काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने भएको छ । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने जानकारी प्राप्त भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाउने बताएका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची तयार बनाइरहेको छ ।
प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ रहेको छ । नेपाली कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि छलफलमा सहभागी गराइएको छ ।