काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फाल्न रोक लगाएका छन् ।
काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जन प्रहारलाई जानकारी दिएका छन् ।
बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो ।
तर स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
बुधबार भएको ४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख छैन । तर रिहा गर्ने भनेर मौखिक आश्वासन प्रशासनले दिएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।
काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबार साँझ सहमति भएको छ ।
काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको हो ।
फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति पछि फोहोरको अवरोध अन्त्य भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । ‘अब भोलिदेखि फोहोर व्यवस्थापन सहज हुने आशा गरेका छौं’ उनले भने ।
यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति भएको धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।
तर सहमति कार्यान्वयनमा आशंका रहेको उनी बताउँछन् । ‘यस्तो वार्ता पटक पटक गरेका छौं । ३ वटै जिल्लाका सीडीओसाबहरुसँग संयुक्त वैठक भएकोले धोका हुँदै भन्ने आश गरेपनि कार्यान्वयनमा भने पूर्ण रुपमा विश्वस्त हुनसक्ने अवस्था छैन’ उनले भने ।
उनले फोहोर बोकेको गाडीले लिचेड चुहाउँदै आएमा अवरोध गर्ने बताए । मंगलबार दिउँसो २ बजेदेखि भएको बैठक साँझ ७ बजे मात्रै सकिएको थियो ।
छलफलमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी थिए ।
हेर्नुहोस् सहमति
