Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के दशैँको टीका साइतमै लगाउनु पर्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ८ २०७९
  • 6.6K
    SHARES

काठमाडाैँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हाे ।पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

टीका साइतमै लगाउनु पर्छ ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष अधिकारी भन्छन्- ‘ज्योतिष विज्ञहरूसँगको छलफलपछि उक्त समय तय गरिएको हो। तर त्यही क्षणमा मात्र टीका लगाइनु पर्छ भन्ने होइन। साइत बाहेकको समयमा लगाउनुले पनि फरक पर्दैन ।

साइत किन जुराइन्छ ?

साइत जुराउनुलाई ‘उखुको लाँक्रामा पनि सबैभन्दा गुलियो भाग खोज्नु’सँग तुलना गर्छन् अधिकारी । भन्छन्- ‘विजया दशमी आफैमा शुभ दिन हो । त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो ।’ दशमीको दिन त्यसरी जुराइएको समयमा दुर्गाको प्रसादका रूपमा टीका, जमरा ग्रहण गर्नु ज्यादै राम्रो हुने अधिकारीको धारणा छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ। दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ ।

असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए । असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ। असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ। असोज १८ गते मंगलबार महानवमी पर्व परेको छ ।

असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ। असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।

बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ ।

दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छ न्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४