काठमाडौं । भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ ।
अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ । भैरहवाको गौतमवुद्ध विमानस्थलपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा छ । भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।
नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताए । ‘हामीले १ जनवरीमै किन भन्यौं भने नियमित फ्लाइटअघि निश्चित प्राविधिक पक्ष हुन्छन् । क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने, त्यो गरेपछि निश्चित महिनापछि मात्र फ्लाइट गर्नुपर्ने यस्ता आधार रहेछ, त्यसैले सबै कुरा मिलाउनुपर्छ’ उनले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको एक समितिले विमानस्थलको संगठन संरचनाको काम गरिरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । अहिले सञ्चालनमा रहेको पोखरा विमानस्थलका कर्मचारीलाई समेत नयाँ विमानस्थलमा सारिने छ । ‘कति कर्मचारी नयाँ विमानस्थलमा सार्ने र कसरी उडानलाई नियमित गर्ने भन्ने विषयमा अझै मिहिन छलफलमै छौं’ पोखरा विमानस्थलका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख बिक्रम गौतमले भने ।
पोखरा विमानस्थल निर्माण सुरु हुँदै गर्दा स्वदेशी वायु सेवा कम्पनी वुद्ध एयरले २५ माघ २०७८ मा विमानस्थल सञ्चालनमा आएपछि ५ वटा जहाज पोखरामा राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । त्यसबाहेक अरु विमान कम्पनीले अहिलेसम्म यस्ता घोषणा गरेका छैनन् । तर विमानस्थल सञ्चालनमा आउने समयसम्म वायुसेवा कम्पनीहरु पनि उडान भर्न तयार हुने नागरिक उड्डयन प्राधिकरणको विश्वास छ ।
चिनियाँ लगानीमा चिनियाँ निर्माण कम्पनीले नै बनाएको यो विमानस्थलमा चिनियाँ वायु सेवा कम्पनीले नै उडान सुरु गर्ने अपेक्षा नागरिक उड्डयन प्राधिकरणको छ । ‘पोखरा चिनियाँ पर्यटकले रुचाउने प्रकृतिको गन्तव्य हो’, प्राधिकरणका प्रवक्ता निरौला भन्छन्, ‘त्यसकारण पोखरा विमानस्थललाई बढी ट्राफिक चिनियाँ वायुसेवा कम्पनीबाटै आउने अपेक्षा गरिएको छ ।

गत वर्ष भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै गर्दा त्यहाँको व्यवसायिक उडान गर्न कुनै कम्पनीले इच्छा देखाएको थिएन । तर विमानस्थल उद्घाटन भएदेखि नै जजिरा एयरवेजले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । त्यसैले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले अहिले सजिलै ट्राफिक पाउने अपेक्षा प्राधिकरणले गरेको हो ।
२५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा राष्ट्रिय अन्तर्राष्ट्रिय एप्रोन, ह्यांगर, आइसोलेटेड पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवनसहित एटीसी टावर तयार भइसकेको छ । यो विमानस्थलमा अहिले नेपाल एयरलाइन्ससँग रहेको ए ३३० न्यारोबडी क्षमताका जहाजहरु उडान–अवतरण गर्न सक्छन् । अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले सोही मापदण्ड अनुसारको फायर फाइटिङ र रेस्क्यू सेवा समेत यहाँ उपलब्ध हुनेछ ।
यसै साता पोखरामा तयारी बैठक
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विमानस्थलभित्र दर्जनौं निकायको उपस्थिति आवश्यक पर्छ । नागरिक उड्डयन प्राधिकरणको कार्यालयसँगै गृह मन्त्रालय मातहतको अध्यागमन विभाग, अर्थ मन्त्रालय मातहतको भन्सार विभाग पनि अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नुपर्छ । गृह र रक्षा मन्त्रालय मातहतका सुरक्षा निकायले समेत विमानस्थलमा आफ्नो युनिट राख्नुपर्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपालआयल निगमले इन्धन भर्न विमानस्थलभित्र डिपो स्थापना गर्नुपर्छ । यसबाहेक वायुसेवा कम्पनीका कार्यालयहरु विमानस्थलमा रहन्छन् । यी सबै सरोकारवालाको बैठक यसैसाता पोखरा विमानस्थलमा बस्दैछ । प्रवक्ता निरौलाका अनुसार सोही बैठकबाट प्राधिकरणले सरोकारवालालाई आफ्नो युनिटहरु स्थापना गर्न आह्वान गर्नेछ । ‘सबै निकाय उत्तिकै तयारीमा हुनुहुन्छ’, उनले भने, ‘सरोकारवालाको बैठकबाट हामी औपचारिक रुपमा आह्वान गर्छौं ।’
अक्टोबरपछि वायुसेवा कम्पनीलाई आह्वान
नयाँ विमानस्थल भएका कारण पोखरामा पहिले परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्नुपर्छ । सो परीक्षण उडानबाट प्राप्त प्रतिवेदनपछि विमानस्थल उडानयोग्य भएको वा नभएको यकिन हुन्छ । त्यसपछि प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई उडानका लागि आह्वान गर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए । आगामी अक्टोबरभित्र परीक्षण उडान सकेर वायुसेवा कम्पनीहरुलाई आह्वान गरिसक्ने उनको भनाइ छ ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पर्यटनमन्त्री श्रेष्ठले पनि क्यालिब्रेसन फ्लाइटपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्ने बताए । ‘सञ्चालनको सुनिश्चित नगरी फ्लाइटहरुसँग कुरा गर्ने र उनीहरुले पनि इच्छा व्यक्त गर्ने कुरा रहँदैन, त्यसैले क्रमैसँग इच्छुक एयरलाइन्सले कुराकानी अगाडि बढाउँछन्’ उनले भने ।
साढे ५ वर्षमा तयार
विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच ८ जेठ २०७१ मा ठेक्का सम्झौता भएको थियो । १ वैशाख २०७३ सालमा शिलान्यास भएको विमानस्थल निर्माणका लागि एक्जिम बैंकले १७ जेठ २०७४ देखि ऋण प्रवाह थालेपछि २७ असार २०७४ देखि काम सुरु भको थियो । चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिुङले निर्माण सुरु गरेको करिब ५ वर्षमा सम्पन्न गरेको हो ।
२६ असोज २०७८ मा सकिनुपर्ने यो विमानस्थल निर्माणको काम कोरोना महामारीका बेला चिनियाँ कामदार चीनमै रोकिएको र उपकरण ढुवानीमा ढिलाइ भएको कारण देखाएर एक वर्ष पर ढिला सकिएको हो । १२ चैत २०७८ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसरमा निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल हस्तान्तरण गरिसकेको छ । यो विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१ करोड २९ लाख अमेरिकी डलर (२७ अर्ब १४ करोड रुपैयाँ) ऋण लिएको छ । २१ मार्च २०१६ अर्थात् ८ चैत २०७२ मा भएको ऋण सम्झौता अनुसार ऋण लिएको २० वर्षभित्र तिरिसक्नुपर्नेछ ।
ऋण सम्झौता भएको ७ वर्षसम्मलाई ग्रेस पिरियड मानिएको छ र त्यसपछि मात्र नेपालले ऋण तिर्नुपर्नेछ । ऋण सम्झौता भएको आगामी चैतमा ७ वर्ष पूरा हुनेछ । त्यसपछि भने नेपालले वर्षको दुई किस्ता गरी १३ वर्षमा २६ किस्ता गरी ऋण तिर्नुपर्नेछ । सम्झौता अनुसार कुल ऋणको २५ प्रतिशतको व्याज भने चीन सरकारले नेपाललाई अनुदान दिएको छ । बाँकी ७५ प्रतिशत ऋणको साँवा र त्यसको २ प्रतिशत ब्याज एक्जिम बैंकलाई तिर्नुपर्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चराको चुनौती
विमानस्थल र ल्याण्डफिल साइटमा बासस्थान बनाएका चरा सार्न कम्तिमा पनि वर्ष दिन लाग्छ, नत्र अन्तर्राष्ट्रियस्तरमै उडानका लागि असुरक्षित मानिन्छ ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ल्याण्डफिल लाइट सार्न पोखरा महानगरलाई पत्राचार गरेकै ४ वर्ष नाघिसक्यो । १ वैशाख २०७३ सालमा शिलान्यास भएर २७ असार २०७४ बाट काम थालिएको विमानस्थलका लागि २०७५ सालबाटै ल्याण्डफिलको विकल्प खोज्न पत्राचार गरिएको भए पनि पोखरा महानगर असक्षम बन्यो ।
अहिले विमास्थलको निर्माण सकिएर १ जनवरी २०२३ मा उडान भर्ने मिति तय भइसकेको छ । तर, ल्याण्डफिल साइटको समस्या यथावतै छ र कहाँ बन्ने भन्ने टुंगोसमेत छैन । नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक उडानको तय गरेको मिति आउन अब ५ महिना पनि बाँकी छैन । तर, गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री मणिभद्र शर्मा भन्छन्, ‘हतारमा व्यावसायिक उडानको मिति तोकियो, म त्यो सम्भावना नै देख्दिनँ ।
चराको चुनौती
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले गत चैत १८ गते नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गर्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका मुख्य ४ समस्या थिए । पहिलो त ल्याण्डफिलकै समस्या थियो भने अर्को विमानस्थलको पूर्वपट्टीको रिठ्ठेपानीको डाँडा काट्नुपर्ने भए पनि सुरुवात भएकै थिएन ।
विमानस्थलका लागि चाहिने इन्धनका लागि डिपो निर्माण भएकै थिएन भने फूलबारी, सितलादेवीदेखि विमानस्थलसम्मै आउने ढल व्यवस्थापन र रक्षा तथा गृह मन्त्रालयका सुरक्षा निकाय बस्ने भवनसमेत बनेको थिएन । अहिलेसम्म ती कुनै पनि समस्याको समाधान भइसकेको छैन । केही समस्या उडान हुनुअघिसम्म सक्ने लक्ष्य राखेर मिति तोकिएको छ भने केही अस्थायी समाधान खोजेर जाने योजनासहित अगाडि बढिएको छ ।
विमानस्थल सञ्चालन गर्न ५ महिनामात्र बाँकी हुँदा पोखरा महानगरपालिकाले अस्थायी रुपमै भए पनि ल्याण्डफिलको विकल्प खोज्ने बताएको छ । तर, गण्डकी प्रदेश सरकारकै पर्यटनमन्त्री कडेंल विमानस्थल सञ्चालनमा ल्याउन तोकिएको मितिभन्दा अगावै ल्याण्डफिलको व्यवस्थापन भइसकेछ भने पनि चरालाई त्यहाँबाट हटाउन नसकिने बताउँछन् । मन्त्री कडेंलसँग सहमत छन्, पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे ।
अहिलेको ल्याण्डफिल हटाए पनि त्यहाँ चराहरु नआउने बनाउन कम्तिमा १ वर्ष लाग्ने बताउँछन् । ‘गिद्ध, चिल, लगायत थुप्रै चराहरुको बासस्थान हो, ल्याण्डफिल । मानौं अबको ३ महिनाभित्र ल्याण्डफिलको व्यवस्था भइहालेछ भने पनि बाँकी समयमा चरालाई अन्यत्र बासस्थान सार्ने बनाउन सकिँदैन,’ घिमिरे भन्छन्, ‘अहिले थुप्रै चराहरुको मुख्य खान र बस्न मिल्ने क्षेत्र त्यही हो । त्यस क्षेत्रमै चराहरुले गुँड लगाएका छन् । त्यहाँबाट चराहरुलाई अन्यत्र फर्काउन ४/५ महिनामा सम्भव छैन ।’
विमानस्थलको उत्तरपूर्व विजयपुर खोला क्षेत्र पनि गिद्ध र चिलको बासस्थान र आहारा खान आउने क्षेत्र हो । सेती नहर हुँदै आइपुग्ने मरेका जीवजन्तुको सिनो खान गिद्धहरु नियमित आउने क्षेत्रमा पर्ने उनको भनाइ छ । यसबारे सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ भने चरा व्यवस्थापनका लागि विश्वमा विभिन्न प्रविधिहरुको प्रयोग हुँदै आएकाले पोखरामा पनि त्यही प्रयोग गर्न सकिने बताउँछन् ।
‘चरा सार्न कम्तीमा १ वर्ष लाग्छ’
विमानस्थल रहेको वडा नम्बर १४ मा क्षेत्रमा १ सय ६२ प्रजातीका चरा पाइने तथ्यांक छ । पक्षी संरक्षण अभियान्ता हेमन्त ढकालका अनुसार १ सय ६२ मध्ये ५ प्रजाति अति संकटापन्न र २ वटा संकटापन्न प्रजातिका गिद्ध र चरा सो क्षेत्रमा छन् । ल्याण्डफिल साइटकै क्षेत्रमा सेतो गिद्धले पहारामा र सानो खैरो गिद्धले २०१४ देखि रुखमा गुँड बनाउँदै आएका छन् ।
‘नेपालमा यस्तो गुँड सार्ने परम्परा नै सुरु भएको छैन । पंक्षीका सन्दर्भमा निकै हलुका हिसाबले हेरिन्छ, विदेशमा यो विषय निकै महत्वपूर्ण मानिन्छ,’ ढकालले भने, ‘विमानस्थल र ल्याण्डफिल साइटमा बासस्थान बनाएका चरा सार्न कम्तिमा पनि वर्ष दिन लाग्छ, नत्र अन्तर्राष्ट्रियस्तरमै उडानका लागि असुरक्षित मानिन्छ ।’
प्रदेशका पर्यटन मन्त्री कडेंल पनि ल्याण्डफिलकै टुंगो लाग्नेमा एकातिर शंका गर्छन् भने अर्कोतिर चराकै कारण पनि उडानमा समस्या पर्ने बताउँछन् । मन्त्री कडेंल विमानस्थल सञ्चालनमा विद्यमान समस्या हल गर्न, बिनाअवरोध उडान सुरु गर्न संघ र स्थानीय तहसँग सहजीकरण गर्न गण्डकी प्रदेश सरकारले गठन गरेको समितिका संयोजकसमेत हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चरा, ढल, डाँडा कटान र सुरक्षाकर्मी व्यवस्थापन लगायतका समस्याहरु विद्यमान हुँदा जनवरी १ बाटै उडान गर्ने भनिए पनि तयारी नपुग्ने बताए । ‘त्यो अवधिमा पनि नसकिने लगभग निश्चित जस्तै छ । सुरुदेखि नै समाधान गर्ने भनिएका समस्या ज्यूँकात्यूँ छन् । एयर रुटकै विषय पनि छ, कुन कुन एयरलाइन्स आउँछन्, नियमित उडान कसरी हुन्छ, भन्ने पनि ठ्याक्कै भन्न सकिने स्थिति छैन,’ मुल्मी भन्छन् ।
अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अहिले भइरहेको पोखरा विमानस्थलबाट पनि कर्मचारी सारिने छ । आयोजना र प्राधिकरणले आफ्नो तर्फबाट गर्नुपर्ने काम सकिइसकेको गौतमको भनाइ छ ।

