Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको मत जोगाएर गठबन्धनको तान्ने चुनौतीमा भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २१ २०७९
  • 2.3K
    SHARES

परराष्ट्र मामिलाका विज्ञ मानिने राजन भट्टराई काठमाडौं–४ मा कांग्रेस नेता गगन कुमार थापासँग दोस्रो पटक निर्वाचनमा चुनावी प्रतिस्पर्धामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा थापासँग करिब साढे ३ हजार मत अन्तरले पराजित भएका भट्टराई दोस्रो प्रतिस्पर्धामा जित हासिल गर्ने लक्ष्यमा रहेको बुझिएको छ।

तर २०७४ मा भट्टराईलाई साथ दिएको नेकपा माओवादी केन्द्रले यसपटक गगन कुमार थापालाई साथ दिएको छ । २०४८ यता भएका ६ वटा निर्वाचनमध्ये यो क्षेत्रबाट ३ पटक नेकपा एमाले र ३ पटक नेपाली कांग्रेसले चुनाव जितेका छन् । भट्टराईले आफूले यो क्षेत्रमा गत निर्वाचनमा पराजय भए पनि विकास निर्माणका धेरै योजना ल्याएको र स्थानीय तह निर्वाचनमा पनि पार्टी सुदृढ भएर आएको भन्दै आफूले जित्ने दावी भट्टराईले गरेका छन् ।

२०२५ असारमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका भट्टराईले अंग्रेजी विषय लिएर त्रिचन्द्र कलेजबाट स्नातक र युनिभर्सिटी अफ लण्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । त्यसपछि २०६९ सालमा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि समेत गरेका  । डा.भट्टराईको शोधको शीर्षक ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिंदो सुरक्षा दृष्टिकोण’ थियो । उनको ‘जियोपोलिटिक्स अफ नेपाल एण्ड इन्टरनेशनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफर्मेशन’ शीर्षकको पुस्तक प्रकाशित छ ।

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माविमा पढ्दा २०३७÷३८ ताका उनी अनेरास्ववियुमा संगठित भएका थिए । पद्मोदयमा प्राक अध्यक्ष बनेका उनी २०४० मा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटी सचिव र २०४१ मा काठमाडौं जिल्ला कमिटी सदस्य चुनिए । २०४३ मा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव, २०४४ मा जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक र नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य बनेका भट्टराई २०४६ मा केन्द्रीय सचिव निर्वाचित भए ।

त्यसपछि २०४८/४९ मा अनेरास्ववियुको विदेश विभाग प्रमुख र २०४९ सालमा ‘एसियन स्टुडेन्ट एशोसिएसन’ (आसा) को सह–महासचिव चुनिएका भट्टराई २०५३–५८ को अवधिमा नेकपा (एमाले)को विदेश विभाग सचिव र २०५४–५८ सालमा उपत्यका समन्वय कमिटी सदस्य भए ।

२०६०–६२ मा पनि उनी एमालेको विदेश विभाग सचिव रहे । २०६४ देखि सोही विभागको सदस्य र २०६९ देखि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रहेका भट्टराई पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । विद्यार्थी राजनीति गर्दा उनी २०४०–४६ सालका बीचमा १२ पटक पक्राउ परे । २०४२ सालमा ८ महिना र २०४४ मा ४ महिना जेल सजाय भोगे ।

पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको परराष्ट्र सल्लाहकारको भूमिका पाएका डा. भट्टराई यसबीचमा नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)का सदस्य पनि रहे । त्यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकार रहेका भट्टराई दोस्रो संविधानसभामा समानुपातिक सभासद भए ।

२०७४ मा थापाले २१ हजार ५५१ र भट्टराईले १८ हजार १४० मत पाएको यो क्षेत्रमा गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षहरूले पाएको दलगत मतमा एमालेको सुधार देखिएको छ ।

३० वैशाखमा भएको चुनावमा एमालेले १६ हजार ९८१, कांग्रेसले १६ हजार ८४, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ६८८, राप्रपाले २ हजार ३७६, स्वतन्त्र उम्मेदवारले १ हजार ५६४, नेकपा (माओवादी केन्द्र)ले ८७३ र जनता समाजवादी पार्टी (जसपा) ले ३१७ मत पाए । यो आँकडाले थापालाई एमालेका भट्टराईभन्दा अगाडि देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष प्रधान चौधरीले थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डा. ठाकुर मोहन श्रेष्ठ उठेका छन् । पुनर्जागरण पार्टीका अध्यक्ष श्याम गौतम पनि मैनबत्ती चुनाव चिह्न देखाउँदै चुनाव प्रचारमा जुटेका छन् । यो चुनावी परिदृश्यले डा. भट्टराईलाई एमालेको मत एकमुष्ट जोगाउँदै गठबन्धन दलहरूको मत उल्लेख्य रूपमा तान्न सक्दा मात्र थापालाई रोक्न सक्ने अवस्थामा रहेको देखाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४