काठमाडौं । सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको आरोप छ ।
यही कात्तिक ४ गते सुवेदीको नेतृत्वको टोली चढेको सशस्त्रको ट्रक बाणगंगा नगरपालिकाको सिउटीमा दुर्घटना भएको थियो । जसमा तीन जना सशस्त्र र एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने सुवेदीसहित तीन जना घाइते भएका थिए । कृष्णबहादुर मगरमाथि भने गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सहायक निरीक्षक सत्य नारायण यादवको घटनाको प्रारम्भि छानबिनमा विभागीय नीति तथा आदेश विपरीत काम गरेको आरोप छ ।
- सशस्त्रको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ जना गम्भीर
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् । चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले जानकारी दिए ।
घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको छ ।