काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ अहिले केन्द्रीय कारागारको गोलघरमा छन् ।
जेलबाट भाग्न सक्ने, झगडा गर्न सक्ने विश्लेषण गरिएका पेशेवर अपराधीहरुलाई गोलघरमा राखिन्छ । गोलघरमा राखिने व्यक्तिले बाहिरका कैदीबन्दीलाई पनि भेट्न नपाउने केन्द्रीय कारागारका जेलर डोलेन्द्र निरौला बताउँछन् । गोरे, सुन तस्करीका नाइके मानिन्छन् । युएईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरेकै समूहले यातना दिएर तीनजनाको ज्यान लिएको थियो । सुन तस्करी र हत्याको यो घटनाबारे अनुसन्धान गर्न गठित विशेष छानविन समितिले गोरेलाई ८ जेठ २०७५ मा काठमाडौंको गौरिघाटबाट पक्राउ गरेको थियो ।
उनीबाट अन्य कैदीबन्दीलाई पनि खतरा हुनसक्ने भन्दै कारागार प्रशासनले गोलघरमा राखेको थियो ।
कारागार प्रशासन स्रोतका अनुसार अहिले केन्द्रीय कारागारको गोलघरमा गोरेसँगै अरु सात जना छन् । गोलघरका ब्लकभित्र गोरेबाहेक कुख्यात सिरियल किलर चाल्र्स शोभराज, बाबरी भनिने साउदी अरबियन बालयौन दुराचारीसहितका व्यक्तिहरु छन् । कारागार स्रोतका अनुसार दिउँसो बाहिर निस्किएका बेला गोरेको उनीहरुसँग भेट हुन्छ । गोरेले शोभराजसँग बाघचाल र चेस खेलेर समय बिताउँछन् ।गोलघर नजिकै पुस्तकालय पनि छ । उनीहरु त्यहीँ विभिन्न पुस्तकहरु पनि साटफेर गरेर पढ्छन् ।
कारागार सुरक्षामा खटिएका एक अधिकृतका अनुसार बेलाबेला गोरेले अस्वभाविक हर्कत् देखाइराख्छन् । ‘बाहिर एक किसिमले राम्रो प्रभाव जमाइरहेका व्यक्ति गोलघरमा थुनिँदा यस्तो हुनु स्वभाविक पनि होला,’ ती अधिकृत भन्छन्, ‘तर उनी एकदम निराश देखिन्छन् । उनलाई भेट्न बेलाबेला पूर्वप्रहरी समेत रहेका बुबा पनि केन्द्रीय कारागार गइराख्छन् । तर उनी बुबासँग पनि राम्रोसँग बोल्दैनन् । ‘उनको स्वभाव विल्कुलै फेरिएको छ’ एक अधिकृत भन्छन् । एकपटक बुबालाई भेट्दा उनले ‘छुटाउन आएको हो भने भेट, नत्र नआइज’ भन्दै झर्किँदै बोलेको सुरक्षार्थ खटिएकाहरु बताउँछन् ।
२०६० सालयता जेलमा रहेका शोभराज चाहिँ आफू दुई/तीन हप्तामै छुट्ने बताउँदै आएका छन् । केही अघि उनले आफू छुट्न लागेको भन्दै दुई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अन्तरवार्ता नै दिएका थिए । त्यसपछि कारागार प्रशासनले छानविनका लागि समिति नै बनाएको थियो ।
- साढे ३३ किलो सुनका मालिक, जो गुपचुप छुटे
शोभराज कहिले कारागारभित्रै विवाह गरेका कारण त कहिले कारागारभित्रै मोबाइल चलाएका कारण चर्चामा आइराख्छन् । उनी विश्वका विभिन्न जेल ‘ब्रेक’ गरेर भागेको इतिहास छ । त्यसैले उनलाई विशेष निगरानीमा राखिएको छ । मोरङका गोरे चाहिँ ९ माघ २०७४ मा नेपाल भित्रिएको ३३ किलो तस्करीको सुन हराएपछि खोज्नलाई परिचालित थिए । लगानीकर्ताको साढे ३३ केजी सुन बराबरको रकम तिर्नु पर्ने कि सुन लुट्ने समूह पत्ता लगाउनु पर्ने दबावबीच उनले भरियाहरुलाई यातना दिएका थिए ।
त्यसक्रममा करेन्ट लगाएर मोरङमा आर्थिक कारोबारका व्यवस्थापक एवं भरिया सनम शाक्यको हत्या भएको थियो । उनले शव व्यवस्थापन गरिदिन तत्कालीन महागरीय अपराध महाशाखाका प्रहरी समक्ष प्रस्ताव राखेका थिए । महाशाखाका अधिकारी गोरेलाई पक्राउ पर्ने दाबीसहित ‘कोभर्ट अपरेशन’का लागि धरान पुगेका थिए । तर प्रहरी त्यहाँ पुग्दासम्म गोरे भागिसकेका थिए । उनी कोलकाता, नयाँ दिल्ली लगायतका ठाउँमा लुकेर बसेका थिए । तर जुनसुकै बेला मारिन सक्ने डरले उनी फर्किएर नेपाल आएका थिए र ‘आत्मसमर्पण’ गरेका थिए ।
गोल्ड डनको रुपमा चिनिने गोरेको नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस पनि जारी भएको थियो ।
- सुनकाण्डको प्रतिवेदन सिंहदरबारमै गुपचुप, आरोपीसँगै आईजीपीको ‘रिट्रिट’ !
चर्चित साढे ३३ किलो सुनकाण्डको अनुसन्धान अलपत्र परेको छ । प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै गुपचुप रहँदा अनुसन्धान अलपत्र परेको हो ।
गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले प्रतिवेदन बुझाउँदा थप अनुसन्धान गर्नु आवश्यक रहेको सुझाव दिएको थियो । त्यसबेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई ३३ किलो सुनबारे थप अनुसन्धानको जिम्मेवारी दिन सुझाइएको थियो । अघिल्लोपटक सीआईबीले समातेको साढे ३३ किलो सुनकाण्डका अभियुक्त र यो प्रकरणका अभियुक्त अधिकांश एउटै भएकाले पनि सीआईबीलाई थप अनुसन्धानको जिम्मेवारी दिनुपर्ने अधिकारीहरुको सुझाव थियो । तस्करीको र्याकेटमाथि नै अनुसन्धान गर्न भने विशेष टास्क फोर्स नै बनाइनुपर्ने सुझाव दिइएको थियो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको चार महिना पुगिसक्दा पनि थप अनुसन्धानको जिम्मेवारी प्रहरीको कुनै निकायले पाएको छैन ।अनुसन्धानको जिम्मेवारी नतोकिदिँदा हामीले त्यसमा ध्यान दिन पाएका छैनौं’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘यसबीचमा हामीलाई केही सूचना पनि आएका थिए । तर, प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै अड्किएको अवस्थामा केही गर्न सकिएन ।’ स्रोतका अनुसार ६ असारमा व्यवसायी विमल पोद्दार पक्राउ परेसँगै प्रधानमन्त्री ओली असन्तुष्ट बनेका थिए । पोद्दार डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टका मालिक हुन् ।
प्रधानमन्त्री चीन भ्रमणमा गएका वेला समितिले पोद्दारलाई पक्राउ गरेको थियो ।
शून्य किलो सुनकाण्ड ! गृहमन्त्रीभन्दा ‘गोरे ग्याङ’ बलियो !
अझै २९३ जना शंकास्पद
समितिसमक्ष वयानका क्रममा पोद्दारले आफ्ना साझेदार व्यवसायी दीपक मल्होत्रा, केही पूर्वमन्त्री र अवकाशप्राप्त प्रहरी अधिकारीहरुको नाम लिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले समितिलाई अनुसन्धान छिटो निष्कर्षमा पुर्याउन दबाव दिएको छलफलमा सहभागी एक अधिकारी बताउँछन् । छानविन समितिले प्रतिवेदन बुझाउँदा २९३ जनालाई शंकास्पदको सूचीमा राखेको थियो । ‘उनीहरुलाई पक्राउ गरेर अघि बढ्नुपर्ने समितिका अधिकारीहरुले बताएका थिए’, प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘त्यसमा घरानिया व्यापारीदेखि पूर्वमन्त्रीसम्मको नाम मुछिएको थियो ।’
- आरोपितसँगै आईजीपीको रिट्रिट !
एकातिर सुनकाण्डका थुप्रै शंकास्पद व्यक्ति खुलेआम हिँडिरहेका छन् भने अर्कातिर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला आरोपितसँगै ‘रिट्रिट’मा देखिएका छन् । स्रोतका अनुसार इन्टरपोलको महासभामा माग लिन नेपालबाट यूएई गएका आईजीपी खनालसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही, इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) उमेशराज जोशी, कुकुर शाखाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङ लगायतका अधिकारीले त्यहाँ सुनकाण्डका एक आरोपितसँग रिट्रिट गरेका हुन् ।
सुनकाण्डमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ सँग जोडिएर हुन्डी कारोबार गरेको आरोप लागेका धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई यूएईमा व्यवसाय गर्दै आएका ठाकुर ढुंगानासँग आईजीपीसहितका प्रहरी अधिकारीहरु ‘रिट्रिट’ मा सहभागी भएका हुन् ।

इन्टपोलको सम्मेलन सकिएलगत्तै गैरआवासीय नेपाली संघ (एनआरएन) को वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी भएका आईजीपीलाई ६ गते रास अल खेलाको पहाडमा रिट्रिट गराइएको त्यहाँ उपस्थित एनआरएनका एक अधिकारीले जन प्रहारलाई बताएका थिए । गत शुक्रबार आयोजित एनआरएन युएईको राष्ट्रिय भेलामा आइजीपी खनाल प्रमुख अतिथि बनेका थिए । कार्यक्रममा ठाकुर पनि सहभागी थिए । र, उनले मन्तव्यसमेत व्यक्त गरेका थिए ।
त्यहाँ आईजीपी बसेको स्थानबाट पछाडि पट्टि ढुंगाना बसेका थिए । एनआरएन अध्यक्ष रमेश श्रेष्ठले कार्यक्रम व्यक्तिगत भएको भन्दै खानपिनको फोटो नखिचिदिन पटक–पटक सहभागीलाई अनुरोध गरेका थिए । कार्यक्रममा एनआरएनका आईसीसी सदस्य मनोज गोर्खाली, जनजाति महासंघ, यूएईका अध्यक्ष पासाङ शेर्पा, व्यवसायी सालिक सुवेदी, बैंक प्रतिनिधि नवीन पौडेल, एनआरएन यूएईकै राजु केसीसहित थप २२ जना सहभागी थिए ।
- को हुन् ठाकुर ?
अघिल्लो वर्ष ९ माघमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि खोज्ने क्रममा भरिया सनम शाक्यको हत्या हुँदा सुनकाण्डको ठूलो र्याकेट पर्दाफास भएको थियो । प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनेको थियो । समितिले सुनको रकम तिर्न हुन्डीको प्रयोग हुने गरेको पत्ता लगाएको थियो । जसका लागि गोरेले यूएईका अर्का व्यवसायी बालकृष्ण खड्का साझेदारी गरेका थिए । यूएईबाट सुन पठाउने बेनु श्रेष्ठसम्म समिति पुगेपछि खड्काबारे समितिले जानकारी पाएको थियो ।
अनुसन्धानका क्रममा खड्का र ढुंगानाबीच ठूलो ‘ट्रान्जेक्सन’ देखिएको थियो । लगत्तै, समितिले उनलाई वयानका लागि बोलाएको थियो । ‘उनी एकपटक बयानका लागि उपस्थित पनि भएका थिए’, स्रोत भन्छ, ‘त्यसबेला फुत्किएका उनीमाथि थप प्रमाण फेला परेपछि भने फरार भएका थिए ।’ त्यसपछि जिल्ला अदालत, मोरङमा दोस्रोपटक पूरक अभियोग दर्ता गर्दा उनलाई पनि प्रतिवादी बनाइएको थियो । तर, समितिले फेला पार्नुअघि ढुंगाना सुटुक्क अदालतमा उपस्थित भए र १० लाख तिरेर छुटे ।
त्यसबेला उनको तर्क थियो, ‘खड्कासँग मेरो पहिले साझेदारी भए पनि पछिल्लो समय थिएन । उनीसँग लेनदेन बाँकी रहेकाले ट्रान्जेक्सन देखिएको हो ।’

बालकृष्ण, ठाकुरलगायतको साझेदारीमा एक समय अबुधाबीमा ग्रिनल्याण्ड ट्राभल्स, दूबईमा फिस्टेल टुर्स एण्ड ट्राभल्स, अलइनमा ट्वींकल ट्राभल्स, बर दूबईमा फस्टेल ट्राभल्स, नेपालमा कान्तिपुर ट्राभल्स लगायत सञ्चालित थियो । त्यसक्रममा उनीहरुले यूएईमा हिमालय एयरलाइन्सको आधिकारिक टिकट विक्रेताको जिम्मेवारीसमेत उनीहरुले नै लिए । जहाँ सूर्य गिरी र मोती राई समेत साझेदार छन् । मोती झापाका हुन् । दूतावास छेऊ उनीहरुले रेस्टुरेन्टसमेत चलाए ।
धर्मेन्द्र झा राजदूत भएका बेला उनीहरुले दूतावासमा फोटोकपी मेसिन राखेर एमआरपी फर्म भरिदिने व्यवसाय पनि चलाए । ग्रीनल्याण्ड ट्राभल्समा ठाकुरका भतिजा एकाउन्टेन्ट भएको समेत बताइन्छ । तर, कारोबार क्रममा व्यवसायिक असमजदारीका कारण अहिले खड्का र ठाकुरको सम्बन्ध राम्रो छैन । खड्काको तर्क छ, ‘नेपालमा भएको कमाइ ठाकुरले देखाएन । धेरै अनियमितता गरेपछि साझेदारी टुटाएका हौं ।’
ढुंगानाको तर्क पनि वेग्लै छ । उनले आफू निकटस्थलाई बताउने गरेका छन्, ‘गारे लगायतसँग मिलेर उसले तस्करीमा सघाउन थाल्यो । त्यसपछि मैले सम्बन्ध तोडेको हुँ ।’ उनीहरुले जेजे तर्क गरे अनुसन्धानले भने त्यसपछि पनि उनीहरुबीच कारोबार भइरहेको देखाएको थियो । विवादपछि उनीहरुले ट्राभल्सहरु भाग लगाएका थिए । त्यसक्रममा बालकृष्ण, माती र सूर्यलाई पाखा लगाएर फिस्टेल ट्राभल्सलाई ढुंगानाले एकल बनाए । त्यसपछि मोती र सूर्यले काठमाडौं ट्राभल एजेन्सी खोले, दुबईमा ।
भागबन्डापछि ढुंगाना भने एनआरएनतिर आफ्नो उपस्थिति बलियो बनाउनतिर लागे । एनआरएनका एक उच्च अधिकारी भन्छन्, ‘एनआरएनलाई उपयोग गरेर उनी आफ्नो छवि सुधार्नतिर लागेका थिए ।’ त्यसक्रममा उनी हाल एनआरएनका आईसीसी सदस्य बनेका थिए । कार्यक्रममा ठाकुरलाई देखेपछि त्यहाँ हल्लीखल्लीसमेत भएको थियो । त्यसक्रममा आयोजकहरुले आफूहरुले निमन्त्रणा गरेको नभई ठाकुर आफैं सहभागी भएको बताएका थिए
यूएईका नेपाली निराश
यूएईका केही नेपालीले आईजीपीसँग गोप्य भेट गरेर तस्करीबारे सूचना दिन चाहेका थिए । तर, आईजीपी आफैं तस्करसँग घुमघाममा रम्न थालेपछि भने उनीहरु सतर्क बने । उहाँसँग गोप्य भेट गरेर सूचना दिने योजना बनाएका थियौं’, त्यहाँका एक नेपाली व्यवसायीले जन प्रहारलाई भने, ‘तर, त्यो सम्भव हुन पाएन ।’ यद्यपि, उनीहरुले रिट्रिटमा केही अनौपचारिक संवादहरु गर्न भने पाए । तर, आरोपित नै त्यहीँ भएकाले तस्करीबारे मुख खोल्न सकेनन् ।
त्यहाँका सहभागी एक जनासँग जिज्ञासा राख्दा उनले भने, ‘त्यो हाम्रो व्यक्तिगत गफ त थियो । तर, गोप्य थिएन । धेरै सहभागी थिए ।’ त्यसबेला आईजीपीले ‘फेरि अर्को दिन भेट्ने’ बताइएको थियो तर, त्यो मौका त्यहाँका नेपालीले पाएनन् । ‘ठाकुरजीलाई देखेपछि हामीले पनि असहज अनुभूति गरेका हौं’, उनले भने, ‘तर, के.. कसरी बोल्ने भनेर अक्क न बक्क भइयो । त्यसपछि चुपचाप बसियो ।’ कार्यक्रममा ठाकुरलाई देखेपछि त्यहाँ हल्लीखल्लीसमेत भएको थियो । त्यसक्रममा आयोजकहरुले आफूहरुले निमन्त्रणा गरेको नभई ठाकुर आफैं सहभागी भएको बताएका थिए ।

स्रोतका अनुसार यूएई भ्रमणमै रहेका बेला आईजीपीले समितिको प्रतिवेदनमा नाम परेका व्यवसायी दीपक मल्होत्रासँग पनि भेटघाट गरेका थिए । सो भेटमा आईजीपीसँगै सुबु केसी पनि सहभागी थिए । केही समयअघिसम्म उनी अमेरिकामा बस्दै अाएका थिए । हाल उनी नेपालमै छन् । खनालले आफू निकटस्थलाई सुबु स्कुलमा सँगै पढ्ने साथी भएको बताउने गरेका छन् । सुबुले हाउजिङ, हाइड्रो लगायतमा लगानी गर्ने गरेको स्रोत बताउँछ । त्यहाँ उनले सुनकाण्डका अर्का अभियुक्त बाजेको सेकुवाका मालिक चेतन भण्डारीसँग समेत भेटेको स्रोत बताउँछ ।
गोरे समूहले भित्र्याएको ३८ क्वीन्टल सुनमा भण्डारीको पनि लगानी भेटिएको सुन अनुसन्धान समितिले दाबी गरेको थियो ।