Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसका यी महिला नेता जो प्रत्यक्ष चुनाव लड्न चाहन्छन्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १५ २०७९
  • 6.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको संख्या अनिवार्य गरिएको छ । १६८ केन्द्रीय सदस्यमा मनोनित समेत गरेर हालसम्म १५८ सदस्यीय केन्द्रीय समिति बनेको छ । थप ३ जना महिला केन्द्रीय सदस्य थपिँदा विधानको व्यवस्था कार्यान्वयन हुनेछ ।

विधानको व्यवस्था बाध्यकारी भएकाले केन्द्रीय समितिमा महिलाको निर्धारित संख्या पुग्ने देखिन्छ । तर, प्रत्यक्ष निर्वाचनतर्फ महिला सांसद एक तिहाइ हुुनुपर्ने व्यवस्था नभएकाले महिला उम्मेदवार ३३ प्रतिशत पुग्ने देखिँदैन ।

कांग्रेसले तल्ला समितिहरुलाई उम्मेदवार सिफारिस गर्दा प्रत्यक्ष तर्फ बढीमा तीन जना नाम पठाउन पार्टीले निर्देशन दिएको छ । तर महिलाको नाम अनिवार्य भनिएको छैन । समानुपातिक पद्धतितर्फ नाम सिफारिस गर्दा समावेशीको आधारमा पठाउन भनिएको छ ।

‘प्रत्यक्षमा एक तिहाइ महिला उम्मेदवार हुनुपर्ने भनी विधानको व्यवस्था नभएपछि प्रत्यक्षमा महिला उम्मेदवारको संख्या थोरै बनाउने भएन नि’, केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन्, ‘समानुपातिकको पनि गरेर संसदमा एक तिहाइ पुर्‍याउलान् नि ।

२०७४ सालको निर्वाचनमा कांग्रेसबाट लीला बोखिम, सीता गुरुङ, किरण यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, अम्बिका बस्नेत, आरजु राणा, सरस्वती बजिमय, सुशीला चौधरी, चम्पादेवी खड्का र ईश्वरी न्यौपाने गरी ११ जना प्रत्यक्ष तर्फका उम्मेदवार थिए । तर उनीहरु सबै पराजित भएका थिए ।

प्रदेश १ मा सुजाता, डिला र सरिता

अघिल्लो पटक प्रत्यक्ष चुनावमा पराजित भएका सबै जना महिला नेता यसपटक पनि दोहोरिएर उम्मेदवार बन्न चाहेका छन् । ताप्लेजुङकी पूर्व जिल्ला सभापति लिला बोखिम पुनः उम्मेदवार हुने इच्छा राखेकी छन् । बोखिम पार्टीमा नेता डा शेखर कोइराला पक्षमा छन् ।

तेह्रथुममा पराजित केन्द्रीय सदस्य सीता गुरुङ पुनः संघीय सांसदको उम्मेदवारको दाबी गरेकी छन् ।

खोटाङबाट सरस्वती बजिमय आकांक्षी छन् । अघिल्लोपटक नेकपा एमालेका नेता विशाल भट्टराईसँग पराजित उनलाई यसपटक तालमेलका कारण टिकट पाउन कठिन छ । सत्तारुढ गठबन्धनमै रहेको एकीकृत समाजवादीले खोटाङमा दाबी गरेको छ । एकीकृत समाजवादीका नेता तथा प्रदेश १ का मन्त्री राजन राई खोटाङबाट प्रतिनिधि सभामा दाबी गरेका छन् ।

यसै प्रदेशमा झापा–२ मा सरिता प्रसाईं र मोरङ–२ मा सुजाता कोइराला, मोरङ–६ मा डिला संग्रौलाको दाबी छ । प्रसाईंले दाबी गरेको क्षेत्रमा सुधीर शिवाकोटी र केशव बुढाथोकीको पनि दाबी छ । शिवाकोटी नेता कृष्णप्रसाद सिटौला र बुढाथोकी संस्थापन पक्षका हुन् । सुजाताले दाबी गरेको क्षेत्रमा २०७४ सालमा कांग्रेसबाट नै डा. मिनेन्द्र रिजाल निर्वाचित भएका थिए । संग्रौला उम्मेदवार हुन इच्छाएको क्षेत्रमा नेता डा शेखर कोइराला नै पहिलो दाबीकर्ता हुनेछन् ।

केन्द्रीय सदस्य लक्ष्मी परियार उदयपुर–१ मा उम्मेदवार हुन चाहन्छिन् । यहाँ परराष्ट्र मन्त्री डा. नारायण खड्काको पहिलो दाबी भएको उनका लागि कठिन छ । खड्का अघिल्लोपटक विजयी भएका थिए ।

मधेसमा पूर्वकोषाध्यक्ष

मधेस प्रदेशमा चित्रलेखा यादव, सीतादेवी यादव, मिनाक्षी झा, मुक्तादेवी यादव, मञ्जु खाँण, किरण यादवलगायत आकांक्षी छन् । चित्रलेखा संसदीय दलको प्रमुख सचेतक छिन् । संस्थापन पक्षबाट उनी केन्द्रीय सदस्य बनेकी छन् ।

चित्रलेखाको जिल्ला सिरहाबाट नै सीतादेवी र मञ्जु खाँण पनि आकांक्षी छन् । सीतादेवी पार्टीको पूर्वकोषाध्यक्ष हुन् । उनले १४ औं महाधिवेशनमा पार्टीको निर्वाचनमा भाग लिइनन् । गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु हाल कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य छिन् ।

केन्द्रीय सदस्य मिनाक्षी झा धनुषाबाट उम्मेदवारको दाबी गरेकी छिन् । मुक्तादेवी यादव पनि धनुषाबाट आकांक्षी छिन् ।

२०७४ को निर्वाचनमा महोत्तरी–२ बाट पराजित किरण यादव पुनः उम्मेदवारमा दोहोरिन खोजेकी छन् । यसै जिल्लाबाट नागिना यादवको नाम पनि उम्मेदवारको चर्चामा छ ।

बागमतीमा केन्द्रीय सदस्य नै उल्लेख्य

बागमती प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र केन्द्रीय सदस्यहरु अम्बिका बस्नेत, प्रतिमा गौतम, नानु बाँस्तोला, धना खतिवडा, सुशीला थिङ, अञ्जली श्रेष्ठले उम्मेदवारको दाबी गरेका छन् ।

मकवानपुर–२ बाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवारको दाबीमा पहिलो पङ्तिमा छिन् । अघिल्लोपटक एमालेबाट निर्वाचित विरोध खतिवडा हाल एकीकृत समाजवादीमा छन् । उक्त दलले मकवानपुर– २ दाबी गरेकाले डिनालाई टिकट प्राप्त गर्न सहज भने छैन ।

काठमाडौं–३ मा अम्बिका बस्नेत, काठमाडौं–२ बाट प्रतिमा गौतम, काठमाडौं–९ बाट नानु बाँस्तोला, ललितपुर–२ बाट धना खतिवडा, सिन्धुली–२ बाट सुशीला थिङ, चितवन–३ मा अञ्जली श्रेष्ठको दाबी छ । बस्नेत अघिल्लोपटक पराजित हुन् । गौतम २०७४ सालमा तत्कालीन समयमा एमालेका उम्मेदवार माधवकुमार नेपालसँग पराजित भएकी थिइन् । बाँस्तोला, खतिवडा, थिङ र श्रेष्ठ पहिलोपटक उम्मेदवार बन्ने खोजीमा छन् ।

थिङको गृह क्षेत्र सिन्धुली–२ र श्रेष्ठको क्षेत्र चितवन–३ मा यसअघि माओवादीले जितेको थियो । काठमाडौं–८ बाट कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको पत्नी सपना राजभण्डारी जोशीले आकांक्षा देखाएकी छन् ।

गण्डकीमा चार जनाको आकांक्षा

गण्डकीमा स्याङ्जा–२ बाट सरस्वती अर्यालले दाबी गरेकी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य जितेकी उनको नाम प्रतिनिधि सभा क्षेत्रीय समितिले सिफारिस गरेको छ ।

कास्कीमा कांग्रेसका जिल्ला नेता सरस्वती गुरुङ र विन्दादेवी राना मगरले दाबी गरेका छन् । केन्द्रीय सदस्य चम्पादेवी खड्काले बागलुङ- १ बाट उठ्न चाहेकी छन् । उम्मेदवारी दोहोर्‍याउन चाहेकी खड्का अघिल्लो चुनावमा पराजित भएकी थिइन् ।

लुम्बिनीमा उपसभामुखदेखि प्रदेश सहमहामन्त्रीसम्म

लुम्बिनी प्रदेशमा पुष्पा भुसाल, सुशीला चौधरी, शिला शर्मा खड्का, सीता देवकोटा, किरण कोइराला, नीमा गिरीलगायत आकांक्षी छन् । उपसभामुखसमेत रहेकी भुसाल यसपटक समानुपातिक सांसद छिन् । २०६४ र २०७० मा भने अर्घाखाँचीमा प्रत्यक्ष निर्वाचन लडेकी थिइन् ।

सुशीला चौधरी अघिल्लो निर्वाचनमा दाङ–१ बाट पराजित भएकी थिइन् । शिला शर्मा खड्का कांग्रेसका पूर्व नेता खुमबहादुर खड्काकी पत्नी हुन् । उनको क्षेत्र पनि दाङ–१ मा पर्छ । सीता देवकोटा पाल्पा, किरण कोइराला बाँके र नीमा गिरी प्युठानबाट आकांक्षी छन् । कोइराला बाँकेको पूर्वसभापति समेत हुन् । गिरी लुम्बिनी प्रदेशको सहमहामन्त्री छिन् । बर्दिया–२ मालती सोडारीले दाबी गरेकी छन् ।

कर्णालीमा आठ जनाको इच्छा

कर्णालीका १० जिल्लामध्ये हुम्लाबाट रंगमती शाहीले उम्मेदवारी दावी गरेकी छन् । शाही हाल समानूपातिक सांसद छन् । नेविसंघको पूर्व नेता रीता शाही पनि हुम्लामा उम्मेदवार हुन चाहेकी छन् । जुम्लामा केन्द्रीय सदस्य कान्तिका सेजुवालले दाबी गरेकी छन् । दैलेखमा सीता रानाले दाबी गरेकी छन् ।

पार्वती गिरी र जानकी सिंहले सुर्खेतमा उम्मेदवार हुने आकांक्षा राखेका छन् । रुकुम पश्चिममा महिला संघकी कोषाध्यक्षमा पराजित कुसुम थापाको इच्छा छ । यसै जिल्लाबाट नै पूर्व राज्यमन्त्री समेत बनेकी मिठुदेवी मल्ल आकांक्षी छन् ।

सूदूरपश्चिममा चार जनाको दाबी

सुदूरपश्चिम प्रदेशमा कैलाली, बाजुरा र दार्चुलाबाट महिलाहरुले उम्मेदवारीको दाबी गरेका छन् । कैलाली–५ बाट आरजु राणा दोहोरिएर उम्मेदवार बन्न खोज्दैछिन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा गत निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् ।

कैलाली–१ बाट ईश्वरी न्यौपाने फेरि पनि उम्मेदवार बन्ने कोशिसमा छिन् । गत निर्वाचनमा न्यौपाने पराजित भएकी थिइन् ।

महिला संघको पूर्व केन्द्रीय सदस्य जुना दानी बाजुराबाट र नन्दा बलमे दार्चुलामा उम्मेदवार बन्ने इच्छा राखेका छन् । बम हाल प्रदेश सांसद छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४