श्रावण शूक्ल पूर्णिमाकाे दिन जनैपूर्णिमा वा रक्षाबन्धनको नामले प्रचलित छ । बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन् । यो धागोलाई जनै भनिन्छ । जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ । बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ । खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
जनैपूर्णिमा र जनैको महत्व
जनैपूर्णिमामा व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ ।
द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।
उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।
तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋण अनि सत्व, रज र तमको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।
जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।
जनै लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? हिन्दु धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ ।
जनैको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ । तीन फेरोलाई क्रमशस् ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ । धार्मिक दृष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।
शास्त्र अनुसार दाहिने कानमा आदित्य, वसु, रुद्र, वायु, अग्नि, धर्म, वेद, आप, सोम र सूर्य लगायतका देवताहरू बस्छन् । त्यसैले दिशापिसाबको बेला जनै दाहिने कानमा राख्दा राखिन्छ ।
दिशापिसाब पछि जब हातगोडा धोएर मुख कुल्ला गरिन्छ तब मात्र जनै कानबाट निकाल्नुपर्छ । यसो गर्नुको अर्थ शरीरमा नाइटोमाथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ तर नाइटोमुनिको भाग भने अपवित्र मानिन्छ ।
दाहिने कानलाई जननेन्द्रिय र अण्डकोषको अभिन्न सम्बन्ध रहेको हुन्छ । पिसाब फेर्दा वीर्यपतनको पनि सम्भावना हुन्छ । त्यसैले पिसाब गर्दा जनैलाई कानमा घुसारेमा वीर्यनाश हुन पाउँदैन । त्यति मात्र होइन लगातार स्वप्नदोष भयो भने पनि दाहिने कानमा जनै बेर्दा समस्या समाधान हुने विश्वास छ ।
दिसापिसाब गर्दा जनैलाई दाहिने कानमा दुई फन्का कसेर बेर्नुपर्छ । कानको पछाडि हुने दुईवटा नसाको सम्बन्ध आन्द्रा हरूसँग हुन्छ । यसरी कानको नसा कस्दा आन्द्रामा दबाब पर्छ र दिसा सहजै निस्कन्छ । त्यति मात्र होइन कब्जियत, अम्लीयता, पेटका रोग, पिसाबसम्बन्धी रोग, रक्तचाप समस्या, मुटुरोगहरू लाग्न पाउँदैनन् ।मलमूत्र त्यागेपछि तत्कालै जनै कानबाट खोल्नुहुँदैन । पहिला आफु राम्ररी सफा हुनुपर्छ अनि मात्र जनै उतार्नुपर्छ । यो सफाइले व्यक्तिलाई रोगबाट पनि बचाउँछ ।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।
क्वाँटीको परम्पररा
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
यस दिन काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने लागछ ।
नयाँ जनै लगाउँदा पढिने मन्त्र
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात् । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः।।
नयाँ जनै लगाइसकेपछि पुरानो जनै फुकाल्दा पढिने मन्त्र
एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारित्वं मया । जीर्णत्वात्वत्परित्यागगच्छसूत्र यथासुखम् ।।
