Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीभित्र भण्डारीदेखि भट्टराईसम्म व्यवस्थापन गरेका रामचन्द्र पौडललाई तनहुँ १ मा एमालेका रानाकोभन्दा जोशीकै चिन्ता बढी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १५ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला तनहुँको क्षेत्र न.१ मा अन्तिम पटक भन्दै गाउँ गाउँ पुगेर मत मागिरहेका छन् । आसन्न मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा उनलाई विपक्ष दल एमालेका उम्मेदवार एकबहादुर रानाभन्दा कांग्रेसको कारवाहीमा परेका पुराना नेता गोविन्दराज जोशी चुनौतीका रुपमा देखिएका छन् । तनहुँ–१ बाट अघिल्लो पटक चुनाव हारेको कांग्रेसका नेता पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि यो पटक टिकट लिएर उम्मेदवार बन्न त्यति सहज थिएन । पार्टीमा दोस्रो तहका नेता भएपनि उनलाई रोक्न युवा पस्ताका नेताहरु कम्बर कसेर लागेका थिए । तनहुँबाटै यसअघि ५ वटा चुनाव जितेका पौडेलको यो सातौं पटकको प्रतिस्पर्धामा हो ।

२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमाले एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले ६ हजार ८०२ मत अन्तरले पराजित गरेका थिए । यसपटक एकीकृत समाजवादीमा रहेका नेता श्रेष्ठले नै पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा–४ मा गए । तनहुँ–१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ–२ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं–५ मा पठाएर पौडेलले पार्टीभित्र आफ्नो टिकटका लागि सहज वातावरण बनाएका थिए ।

यसै क्रममा समानुपातिक पद्धतिको उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएर तनहुँ–१ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईको मनोनयन रोक्न पनि पौडेल सफल भए । तर,गोविन्दराज जोशीलाई उनले रोक्न सकेनन् । उम्मेदवारी दर्ताअघि यी केही चुनौती पन्छाए पनि पौडेलविरुद्ध पूर्वसहमहामन्त्री समेत रहेका गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एउटै पार्टीमा रहँदा पनि जोशी जहिल्यै पनि पौडेलको प्रतिस्पर्धी थिए । जोशी गठबन्धनको राजनीतिलाई अप्रजातान्त्रिक भन्दै यसले व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने बताउँदै भोट मागिरहेका छन् । पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लागेको बताउँदै भ्रष्टाचार विकृति, विसंगतिलाई हटाएर आमनागरिकमा आशाको सञ्चार गर्न चाहेको दाबी गरेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका नेता एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेललाई सत्तारुढ गठबन्धनको समर्थन छ । साथै यो क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन् । स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ को निर्वाचनमा पराजित भएका पौडेल यो पटक चुनाव जित्ने दाउमा छन् । न्याय, निष्ठा, लोकतन्त्र रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलको भनाइ छ । वरिष्ठ नेता पौडेललाई ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालको भनाइ छ । यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा एमालेका रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मंगोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा, नेकपा एकीकृत समाजवादीका विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा एमालेका पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मंगोेल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । तनहुँ क्षेत्र नं १ अन्तर्गत पाँच वटा पालिका पर्दछ । व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका यो क्षेत्रमा पर्छन् । यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा एमालेले बन्दीपुर तथा नेकपा माओवादी केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ । क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता  रहेका छन् ।

जे होस जोशीले स्वतन्त्र उम्मेदवारी दिए पनि तनहुँ–१ मा पौडेलको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर नै हुन् । भानु नगरपालिकामा जन्मेका र व्यास २ स्थायी बसोबास गर्दै आएका राना मगरले तनहुँमा एमालेको संगठन कमजोर रहँदा पनि संघर्ष गरेका थिए । एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेका राना मगर यसअघिका चुनावमा गोविन्दराज जोशीसँगै पराजित भएका थिए । यसपाली जोशीले कांग्रेसको भोट काटेकै कारण राना मगरले चुनाव जित्नेमा एमालेका जिल्ला नेताहरु बताउँछन् । बागीले भोट काट्ने खतरालाई बुझेर नै नेपाली कांग्रेसका जिल्ला नेताहरु यतिबेला जोशी विरुद्ध लागेका छन् । जोशीको एक्लो उम्मेदवारीले पौडेललाई कुनै असर नगर्ने कांग्रेस तनहुँ जिल्ला सचिव खनाल बताउँछन् । ‘जोशी सरको साथ पौडेलले कहिल्यै पाउनु भएन,’ उनले भने, ‘असन्तुष्ट साथीहरुको सधैं असहयोग नै थियो, त्यसैले यसपाली उहाँ उठ्दैमा डराउनु पर्दैन ।

२०७४ को चुनावमा जोशीले बागी उम्मेदवारी दर्ता गरेका थिए । तर पौडेलले उजुरी गरेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले एमाले उम्मेदवार श्रेष्ठलाई सहयोग गरे र पौडेललाई हराउन भूमिका खेले । ३० वैशाखको स्थानीय तह निर्वाचनमा तनहुँ–१ मै पर्ने ब्यास नगरपलिकाको मेयरमा जोशीका छोरा दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको थियो । यसपटक आफ्नै उम्मेदवार भएकाले जोशीले एमालेको साथ पाउने सम्भावना कम छ । कांग्रेस नेताहरु जोशी र एमालेका राना मगर उम्मेदवार रहँदा त्रिपक्षीय प्रतिस्पर्धा हुने र बाजी आफूहरुले मार्नेमा ढुक्क छन् । ‘भीडन्त त्रिपक्षीय हुने हो । त्यसमा हामीले बाजी मार्छौँ,’ खनालले भने, ‘किनकि हामीलाई गठबन्धनका साथ छ ।’ गत स्थानीय तह चुनावमा तनहुँ १ का वडाध्यक्षहरुले पाएको मत विश्लेषण गर्दा गठबन्धन अघि छ ।

कुल ७० हजार ८१९ मतमध्ये कांग्रेस एक्लैले ३३ हजार १०६ मत पाएको थियो । नेकपा माओवादी केन्द्रले ८ हजार ४७४ मत र नेकपा एकीकृत समाजवादीले ८९२ मत पाएका थिए । मत संख्याको आधारमा आफूहरु अघि रहेको र यसमा गठबन्धनबाट थपिने १० हजार मतले जोशीले काट्ने मतको भर्ताल हुने कांग्रेस जिल्ला सचिव बताउँछन् । स्थानीय तह चुनावमा एमालले २२ हजार २१० मत पाएको थियो । यतिबेला उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पगिरहेका छन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेका पालिकामा सत्ता गठबन्धन, नेकपा एमाले लगायत दलका उम्मेदवारले घरदैलो अभियानमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४