Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तपाईँ कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २ २०७९
  • 5.8K
    SHARES

कमाउने र बचाउने कुरा व्यक्तिगत वित्तीय व्यवस्थापनमा धेरै महत्व राख्ने र धेरै छलफल, बहस भइरहने विषय हो। यसै विषयमा प्रसिद्ध लेखक चाल्र्स ए जेफी भन्दछन्- ‘तपाईँलाई धनी बनाउने तपाईँको तलब (कमाइ)ले होइन, तपाईँको खर्च गर्ने बानीले हो।’ झट्ट सुन्दा खर्च गर्ने बानीले पनि कोही धनी हुन्छ त ? भन्ने लाग्न सक्छ ।

यथार्थमा उनको भनाइको तात्पर्य कमाउनुभन्दा बचाउनु ठूलो कुरा भन्ने हो। मानिसलाई उसको कमाइले नभई बचत गर्ने बानीले मात्र धनी हुने कुरा निश्चित गर्छ। अन्तर्राष्ट्रिय ऋण महासंघका पिता एफ् डब्लु राइफाइसन पनि सम्पन्न बन्नका लागि मनिसमा मितव्ययिताको बानी हुनुपर्छ भन्ने कुरामै जोड दिन्छन् ।

कति सम्पत्ति भए हामी धनी हुन्छौं भन्ने विषयको स्पष्ट र सजिलो जवाफ छैन, तथापि सामान्यतया आफ्ना जीवनचक्रका आवश्यकताहरू पूरा गर्न हामीले कसैको भर गर्न पर्दैन र आकस्मिक अवस्थाको लागि केही रकमको जोगाड गर्न सकिन्छ भने हामी आफूलाई सामान्यरूपमा धनी मान्न सक्छौं । अझ धनी बन्दै जाने आफ्नो चाहनालाई पूरा गर्न पनि खर्च गर्ने बानीमा सुधार गर्दै जानुपर्ने हुन्छ। खर्च कम गर्नु भनेको नै धेरै बचत हुनु हो।

अर्थशास्त्रको सामान्य परिभाषामा बचत भनेको खर्च गरिसकेपछि बचेको वा बाँकी रहेको अंश हो। अहिलेको बचतको परिभाषा वा बुझाइ भने यो भन्दा अलि भिन्न छ, अर्थात् खर्च गर्नुभन्दा अगाडि नै नगद वा जिन्सीको निश्चित अंश भविष्यको लागि भनेर छुट्याउने काम बचत हो। यसको सूत्र:– आम्दानी –बचत = खर्च (आम्दानीबाट बचत अनि मात्र खर्च) हो। यसलाई बचतको सुनौलो सूत्र पनि भन्ने गरिएको छ।

सम्पत्ति व्यवस्थापन सम्बन्धी जर्ज एस् क्लासनको ‘रिचेष्ट म्यान इन् बेबीलोन’ (सन् १९२६) भन्ने प्रसिद्ध पुस्तकको मुख्य पात्र अर्कड (जो धनी व्यक्ति हो) ले आफ्ना साथीहरूलाई धनी बन्न दिएका केही सुझाबहरू हामीलाई धनी बन्न सघाउने खालका छन्। जस्तै: कमाइको कम्तीमा पनि १० प्रतिशत बचाऊ, खर्चहरू सकेसम्म घटाऊ र आफ्नो पैसालाई पनि काममा लगाऊ अर्थात् सकेसम्म विचार गरी फाइदा आउने ठाउँमा लगानी गर। वास्तवमा धनी हुन चाहने जो कोहीले पनि यी कुरामा ध्यान दिनैपर्दछ।

प्रसिद्ध साहित्यकार बेञ्जामिन फ्राङ्कलिन पनि खर्च कम गर्नुपर्छ र धेरै बचाउनुपर्छ भन्ने कुरामा नै जोड दिँदै भन्दछन्– ‘सानो खर्चमा पनि ध्यान देऊ, किनभने सानो प्वालले पनि ठूलो पानीजहाजलाई डुबाउँछ।’ यसो भनेर उनले अहिले विचार नगरी खर्च गर्ने बानीले भविष्यमा ठूलो आर्थिक बोझ सहनुपर्ने हुन्छ भन्ने कुराको सन्देश दिएका छन्। उनै फ्राङ्कलिन फेरि भन्दछन्– ‘पैसा बचाउनु भनेकै पैसा कमाउनु हो।’

आजभोलि कति कमाउँदा कति बचाउने त भन्ने सम्बन्धमा ५०–३०–२० को सूत्रलाई आधार मान्नुपर्छ भनिन्छ। यसको अर्थ हो– ‘कमाइको ५० प्रतिशत आवश्यक कुरामा खर्च गर्ने, ३० प्रतिशत रहर वा इच्छाहरू पूरा गर्नमा खर्च गर्ने र २० प्रतिशत बचत गर्ने।’ यदि हामी धनी बन्दै जाने हो भने यस्ता उपायहरूको अवलम्वन र अभ्यास गर्दै जानु जरुरी छ। कमाइको धेरै भाग खर्च हुँदै जान्छ भने धनी हुने हाम्रो चाहनाचाहिँ फगत् दिवास्वप्न मात्रै हुन्छ।

अधिकतम इच्छाहरूको अधिकतम आपूर्ति मानिसको स्वभाव हो। इच्छाहरूको आपूर्तिमा मानिस खुशी हुन्छ, रमाउँछ। कमाउनुको लक्ष्य पनि अधिकतम चाहनाहरू पूरा गर्दै रमाउनु, खुशी हुनु नै हो। त्यसो भए तापनि अहिलेको खुशीको लागि मात्र खर्च गरियो भने भविष्यको खुशी हराउँछ अर्थात् हाम्रो सँधै खुशी हुने, धनी हुने सपना पूरा हुन सक्दैन। एकजना मानिस महिनाको ५० हजार कमाउँछ र ३० हजार बचत गर्छ, अनि अर्को मानिसचाहिँ महिनामा ८० हजार कमाउँछ तर ७५ हजार खर्च गर्दछ भने ५० हजार कमाउने पहिलो मानिस नै धनी हो।

यसको अर्थ कमाएर मात्र होइन बचाएर पनि धनी हुन सकिन्छ भन्ने हुन्छ। बचाउने कुराले निश्चय नै मानिसलाई सुखी बनाउँछ। धेरै बचाउनको लागि अहिले गरेको त्याग नै भविष्यको सुखी हुने, धनी हुने आधार हो। बचतको यही व्यवहारलाई संकेत गर्दै संसारकै धनी मानिस वारेन वफेट भन्दछन्– ‘अहिले कोही मानिस रुखको छायामा बस्नु भनेको कसैले पहिले रुख रोपेको हो।’

कमाइको पैसा सकेसम्म धेरै नै बचत गर्नु भन्ने कुरा भनेजस्तो सजिलै त छैन। त्यसका लागि बलियो मन, बलियो अठोट वा संकल्प हुनुपर्दछ। त्यसैले वित्तीय साक्षरता सम्बन्धी प्रसिद्ध पुस्तक ‘रिच ड्याड पोअर ड्याड’का लेखक रोवर्ट कियोसाकी ‘पैसा कमाउन भन्दा पैसा जोगाउन गाह्रो’ भन्ने कुरा बताउँछन्। तथापि पैसा बचाउने उपायहरू पनि धेरै हुन्छन्।

पैसा बचाउने सबभन्दा प्रभावकारी उपाय भनेको आम्दानी र खर्चको योजना बनाउनु र योजना अनुसार मात्रै खर्च गर्ने बानीको विकास हो। आफ्नो आम्दानी र खर्चको विश्लेषण गरिसकेपछि यति बचाउन सकिन्छ, बचाउँछु भन्ने सोच भयो भने अवश्य नै धेरै बचत हुन्छ। अनावश्यक र फजुल खर्च घटाउने, हुँदासम्म पुराना वस्तुहरूको मर्मत गरी प्रयोग गर्ने, जस्ता थुप्रै उपायहरूबाट पैसाको बचत बढाउन सकिन्छ।

धेरैजसो मानिसहरू पैसाको सम्बन्धमा ‘आउँछ – जान्छ’ भन्ने सामान्य अथवा हल्का सोच मात्र राख्दछन् र आम्दानी अनि खर्चको विश्लेषण तथा कुनै योजना नै गर्दैनन्। धेरै बचाउने सम्बन्धमा समस्या यही नै हो। यही कमजोर वित्तीय व्यवहारले गर्दा धेरै कमाउनेहरूको पनि बचत छैन र समस्यामा छन्। अनि अर्कोतिर आम्दानी खर्चको योजना र खर्चमा अनुशासन कायम राख्ने असल वित्तीय व्यवहार भएका मानिसहरू थोरै कमाइ हुँदा पनि सजिलोमा छन्, सम्पन्नताको बाटोतिर अग्रसर छन्।

भनिन्छ- ‘पैसा सम्बन्धी धेरैजसो निर्णयहरू अलि हतारमा र आवेशमा गरिन्छन्।’ यद्यपि खर्च गर्नुअघि खर्चबाट आउने नतिजाको बारेमा राम्ररी सोच्ने हो भने यस्तो अवस्थाबाट बच्न सकिन्छ। जस्तै : आवश्यक नभएको एउटा कुनै विलासी वस्तु किन्नमा पैसा खर्च गर्नुले केही समयका लागि सन्तुष्टि पाउन त सकिएला तर त्यही पैसा बचाउनुले भविष्यको कुनै समस्या सजिलै टार्न सक्छ, अनि धनी हुने बाटोतिर डोहोर्‍याउन पनि सक्दछ। त्यसैले अब कति कमाइन्छ मात्र भन्दा पनि कति बचाइन्छ भन्ने कुरामा सबै मानिसको ध्यान जानु अपरिहार्य छ। भविष्यलाई वित्तीय हिसाबले सुरक्षित बनाउने, धनी बनाउने आधार वा मापन कति कमाइयो भन्दा कति बचाइयो भन्ने नै हो । –स्राेतः INS

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४