Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङ ३ : दीपक र कोमलको चुनौती आफ्नैभित्रको असन्तुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २१ २०७९
  • 4K
    SHARES

दाङ– ३ मा राजनीतिका पुराना खेलाडी दीपक गिरी र पहिलो चुनावी प्रतिस्पर्धाको अनुभव लिइरहेकी कोमल वली दुवैलाई आ–आफ्नो संगठनभित्रको असन्तुष्टिका बीच जित निकाल्ने चुनौती छ ।

दाङ । कोमल वली २०७४ कै प्रतिनिधिसभा निर्वाचनमा टिकटको दाबेदार थिइन् । आन्तरिक किचलोका कारण एमालेले उनलाई टिकट दिन सकेन । त्यसप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराइन् । यद्यपि शीर्ष नेताहरुको आग्रहमा उनले फिर्ता लिइन् । त्यसपछि एमालेले उनलाई राष्ट्रिय सभा सदस्य बनायो । त्यसको पनि विरोध भयो । कोमल वलीको विरोध हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै टेबुल र लोटाको कथा हालेर स्पष्टीकरण दिनुपरेको थियो ।

राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएलगत्तैदेखि उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनको आन्तरिक तयारी थालिन् । एमालेले पनि दाङ क्षेत्र नम्बर ३ मा उनैलाई टिकट दिएर सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीविरुद्ध मैदान उतारेको छ । तैपनि एमालेभित्रको एक तप्का वलीलाई बढ्ता नै राजनीतिक ‘स्पेस’ दिइएको भन्दै असन्तुष्ट छ ।

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे र कोमल वली सिफारिस भएका थिए । तर टिकट वलीले पाइन् । एमालेले पाण्डेलाई प्रदेश सभातर्फ ३ ‘क’ मा र एमाले दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई प्रदेशसभा ३ ‘ख’ मा उम्मेदवार बनायो । राप्रपा छाडेर २०७४ सालमा एमाले प्रवेश गरेकी कोमल वलीलाई राष्ट्रिय सभा सदस्यदेखि प्रतिनिधि सभा सदस्यको उम्मेदवारसम्म स्थान दिइएको भन्दै एमालेभित्र असन्तुष्टि छ ।

यद्यपि एमालेका महासचिव शंकर पोखरेलले सार्वजनिक कार्यक्रमहरुमा टिकटका विषयमा कुनै विवाद नभएको स्पष्टीकरण दिने गरेका छन् । तर एमाले दाङका एक नेताले भने, ‘दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा निर्वाचनमा वलीलाई र दाङ क्षेत्र नम्बर २ को प्रदेश सभामा बलिभद्र रानालाई टिकट दिइएकोमा एमालेमा असन्तुष्टि छ, असन्तुष्ट समूह चुनाव प्रचारमा कोमल वलीसँगै हिंडेको देखिएको पनि छैन ।

कोमल र बलिभद्र दुवै राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए । बलिभद्र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा घोराहीका मेयरसमेत बनेका थिए । सत्ता गठबन्धन एमालेभित्रको असन्तुष्टिभित्र खेल्ने कोशिसमा छ भने एमालेलाई त्यो असन्तुष्टि मेटाउँदै जित निकाल्नुपर्ने चुनौती छ । सञ्चारकर्मी र सांगीतिक दुनियामा राम्रो पहिचान बनाएकी कोमल वलीको छविले निर्वाचनमा सकारात्मक परिणाम निस्कने आकलन एमाले नेताहरुको छ । एमालेका स्थानीय नेता माधव वली दाङमा एमालेको जनमत विगतभन्दा बढेको दाबी गर्छन् ।

  • सत्ता गठबन्धनमा पनि छैन एकता

दाङ निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि १६ जना चुनावी मैदानमा छन् । जसमा ६ जना स्वतन्त्र र १० जना दलका उम्मेदवार छन् । सत्ता गठबन्धनको तर्फबाट पूर्वमन्त्री भइसकेका कांग्रेस नेता दीपक गिरी प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । प्रदेशसभा तर्फ ३ ‘क’ मा नेपाली कांग्रेसबाटै लुम्बिनी प्रदेशमन्त्री डिल्लीबहादुर चौधरी र ३ ‘ख’ मा माओवादी केन्द्रबाट पूर्वडिभिजन कमाण्डर धनबहादुर मास्की (राजेश) उम्मेदवार छन् । सत्ता गठबन्धनले गरेको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै कांग्रेसका पुराना नेता हेमन्तबहादुर मल्ल स्वतन्त्र उम्मेदवार बनेका छन् । क्रस खुकुरी चुनाव चिह्न पाएका मल्ल कांग्रेस महामन्त्री गगन थापाका समकालीन हुन् । उनले कांग्रेसको केही मत काट्ने स्थानीय कांग्रेस नेताहरु बताउँछन् ।

अर्कोतर्फ दीपक गिरी परिवारभित्र पनि पारिवारिक बेमेलको इतिहास छ । गेहेन्द्र गिरी र दीपक गिरी दाजु–भाइ (एउटै बाजेका नाती) हुन् । विगतमा गेहेन्द्र खुमबहादुर खड्का निकट र दीपक बलदेव शर्मा मजगैयाँ निकट थिए । उनीहरुले आ–आफ्ना गुट चलाएका थिए । खुमबहादुरको बलमा गेहेन्द्रले २०५६ सालमै टिकट पाएर सांसद चुनिए । बलदेव मजगैयाँ राष्ट्रिय राजनीतिमा ओझेलमा पर्दै जाँदा दीपक भने २०७० सालमा बल्ल सांसद चुनिएका थिए  ।  शशांक कोइराला खेमातिर लागेर प्रचण्ड नेतृत्वको सरकारमा सिंचाइ मन्त्रीसमेत बनेका थिए ।

‘दीपक गिरीका लागि २०५१ र २०६४ को निर्वाचन अनुकुल नहुनुमा एउटा महत्वपूर्ण कारण दाजु (गेहेन्द्र गिरी)सँगको बेमेल थियो’, नेपाली कांग्रेस दाङका एक नेता भन्छन् । दीपक गिरी परिवारका एक सदस्य भने अहिले गेहेन्द्र र दीपकबीचको विवाद मिलिसकेको जिकिर गर्छन् । अहिलेको चुनावी रिपोर्टिङको क्रममा आफूलाई भेट्न गएका केही पत्रकारहरुसँग कोमल वलीले भनेकी थिइन्, ‘कांग्रेस खर्लप्पै मिलिसके, मलाई त चुनौती थपियो ।’ वलीको यो अभिव्यक्तिबाट पनि गिरी दाजुभाइबीच अहिले मिल्ती छ भन्ने संकेत गर्दछ ।

  • विगतको चुनाव

दाङ जिल्लामा ०४८, ०५१, ०५६, ०६४ र ०७० सालका चुनावलाई हेर्दा ०६४ सालमा बाहेक सबैमा कांग्रेसले आफ्नो वर्चश्व कायम राखेको थियो । २०६४ को पहिलो संविधानसभा चुनाव दाङका पाँचवटै निर्वाचन क्षेत्र माओवादीले जितेको थियो । ०७० को दोस्रो संविधानसभा चुनावमा ‘कमब्याक’ गर्दै कांग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाएको थियो ।

२०७४ पछि दाङमा तीन निर्वाचन क्षेत्र कायम भयो । एमाले र माओवादी केन्द्र मिलेर कांग्रेसविरुद्ध चुनाव लडे । २०७४ को चुनावमा दाङ क्षेत्र नम्बर १ मा तत्कालीन एमालेका मेटमणि चौधरी (हाल एकीकृत समाजवादीमा), २ मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र क्षेत्र नम्बर ३ मा तत्कालीन एमालेका हिराचन्द्र केसी (हाल एकीकृत समाजवादीमा) विजयी भएका थिए । हिरासँग दीपक पराजित भएका थिए ।

२०७४ र २०७९ का दुवै स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ को सबैभन्दा धेरै मतदाता भएको तुलसीपुर उपमहानगरपालिकाको मेयर एमालेले जित्यो । दीपकले प्रतिनिधि सभा निर्वाचनको टिकट आफ्नो पक्षमा पारेर दाजु गेहेन्द्रलाई तुलसीपुर उपमहानगरपालिकाको मेयरको टिकट दिएका थिए । तर गेहेन्द्र स्थानीय तह निर्वाचनमा पराजित भए ।

मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका घटक कांग्रेसका दीपक गिरीले माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएका छन् । कोमल वली भने गिरीविरुद्ध एक्लै प्रतिस्पर्धामा छिन् । त्यसैले यसपटकको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने अनुमान छ । कांग्रेसका ‘हेभिवेट’ उम्मेदवार दीपक गिरीविरुद्ध जित निकाल्ने अवसर उनलाई छ ।

  • अंक गणित

दाङ निर्वाचन क्षेत्र नम्बर–३ मा ४ वटा स्थानीय तह छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा र अरु तीन पालिका (बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका) मा कांग्रेसले एकल जित निकालेको थियो ।

दाङ क्षेत्र नम्बर ३ मा वडा अध्यक्षहरुले पाएको मत हेर्दा एमाले पहिलो दल हो । एमालेको ३८ हजार ६५८ मत छ । दोस्रो स्थानको कांग्रेसको मत ३० हजार ९८९ मत छ । १२ हजार ८८० मत माओवादी केन्द्रको छ । यो तथ्यांक हेर्दा सत्ता गठबन्धनभन्दा एमाले पछि देखिन्छ । स्थानीय तह निर्वाचनको मत जोगाउन सकेमा कांग्रेसका दीपक गिरीसहित सत्ता गठबन्धनका उम्मेदवारहरु सुरक्षित देखिन्छन् । तर गठबन्धनका दलहरुबीच इमान्दारिता नभएमा भने गिरीलाई अफ्ठयारो पर्ने देखिन्छ ।

एमालेका नेताहरू तुलसीपुरमा यसअघि जित निकालिसकेको र बबई, दंगीशरण गाउँपालिकामा आफ्नो प्रभाव बढेको आँकलन गर्दै निर्वाचन जित्ने दाबी गर्छन् । एमालेका नेता माधव वली भन्छन्, ‘सांगठनिक रुपमा हामी बलियो हुँदै गएका छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४