Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 7.3K
    SHARES

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ । एमालेले सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ, जसमा पदाधिकारीहरु छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ ।

बादल मन्त्रीबाट हट्नु परेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाएको थियो । २७ वैशाखमा सञ्चारमन्त्री भएकी उनी सर्वोच्च अदालतको आदेशका कारण दुई सातामै पदबाट हट्नु परेको थियो । यो पटक समानुपातिक उम्मेदवार छनोटमा एमालेले यसअघि अवसर पाएका र पछिल्ला चुनावमा उम्मेदवार बनेकाहरुलाई  समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएको छ । यो मापदण्डले राष्ट्रियसभा उपचुनाव हारेका बादल स्वतः सूचीबाट बाहिरिएका छन् ।

तर एमालेले उनीकी पत्नी नैनकलालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ । उमा कोइराला, शान्ति खनाल, सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी लगायत पनि एमालेको बन्दसूचीमा अटाएका छन् ।

एमालेमा बादल : लगातार ओरालो

एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । ‘निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन’, उच्च स्रोतले भन्यो । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा कोही पनि पदाधिकारी परेका छैनन् ।

एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । ‘निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन’, उच्च स्रोतले भन्यो ।

समानुपातिकतर्फको नाम तय गर्न आइतबार सचिवालय बैठक बसेको थियो । बैठकले अन्तिम सूची तयार पार्ने अधिकार भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर सूची तयार पार्दा पार्टी बैठकबाट तय भएको मापदण्ड मिच्न नहुनेमा विमति नभएको र एकमतले निर्णय भएको एक पदाधिकारी बताउँछन् । ‘मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने नै निष्कर्ष हो’, एक पदाधिकारी भन्छन् ।

एमालेले तयार पारेको मापदण्डकै कारण चार जना पदाधिकारीको सांसद बन्ने बाटो नै बन्द हुनेछ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै एमालेको समानुपातिकतर्फ बसिसकेका छन् । त्यसैले दोहोरिन नपाएका हुन् ।

रामबहादुर थापाले भने गएको वर्ष राष्ट्रियसभा सदस्यमा उम्मेदवार भएकाले एमालेको मापदण्ड अनुसार, उनी समानुपातिकतर्फ बस्न नपाउने भएका हुन् । यदि यस्तो अवस्था आएमा भने एमालेतिर लागेकै कारण थापाले राजनीतिक नोक्सानी बेहोरेको अर्को घटना हुनेछ । राजनीतिक उतारचढाबकै कारण बादलले राम्रै राजकीय अवसर पाएका थिए । तर त्यही अवसरको (गृहमन्त्री) पछि लाग्दा बादल अहिले लगातार राजनीतिक क्षति बेहोरिरहेका छन् ।

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनको निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै थापा एमालेतिर लागेका हुन् । तर एमालेतिर लागेकै कारण उनले लगातार संसदीय र राजनीतिक क्षति बेहोरिरहेका छन् ।

निरन्तर नोक्सानी

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका क्रममा ओलीलाई साथ दिएपछि बादलले चार दशक पुराना साथीहरू गुमाएका थिए । सर्वोच्च अदालतले माग दावी नै नभएको फैसला गरी नेकपा माओवादी केन्द्र पुनर्स्थापना गरेपछि बादललाई लगातार साथ दिँदै आएका नेताहरु पुष्पकमल दाहाल प्रचण्डतिर लागे ।

पार्टी विभाजनमा समेत साथ दिएका देव गुरुङ अहिले माओवादी केन्द्रकै महासचिव छन् । पम्फा भुसाल उर्जा मन्त्री छिन्, जसले सरकारमा पार्टीको नेतृत्व समेत गर्छिन् । गुरुङ, भुसाल लगायत ठूलो संख्याका नेताहरु मात्रै नभएर बादललाई उनकै सचिवालयका सदस्यहरुले समेत छोडे । सचिवालयमा रहेका सूर्य सुवेदी, वीर तामाङ लगायत बादललाई छोडेर माओवादी केन्द्रमै बसे । अहिले कुराकानी पनि नभएको धेरै भयो, चासो लिइरहने कुरा पनि भएन’, तामाङ भन्छन् । एक नेताका अनुसार, ३५ केन्द्रीय सदस्यले त्यसबेला बादलको साथ छोडेर माओवादी केन्द्र नै रोजेका थिए । तर बादल भने केही नेताहरु लिएर एमालेतिर लागे ।

एमाले रोजेपछि बादलले पूर्वसहयोद्धा र पार्टी (माओवादी) सँगै, राष्ट्रियसभा सदस्य र गृहमन्त्री पद गुमाए । अदालतको फैसलाकै कारण वैधानिक रुपमा माओवादी केन्द्रका नेता बन्न पुगेका बादललाई प्रचण्डले पार्टीमा फर्कन निर्देशन दिएका थिए । तर त्यो निर्णय नमानेपछि बादललाई माओवादी केन्द्रले पार्टी सदस्य र राष्ट्रियसभा सदस्यबाट कारवाही गर्‍यो । उक्त निर्णयपछि राष्ट्रियसभा सदस्य पद गुमाए । जबकि १४ माघ २०७४ मा माओवादी केन्द्रको उम्मेदवार बनेर बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य जितेका थिए । त्यसबेला ५९ सदस्यीय राष्ट्रिय सदस्य निर्वाचित (३ मनोनित सहित) मध्ये २, ४ र ६ वर्षे कार्यकालको चिट्टा तान्दा बादलले ६ वर्षको अवसर पाएका थिए ।

राष्ट्रियसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै माओवादी केन्द्रले १५ फागुन २०७४ मा बादललाई गृहमन्त्रीसहित पार्टीको नेतृत्व गर्दै सरकारमा पठायो । जबकि ६ जेठ २०७३ मा मात्रै बादल माओवादीमा फर्किएका थिए । २०६९ मा मोहन वैद्य, सीपी गजुरेल लगाायतलाई साथ दिँदै पार्टी विभाजन गरेका बादललाई माओवादी केन्द्रमा फर्किएको डेढ वर्षभित्रै यो तहको अवसर दिइयो ।

उसो त, २०३७ सालदेखि भूमिगत राजनीति गरेका बादललाई माओवादी सशस्त्र विद्रोहका एक प्रमुख योजनाकार मानिन्छ । त्यसैले माओवादीभित्र उनी प्रभावशाली भूमिकामा रहे, अवसर लिए । २०६४ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री हुँदा डा.बाबुराम भट्टराई अर्थमन्त्री र बादल रक्षामन्त्री थिए । त्यसबेला एमालेका बामदेव गौतम गृहमन्त्री भएकाले प्रचण्ड सरकारमा बादल शक्तिशाली मन्त्रालयकै जिम्मेवारीमा थिए । अझ सशस्त्र विद्रोहबाट माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको त्यो अवस्थामा रक्षा मन्त्रालयको नेतृत्व अर्थपूर्ण थियो । माओवादीले बादललाई त्यही मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

तर संविधान नबन्दै वैद्यसँगै बादल पनि पार्टीबाट अलग भए । संविधान बनेपछि मात्रै माओवादीमा फर्किए । बाबुरामले पनि पार्टी छोडेका बेला माओवादी केन्द्र फर्किएका बादल पार्टीको नेतृत्व गर्दै ओली नेतृत्वको सरकारमा गए । अर्थात् राजनीतिक उतारचढाबकै कारण बादलले राम्रै राजकीय अवसर पाएका थिए । तर त्यही अवसरको (गृहमन्त्री) पछि लाग्दा बादल अहिले लगातार राजनीतिक क्षति बेहोरिरहेका छन् । एमालेतिर लागेपछि माओवादी केन्द्रको कारबाहीमा परी राष्ट्रियसभा सदस्य गुमाएकै कारण ६ जेठ २०७८ मा गृहमन्त्रीबाट पदमुक्त भए ।

त्यसदिन बादलले दोहोरो क्षति खेप्नु परेको थियो । बादल कारवाहीमा परेकै कारण रिक्त स्थानमा फेरि एमालेलाई उनैलाई उम्मेदवार बनायो । तर उनी खिमलाल देवकोटासँग पराजित भए । कलम चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल निकट (त्यसबेला एमाले विभाजित भइसकेको थिएन) को समर्थन थियो ।

आफैले हुर्काएको पार्टी (माओवादी), राष्ट्रियसभा सदस्य र गृहमन्त्री गुमाएका बादललाई खुशी पार्न ओलीले नैनकला थापालाई सञ्चारमन्त्री नियुक्त गरे । तर दुई हप्ता पनि टिक्न पाएनन् । २७ जेठ २०७८ मा भएको थापाको मन्त्रीको नियुक्ति ८ असारको आदेशबाट बदर भयो । २८ असार २०७८ मा दोस्रोपटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि त ओली नै पदमुक्त भए भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ । त्यसैले कुनै राजकीय अवसर बादलले पाउने कुरै भएन । पार्टी भूमिकामा पनि बादलको प्रभाव छैन । उनी, एमालेमा ६ मध्ये एक उपाध्यक्ष हुन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे जस्ता बलियो पृष्ठभूमि र प्रभाव रहेका नेताहरुको लहरमा बादललाई एमाले पंक्तिले नवप्रवेशीको सहानुभूति मात्रै राख्छ ।

उनी निकट एक नेता भने, लाभको पद मात्रै सबथोक नरहेको बताउँछन् । ‘प्रत्यक्ष तर्फ उहाँलाई समस्या छ, समानुपातिक तर्फ पनि प्राविधिक समस्या देखिएको हो’ ती नेता भन्छन्, ‘राजनीतिमा यसैलाई ठूलो रुपमा लिन हुन्न । बादलकै साथ लागेर एमालेमा लागेका अन्य मुख्य नेताहरु भने प्रत्यक्षतर्फ सिफारिस भएका छन् । कैलाली–४ बाट लेखराज भट्ट, रौटहट–३ बाट प्रभु साह, अर्घाखाँचीबाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी त एकल प्रस्तावित उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४