमा झैं नपत्याउने गरी भोट ल्याउने काम यस पटक पनि गरिन् भने परिणाम कसको पक्षमा जान्छ अहिल्यै केही भन्न सकिन्न ।

  • विगतको अंकगणित

२०५६ र २०७४ सालमा यस क्षेत्रबाट ईश्वर पोखरेल निर्वाचित भएका थिए । दुवै संविधानसभा निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यले जित निकाले । २०७४ सालमा पोखरेलले कांग्रेस नेता प्रकाशशरण महतलाई पराजित गरेका थिए । पोखरेलले २३ हजार २९ मत पाउँदा महतले १३ हजार १६९ मत मात्रै पाएका थिए । स्थानीय तहको मतको आधारमा अहिले पनि एमाले पहिलो शक्ति हो ।

गठबन्धनका अन्य दलको मत जोड्दा समेत एमाले पहिलो बन्छ । स्थानीय तहमा एमालेले १९ हजार २२९ मत पाएको छ । कांग्रेसले १४ हजार ५३२, राप्रपाले २ हजार ७३९, एकीकृत समाजवादीले १ हजार ५५३, माओवादी केन्द्रले  १ हजार १३९ मत पाएका थिए । यस आधारमा हेर्दा आफ्नो मत जोगाउन सक्दा अहिले पनि पोखरेल बलियो अवस्थामा नै देखिन्छन् । तर गठबन्धनको मत हस्तान्तरण र स्वतन्त्र उम्मेदवारले पाउने भोटको अवस्था यकिन नभई परिणाम कसको पक्षमा जान्छ भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४