Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१२ लाख नागरिकता पाउन योग्य नेपाली नागरिक प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३० २०७९
  • 2K
    SHARES

काठमाडौँ । प्रस्तावित नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता हुँदा १२ लाख बढी नेपाली प्रभावित हुन सक्ने आकलन गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडका अनुसार जन्मको आधारमा नागरिकता लिएकाका सन्तानहरू करिब ६ लाख छन् जो नागरिकता लिन योग्य छन् तर, जन्मको आधारमा नागरिकता लिएकाहरूले नागरिकता पाउने सम्बन्धी कानुन बन्न नसक्दा नागरिकता पाइरहेका छैनन् । यस्तै आमाको नामबाट नागरिकता लिन योग्य नेपाली नागरिकहरूको पनि सङ्ख्या ठूलो छ ।

महिला कानुन विकास मञ्च (एफडब्लूएलडी) को तथ्याङ्क अनुसार पनि जन्मको आधारमा नागरिकता लिएकाको सन्तानमध्ये ६ लाख भन्दा बढी नागरिकता लिन योग्य रहेको तर कानुन अभावमा नागरिकता लिन नपाइरहेका छन् । आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजार बढीले पाउने एफडब्लूएलडीको तथ्याङ्क छ । यी दुवै समस्या समाधान गर्ने गरी विधेयक आएको प्रमाणीकरण भएको भए १२ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान थियो ।

विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ। २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो।

नेपालमा झण्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ। तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन्। लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसद्बाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवन समेत प्रभावित भएको छ। नागरिकता नभएकै कारण बैङ्कमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएका उनीहरूले समस्या झेलिरहेका छन् ।

आमाको नामबाट मात्र पनि नागरिकता पाइने व्यवस्था विधेयकमा छ । यद्यपि यसरी नागरिकता पाउन चार वटा सर्त भने विधेयकले राखेको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ। बाबुको पहिचान हुन नसकेको ब्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ।

नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ ले नै कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्न व्यवस्था गरेको थियो। तर यो व्यवस्था सरकारले कार्यान्वयन गरेको थिएन। यसपालिको संविधानले भने आमाको नामबाट मात्र नागरिकता पाउन बाबुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गर्‍यो। उक्त व्यवस्था कार्यान्वयन गर्न यो विधेयकले बाबुको पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ।

यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता रद्द हुनेछ। तर त्यस्तो व्यक्तिले अङ्गीकृत पाउने छ। किनभने नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अङ्गीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ।

विधेयकले पनि संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेको हो। विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अङ्गीकृत नागरिकता पाउन पनि नेपालमा जन्मिएको, नेपालमै बसोबास गर्नुपर्ने र बाबुको देशको नागरिकता नलिएको हुनुपर्ने छ।

विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुबा र आमा दुवैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ।

विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोलेको छ। विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।

यी लगायतका प्रावधान समेटेको भएपनि थप विषयमाथि अध्ययन र थप विषय समेट्नुपर्ने भन्दै नागरिकता विधेयक पुनर्विचारका लागि आइतबार राष्ट्रपतिले संसद्मै फिर्ता पठाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४