काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका छन् । काठमाडौं महानगरको प्रमुख प्रशासकिय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्तासमेत रहेका अधिकारीले मन्त्री श्रेष्ठले १० जना सहसचिवहरुको सरुवा गर्दा आफू काठमाडौं महानगरमा सरुवा भएको बताएका छन् । दुई वर्ष मन्त्रालयको प्रवक्ता रहेका अधिकारी महानगरमा बुधबार हाजिर हुने बताएका छन् ।
अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा, बेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठलाई गृह मन्त्रालय, वित्त आयोगका शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्ण कुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश र उक्त स्थानका दीपक कुमार दासलाई वित्त आयोगमा तानिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् । यस्तै सूचना विभागमा महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालयमा सरुवा भएको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।