काठमाडौं । रामेछाप जिल्लाकै नमूना विद्यालयको रुपमा पहिचान बनाएको मन्थली माध्यामिक बिद्यालयमा अध्यायपन गराउने एक शिक्षकले विद्यालयमा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनि फरार भएका छन् ।
तीन महिना अघि मात्र मन्थली माध्यामिक बिद्यालयमा विज्ञान विषय पढाउनका लागि नियुक्त भएका शिक्षक कैलाली घोडाघोडी गाउँपालिका निवासी लोकबहादुर विष्टले गलत नियतले ती छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले मन्थली माध्यामिक बिद्यालयमा विरोध जनाएसँगै उनी फरार भएका हुन् ।
होमवर्क बुझाउने बेलामा शिक्षकले गलत नियतले बारम्बार गोप्य अंगहरुमा छुनखोज्दा ती छात्राले प्रतिवाद गरेपनि घटना बाहिरिएको थियो । मन्थली माध्यामिक बिद्यालयका प्रधान अध्यापक टंक दाहालले शिक्षकले विद्यालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरीपछि आफूहरु शिक्षकको खोजीमा लागेको बताएका छन् । उनले जन प्रहार प्रतिनिधि संग भने,‘आरोप लागेका शिक्षक अहिले विद्यालयको सम्पर्कमा छैनन, हामी खोजी गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउन लागि परेका छौं ।
विद्यालयमा सदैब विद्यार्थीको चाहना र भावना अनुसार मात्र काम गर्दै आएको बताउदै उनले गलत नियतले छात्रामाथि गलत काम गरेको पाइएमा तत्काल कारवाही प्रक्रिया अघि बढाउने बताएका छन् । उनले भने,‘सम्पर्कमा नरहेका शिक्षकको खोजीको लागि हामीले जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी समेत दिइसकेका छौं ।
विद्यार्थीमाथि खेलवाड गर्ने कुनै पनि शिक्षकलाई विद्यालयले कुनै पनि बहानामा संरक्षण नगर्ने बताउदै गलत काम गर्नेलाई कानुन अनुसार दण्डको व्यवस्था गराउन भूमिका खेल्ने प्रधान अध्यापक दाहालले बताएका छन् ।
मन्थली माध्यामिक बिद्यालयको साथै शिक्षक विष्टले सीटीभिटीमा समेत पढाउदै आएका थिए । उक्त विद्यालयमा अध्ययनरत एक छाात्रामाथि पटक–पटक यौन र्दुूव्यवहार भएको विद्यार्थीले बताएका छन् । विद्यार्थीहरुले छात्रामाथि गलत नियतले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
स्रोतका अनुसार आरोप लागेका शिक्षकले भने विद्यालय प्रशासन समक्ष आफूले यौन दुव्यवहार नगरेको दावी गर्दै घुँडा दुखेको कारण दुई विद्यार्थीको हात मात्र समातेको दावी गरेका छन् । स्रोतका अनुसार विद्यालयमा विद्यार्थीले प्रदर्शन सुरु गरेपनि उनी भने काठमाडौं पुगेका छन् ।
