©नेत्र बहादुर कार्की ।
काठमाडौं । २०७४ को निर्वाचनमा संघीय सांसद निर्वाचित भएपछि यज्ञराज सुनुवारलाई प्रतिद्वन्द्वी रामहरि खतिवडाले अंकमाल गरी बधाई दिएका थिए ।
सुनुवार तत्कालीन वामगठबन्धनका उम्मेदवार थिए । नेता खतिवडा कांग्रेसका प्रत्यासी उम्मेदवार रहेका थिए ।
नेकपा एमालेका सुनुवारसँग त्यतिखेर नेकपा माओवादी केन्द्र साथमा थियो । अहिले त्यही नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसको साथमा रहेको छ । नेता खतिवडा र सुनुवार पुन: मंसिर ४ गते हुन गहिरहेको प्रतिनिधिसभा सदस्यका लागि आमनेसामने भएका छन् ।
त्यसो त २०७० को दोस्रो संविधानसभामा तत्कालीन निर्वाचन क्षेत्र ‘१’ बाट सुनुवार र ‘२’ बाट खतिवडा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा वामगठबन्धनसँग खतिवडा ५ हजार २ सय ५३ मत अन्तरले पराजित भएका हुन । लगातार दुई पटक चुनाव जितिसकेका सुनुवारले चार पटक सांसदको टिकट पाइसकेका छन् । जिल्लामा कांग्रेस र माओवादी गठबन्धन भई चुनावमा होमिएको छ । एमालेले एक्लै उम्मेदवारी दिएको छ । त्यसैले अघिल्लो चुनावभन्दा यो निर्वाचन रोचक हुने अनुमान गरिएको छ ।
‘पहिलो कुरा त नेकपा एमालेको संगठन पहिलेभन्दा बलियो भइसकेको छ । एमालेका उम्मेदवार सुनुवारले भने, ‘दोस्रो भनेको मेरो कार्यकालमा धेरै विकासका काम सुरु भएका छन । त्यसलाई पूरा गर्न पनि मतदाता एमालेलाई जिताउन आतुर रहेका छन् ।’ कांग्रेसका उम्मेदवार खतिवडाले सुनुवारकै जस्तो तर्क गर्दै आफू निर्वाचित हुने बताएका छन । ‘जिल्लामा कांग्रेस त्यसै पनि एमालेभन्दा बलियो पार्टी हो, साथै कांग्रेस ०४८ पछि एकताबद्ध भएर निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘अर्कोतिर नेकपा माओवादी केन्द्र गठबन्धनको रूपमा हाम्रो साथमा भएपछि विजय निश्चित छ ।’ जिल्लाको मुहार फेर्न ठूला विकासका आयोजना भित्र्याउने नेता खतिवडाको मुख्य एजेन्डा छ ।
यी दुवै उमेरले समकालीन हुन् । उनीहरू ५० वर्ष हाराहारीका छन् । सुनुवार विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका हुन् भने खतिवडा ०४८ देखि लगातार कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । खतिवडा १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत हुन् । सुनुवार एमालेमा दोस्रो कार्यकालमा केन्द्रीय सदस्यको रूपमा छन् ।
०१५ को आम निर्वाचनदेखि ०५६ सम्मलाई नियाल्दा ओखलढुंगालाई कांग्रेसको गढ मानिन्थ्यो । ०६४ को संविधानसभामा दुवै निर्वाचन क्षेत्रबाट माओवादी निर्वाचित भएको थियो । यहाँ एमालेको इतिहासमा पहिलोपटक सांसदमा निर्वाचित भई सुनुवारले ०७० मा खाता खोलेका थिए । सुनुवार पार्टी संगठन विस्तारको दृष्टिमा लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् ।
जिल्लामा हाल १ लाख १७ हजार ८ सय ९७ मतदाता छन् । प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । करिब ६० प्रतिशत मतदानको अनुमान गर्दा पनि निर्वाचित हुने उम्मेदवारले ३० हजार हाराहारी भोट ल्याउनुपर्ने देखिन्छ । स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तहमध्ये पाँचवटाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित थिए ।