स्वास्थ्य मन्त्रालय भन्छ : केही दिनभित्रमा शुल्क निर्धारण गर्छौं
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर निजी प्रयोगशालाले परीक्षण शुल्क २५०० सम्म लिनु गलत भएको बताउँछन् । परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्क तोक्न र अनुगमनका लागि गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको उनले बताएका छन् ।
स्वास्थ्यमन्त्री भवानी खापुङले भोलि सोमबारसम्ममा अनुगमन गरेर रिपोर्ट पेश गर्न निर्देशन दिएको र त्यसपछि परीक्षण शुल्क निर्धारण हुने प्रवक्ता डा. ठाकुरले बताएका हुन् ।
कोरोना महामारीमा प्रयोगशालाहरूले अधिक शुल्क लिएका थिए । सरकारले शुल्क निर्धारण गरेपछि परीक्षण सहज बनेको थियो ।
तीन जना कोरोना र डेंगु दुवैबाट संक्रमित
दुई महिनामा डेंगुबाट २० जनाको मृत्यु भइसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । मृत्यु हुनेमा १४ वर्ष मुनिका ७ जना छन् । त्यस्तै, २० देखि ४० वर्षसम्मका १० जना र बाँकी ४० वर्षमाथिका छन् । मृत्यु हुनेमध्ये सबभन्दा धेरै काठमाडौं उपत्यकाका छन् ।
ईडीसीडीका अनुसार, मृत्यु हुनेमध्ये तीन जना डेंगु र कोभिड-१९ दुवैबाट संक्रमित थिए । अहिले देशभर डेंगु संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । आइतबारसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । ललितपुरमा ४ हजार ६०४ र काठमाडौंमा ४ हजार ४५४ जनालाई डेंगु संक्रमण भएको छ ।
काठमाडौंपछि मकवानपुरमा १ हजार ५९७, दाङमा ९९४, भक्तपुरमा ७१३, रूपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ र काभ्रेमा १५२ जनामा डेंगु संक्रमण भएको छ । ईडीसीडीका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
प्रदेशगत डेंगु संक्रमित संख्या
| प्रदेश | संक्रमित संख्या |
| प्रदेश-१ | ५०४ |
| मधेश प्रदेश | २४२ |
| वागमती प्रदेश | १२,४०१ |
| गण्डकी प्रदेश | ३२२ |
| लुम्बिनी प्रदेश | २,४२२ |
| कर्णाली प्रदेश | २०३ |
| सुदूरपश्चिम प्रदेश | ४९३ |
‘अझै एक महिना प्रकोप रहन्छ’
यो वर्ष असोज अन्तिमसम्मै डेंगु संक्रमण बढ्ने विज्ञहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार, काठमाडौं उपत्यकामा पहिल्यैदेखि रहेको डेंगु फैलाउने लामखुट्टे पछिल्ला वर्षहरूमा शहरीकरणसँगै झन् फैलिएको छ ।

‘लामखुट्टेका लागि शहरी वातावरण धेरै अनुकूल भयो । विशेषतः उष्ण क्षेत्रमा डेंगु फैलाउने लामखुट्टे वर्षैभरि हुर्किने गर्छ । अन्य क्षेत्रमा मनसुन पछि बढी हुर्किन्छ’ डा. बाँस्तोला भन्छन्, ‘पानी जमेर रहेको वा सफा पानीमा अण्डा पार्छ । यस्तो व्यवस्थाको सिर्जना मानिसले नै गरेका छन् ।
सरकारले सुरु गरेको लामुखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी हुनसकेको छैन । विज्ञहरू हप्ताको एक दिन, एक घन्टा छुट्याएर लार्भा नष्ट नहुने बताउँछन् ।
‘लामखुट्टेको टोकाइबाट बचेर मात्र हुँदैन, डेंगुसहित अन्य रोगहरू सार्ने लार्भा हुर्कने स्थान नष्ट गर्नुपर्छ’ डा. बाँस्तोला भन्छन्, ‘चिसो बढ्न थाल्यो भनेर हेलचेक्राईं गर्दा भयावह रूप लिन सक्छ ।
परीक्षण शुल्क
| अस्पताल | डेंगु परीक्षण शुल्क |
| वीर | ५०० |
| राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला | ८०० |
| शुक्रराज ट्रपिकल तथा सरुवा रोग | ५०० |
| त्रिवि शिक्षण | १००० |
| सुमेरू | २४२५ |
| ग्राण्डी | २६२० |
| स्टार | १८०० |
| नर्भिक | १२०० |
| भेनस | १२०० |
| हृयाम्स | १७६० |
| निजामती | ८०० |

