पोखरा महानगर वडा नं. १ मा पर्ने टुँडिखेलमा दशैंको मौकामा लाग्ने उक्त मेलाको इतिहास १०० वर्षभन्दा अधिक रहेको त्यहाँका स्थानीय बताउँछन् । टुँडिखेलमा दशैं मेला ठ्याक्कै कहिलेदेखि सुरु भएको भन्ने आधिकारिक अभिलेख नभए पनि विद्यालय खुल्नुभन्दा अघिबाटै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद दवाडी बताउँछन् । ‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा अघि पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिंदैन’, उनी भन्छन् ।
वि.सं. २००६ मा स्थापना भएको राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको उक्त मैदानमा बर्सेनि लाग्ने मेलामा उहिले जस्तो भेडा–च्यांग्राको बथान देखिंदैन । न त पुरानो रौनक नै बाँकी छ । विद्यालयका प्रधानाध्यापक कृष्ण उदासीका अनुसार पहिले मेलामा व्यापारी तथा किसान आफैं स्वतस्फूर्त रूपमा भेडा–च्यांग्रा ल्याउने गर्दथे । तरपछि ५० को दशकबाट विद्यालयले ठेक्का प्रक्रियाबाट बिक्री–वितरण गर्न थालेपछि च्यांग्रा व्यापारी निरुत्साहित हुँदै गएका हुन् । पहिले धेरै त यहाँकै स्थानीयले भेडा–च्यांग्रा लिएर बिक्री–वितरण गर्थे । अन्यत्र पाइँदैनथ्यो । च्यांग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचीन हाटबजार थियो’ प्रधानाध्यापक उदासी भन्छन्, ‘पछि टेन्डर हुन थालेपछि विकृति भित्रियो । काटमार हुन थाल्यो । मेलाको मौलिकता नै हरायो ।’
उदासीका अनुसार तत्कालीन समयमा विद्यालयमा विद्यार्थी थोरै र आम्दानीको स्रोतका लागि पनि भेडा–च्यांग्रा बिक्री–वितरणका लागि ठेक्का लगाउनु परेको थियो । ‘त्यतिबेला नै एउटा गोठको ३० हजार रुपैयाँसम्म असुलिएको रहेछ । त्यसले व्यवसायीलाई झनै निरुत्साहित बनाइदियो अनि यहाँबाट विस्थापित हुनथाले’, उनी भन्छन् । पहिले स्वतस्फूर्त खुला रूपमा मेला लाग्ने गरे पनि २०७५ सालदेखि विद्यालयले जिम्मा लिएको छ । उदासी भन्छन्, ‘स्वतस्फूर्त हुँदा अव्यवस्थित पनि भयो । मेलाको मौलिकता र इतिहास पनि विस्तारै हराउन थाल्यो । त्यसलाई फेरि फर्काउन र व्यवस्थित गर्न पनि स्कुलले नै जिम्मा लिएको हो ।
टुँडिखेल छाडेर हेम्जा फाँट उक्लिन थालेका भेडा–च्यांग्राको रौनक फेरि फर्काउने लक्ष्यसहित विद्यालय व्यवस्थापन समितिले दशैंको छेकोमा यसपल्ट पनि मेला आयोजना गर्दैछ । मेलामा भेडा–च्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिंदैछ । विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम अधिकारीका अनुसार अहिले कम्तीमा १० वटा गोठ निर्माण हुनेछ । ‘आवश्यकता अनुसार गोठ थपघट हुन पनि सक्छ’, उनले भने । टुँडिखेलबाट दशैंका लागि आएका भेडा–च्यांग्रा विस्थापन हुनुको अर्को कारण चरन क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ ।
‘वरिपरिका सबै चरन क्षेत्र घडेरीले प्याक भइसके । चरन क्षेत्र नै नभएपछि भेडा–च्यांग्रा ल्याउने क्रम पनि विस्तारै टुट्न थालेको हो’, उनले भने । अहिले पोखराकै वडा नं. २५ हेम्जामा भेडा–च्यांग्रा राखिने गरिन्छ । विद्यालयका अनुसार दशैंको फूलपातीदेखि लाग्ने दशैं मेलामा भेडा–च्यांग्राको गोठ व्यवस्थापनका लागि व्यापारीसँग निश्चित रकम लिए पनि हस्तकलाका लागि भने शुल्क लिइने छैन ।
‘हराउँदै गएका हस्तकला आजको पुस्तालाई देखाउन पनि जरूरी छ । आफैंले उत्पादन गरेका हस्तकला बिक्री–वितरण गर्न कुनै शुल्क लिइने छैन’ प्रधानाध्यापक कृष्ण उदासीले भने, ‘तर व्यापारिक ध्येयले नै खरिद–बिक्री गर्ने व्यवसायीका लागि भने शुल्क लाग्नेछ ।

