बेल, दारिम, अशोक, धान, सामा, केरा, हलेदो, उखु र जयन्ती फूलपातीमा समावेश भएको उनले जानकारी दिए ।
गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा फूलपाती काठमाडौं पठाइएको हो ।
नगर प्रमुख रानाले विगतदेखिको परम्परालाई निरन्तरता दिंदै फूलपाती पठाउने प्रचलन कायम राख्नाले इतिहासको समेत जगेर्नासँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए । इतिहास र संस्कृति जर्गेनाका लागि नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौं माथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ । आजै (आइतवार) साँझ बाजागाजा सहित हर्ष बढाइँका साथ गोरखा दरबारमा पनि फूलपाती भित्र्याइन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा नवपत्रिकाको नामले समेत चिनिने फूलपाती भित्राइन्छ । फूलपातीलाई शुभसाइत एवम् नौवटी देवीको प्रतीकको रूपमा लिइन्छ ।
फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।



