Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दिपविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गराउने प्रक्रिया सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 6.2K
    SHARES

नोटिस जारी भए लामिछाने १९५ देशको निगरानीमा हुनेछन्

काठमाडौं । नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ ।

नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको हो । यो नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको हो ।

‘अदालतबाट पक्राउ पूर्जी जारी नभएको भए डिफ्यूजनका लागि प्रक्रिया अघि बढाउन सक्थ्यौं,’ उनले भने, ‘तर अदालतबाट पूर्जी जारी भइसकेकाले अनुसन्धानका क्रममा देखिएका थप प्रमाण समेत उल्लेख गरेर रेड नोटिस जारी गराउन कागजात जुटाउन थालेका छौं ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एनसीबी काठमाडौंले केही दिनमै इन्टरपोलको फ्रान्सस्थित हेडक्वार्टरलाई पत्राचार गर्नेछ । ‘यहाँबाट पठाएको पत्रको आधारमा नोटिसबारे इन्टरपोल सचिवालयबाट अन्तिम निर्णय हुनेछ ती अधिकृतले भने ।

लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो राति उनले काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगेर १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।

उनी आफैं मध्य बानेश्वरस्थित होस्टल नजिकै पीडितलाई लिन गएका थिए । खाजा खाने बहानामा भक्तपुरको नगरकोटमाा लगेको र ढिला गरी फर्किएको पीडितको जाहेरीमा उल्लेख छ । काठमाडौं आइपुग्दा राति साढे १० भइसकेको थियो र होस्टल बन्द हुने भन्दै उनलाई होटलमा बस्न लामिछानेले भनेका थिए ।

मध्यराति उनले पटकपटक बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै उनले आफू निर्दोष रहेको र कानूनको सम्मान गर्दै नेपाल आउन लागेको बताएका थिए । तर अहिले उनी सम्पर्कविहीन छन् ।

उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न त्यहीँबाट जमैका गएका थिए । उनीसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको भिसा पनि छ ।

विगतमा चर्चित सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती, सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका बेनु श्रेष्ठ, मोहनकुमार अग्रवाल, चेतनाथ भण्डारी, हरिशरण खड्का लगायतविरुद्ध पनि रेड नोटिस जारी भएको थियो

नोटिस जारी हुँदा के हुन्छ ?

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेशल नोटिस’ गरी ८ किसिमको नोटिस जारी गर्ने गर्छ ।

यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न इन्टरपोलका सदस्य राष्ट्रले फ्रान्सस्थित इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्नुपर्छ । त्यसपछि सचिवालयले त्यसमाथि निर्णय गरेर नोटिस जारी गर्छ ।

इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ । सबै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) ले त्यस प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्छन् ।

नेपाल प्रहरी ११ असोज २०२४ देखि इन्टरपोलको सदस्य छ । पछिल्लो एक वर्षमा मात्रै एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोलले ८ वटा रेड र २ वटा एल्लो नोटिस जारी गरिसकेको छ ।

‘ग्लोबल भिलेजको कारणले संसार नै साँघुरो भएको छ,’ नेपाल प्रहरीका सहप्रवक्ता दानबहादुर कार्की भन्छन्, ‘कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्छ ।

अदालतमा मुद्दा दायर भइ वारेन्ट जारी भएका फरार अभियुक्तहरुको खोजी कार्यका लागि रेड नोटिस जारी गरिन्छ । विगतमा मुद्दा अदालतमा पुग्नुअघि डिफ्यूजन नोटिस जारी गरिन्थ्यो । अहिले पक्राउ पूर्जी नै अदालतबाट जारी हुने भएकाले प्रहरीले रेड नोटिस नै जारी गर्न पत्राचार गरेको हो ।

इन्टरपोलको वेवसाइटमा उल्लेख भएअनुसार अनुसार रेड नोटिस यस्ता फरार प्रतिवादीका लागि जारी हुन्छ, जो अभियोजन अगावै भागेका हुन्छन् वा सजाय तोकिएर पनि समातिएका हुँदैनन् । त्यस्ता व्यक्तिलाई सम्बन्धित राष्ट्रका सुरक्षा निकायले सुरुमा लोकेट गर्छन्, त्यसपछि पक्राउ गरेर डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउँछन् ।

विगतमा चर्चित सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती, सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका बेनु श्रेष्ठ, मोहनकुमार अग्रवाल, चेतनाथ भण्डारी, हरिशरण खड्का लगायतविरुद्ध पनि रेड नोटिस जारी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४