©नेत्र बहादुर कार्की
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरीको शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ ।
नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए ।
काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।
को हुन् प्रदीप गिरि ?
गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए ।
०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि पनि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।
गिरीको आज शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
सांसदसमेत रहेका गिरीको शव भोलि आइतबार बिहान मेडिसिटी अस्पतालमा र दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। त्यसपछि भोलि नै गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा हुनेछ।
