Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धर्मदेखि औषधिसम्म यसरी उपयोगी बनेको छ सर्प !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १७ २०७९
  • 4.5K
    SHARES

नेपाली हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको विशेष पूजा हुन्छ।

भगवान् विष्णु शेषनागको शय्यामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ। साथै समुद्र मन्थन गर्दा वासुकीनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ।

प्रकृतिमा सर्पको विशेष महत्त्व रहेको आधुनिक वैज्ञानिकहरूले औँल्याएका छन्।

यही सन्दर्भमा जीवशास्त्री करनबहादुर शाहले बीबीसी संवाददाता फणीन्द्र दाहालसँगको कुराकानीमा सर्प कसरी मानवजातिका लागि उपयोगी र महत्त्वपूर्ण छ भन्ने बताए।

  • नेपालमा ८० प्रजाति

संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन्।

नेपालमा अहिलेसम्म ८० प्रजातिका सर्पहरू फेला परेका छन्। तर पर्याप्त अध्ययन भए नेपालमा पाइने सर्पका प्रजाति लगभग डेढ सय पुग्न सक्छ।

सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।

अनि मान्छेको ज्यान जोगाउने महत्त्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन्।

  • आहाराचक्रको सन्तुलन

सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो।

अहिलेसम्म कुनै पनि शाकाहारी सर्प छैनन्। यिनीहरूले अरू जीवजन्तुलाई जिउँदै मारेर खाने गर्छन्।

प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पले भूमिका खेल्छन्।

उदाहरणका लागि मानिसहरूले बारीमा लगाएको अन्न वा घरमा भण्डारण गरेको अन्न वा फलफूलको ठूलो भाग नाश गर्ने मुसा।

सर्प

वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन्। एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन्।

मुसाको नियन्त्रणमा सर्पले धेरै ठूलो भूमिका खेलेको हुन्छ। धेरै सर्पको मुख्य आहारा मुसा हो।

दुलोबाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी खोजी मुसाहरू मार्छ।

  • सर्पको आहारा सर्प

सानोमा भ्यागुतादेखि लिएर ठूलोमा बँदेल र चित्तलसम्मलाई अजिङ्गर सर्पले खाने गर्छन्।

सर्पले नखाने जीव नै छैन। सर्पले सर्प नै खाने पनि हुन्छ।

राजगोमन भन्ने सर्पको मुख्य आहारा नै सर्प हो। काठमाण्डूमा नै आठ-नौ ठाउँमा राजगोमन देखिइसकेको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ,राजगोमनलाई कसरी चिन्ने?

सर्प आफूपनि अरू जीवजन्तुको आहारा बन्छ। थुप्रै चराहरूले सर्प खान्छन्।

चील, लाटोकोसेरो, मयूर, जङ्गली बिरालो र कस्तुरी मृगहरूले सर्प खान्छन्। मरेको सर्प गिद्ध र स्यालले पनि खान्छ।

  • आधुनिक उपचारमा सर्पको विष

हाम्रो आधुनिक उपचारपद्धतिमा पनि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका र थोरैमात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्छन्।

सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी-स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ।

क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ। पहिला मोर्फिन भन्ने अफिमबाट बनेको औषधि क्यान्सर र ट्यूमरबाट हुने दुखाइ कम गर्न प्रयोग गरिन्थ्यो। त्यो दम भएको बिरामीलाई दिनुहुँदैन। अहिले गोमन सर्पको विषबाट कोब्रोक्सिन भन्ने औषधि बनेको छ। त्यसले दुखाइ कम गर्छ।

शरीरबाट रगत बाहिर निस्कँदा वा शरीरमा रगत जम्दा उपचारमा प्रयोग गरिने ओखती पनि सर्पको विषबाट बन्छ। ‍

  • परम्परागत उपचारमा सर्पको प्रयोग
सर्प

हाम्रो परम्परागत आयुर्वेदिक र होमियोपेथिक उपचारपद्धतिमा सर्पका विभिन्न अङ्गहरूको विशेष महत्त्व छ।

सर्पको बोसो, काँचुली र रगत अनि विषसमेत आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ।

विषबाट हैजा नियन्त्रण गर्ने औषधि बनाइन्छ। गाउँघरतिर सर्पका विभिन्न अङ्गहरूबाट २० देखि २२ वटा औषधि बनाएको थाहा छ।

बाली पाक्दै गरेको खेतमा काँचुली जलायो भन्ने बालीमा रोग लाग्दैन भन्ने विश्वास पाइन्छ।

हैजा भएको गाईबस्तुको गोठमा काँचुली बाल्यो भने अरू जनवारहरूलाई त्यो सर्दैन भन्ने मान्यता छ।

बूढापाकाले पुराना ग्रन्थहरूको बीचमा सर्पको काँचुलीको टुक्रा राख्ने गर्थे त्यसका कारण कीरा लाग्दैन भन्ने विश्वास हो। यी वैज्ञानिक रूपमा प्रमाणित भएको कुरा भने होइन।

  • वैज्ञानिक अनुसन्धानमा महत्त्व

प्रयोगशालामा सर्पलाई पाल्न एकदमै सजिलो छ।

यिनीहरूले धेरै ठाउँ पनि ओगट्दैनन् र दैनिक आहारा पनि खुवाउनुपर्दैन।

एक चोटि खुवाएपछि १५ दिनदेखि एक महिनासम्म खुवाउनुपर्दैन। त्यसैले विभिन्न अनुसन्धानका लागि प्रयोगशालामा सर्पहरूको ठूलो प्रयोग हुन्छ।

  • आम्दानीको स्रोत

सर्पको छालाको रङ्ग र त्यसमा रहेका बुट्टाहरूको पनि ठूलो महत्त्व छ।

जापानसहित कतिपय देशमा पोसाक डिजाइनरहरूले ती रङ्ग र चित्रलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्छन्।

नाग

तस्बिर स्रोत,RSS

विगतमा सपेराहरूले सर्प प्रदर्शन गर्दै आयआर्जनका पनि गर्थे। उनीहरूले सर्प पाल्थे र ठाउँठाउँमा लगेर घुमाउँथे।

अहिले नियमकानुनले गरेर त्यसो गर्न मिल्दैन तर सर्प पालेर अनुसन्धानमा प्रयोग गर्ने कामहरू भएका देखिन्छन्। त्यसले पनि कतिपय मानिसहरूलाई रोजगारी दिएको छ।

  • धार्मिक महत्त्व

शताब्दियौँदेखि हामीले सर्पको पूजा गरिरहेका छौँ।

नागपञ्चमी मनाएर सर्पको पूजा गर्नुको अर्थ हामीले सर्पले हामीलाई फाइदा गर्छ भनेर मानेको हो।

दुष्ट काम नलाग्ने भएको भए त्यसको पूजा गरिँदैन थियो।

सर्पहरू हामीलाई कामलाग्ने मित्र हुन यिनीहरू पूजनीय हुन, यिनीहरूलाई हामीले जोगाउनुपर्छ भनेर पूजा गर्न थालिएको हो।

हिन्दू र बौद्ध दुवै धर्ममा सर्पसँग जोडिएका धेरै कथाहरू छन् र सर्पको धेरै महत्त्व भएको चर्चा सुनिन्छ।

  • नेपालमा सर्पको अनुसन्धान बाँकी
भिडिओ क्याप्शन सुरु हुँदैछ,जसले घाइते सर्पको उपचार गर्छन्

नेपालमा पाइने सबै प्रकृतिका सर्पहरू पत्ता लागेको छैनन्।

छिमेकी भारतमा तीन सय प्रजातिका सर्प पत्ता लागिसक्यो, चीनमा दुई सय ५० भन्दा धेरै प्रजातिका सर्प छन्।

हाम्रो हावापानी र भूबनोट जम्मै मिल्ने भएकाले नेपालमा पनि बढी हुनुपर्ने हो।

हात्ती, बाघ वा गैँडा जसरी सर्प गन्ने काम भएको छैन। नगण्य लगानी छ। राम्रोसँग अध्ययन गर्ने हो भने नेपालमा डेढ सय प्रजातिका सर्पहरू सजिलै फेला पार्न सकिन्छ।

  • आगो र सर्प उस्तै

आगो र सर्प उस्तै हुन्।

कतिपय मानिसहरु सर्प भन्ने बित्तिकै डराउने वा घृणा गर्ने गरेको पाइन्छ।

आगोलाई राम्रोसँग प्रयोग गर्न जानेन भने त्यो विध्वंसकारी हुन्छ।

सर्पलाई हानिनोक्सानी पुर्‍याएन भने तिनीहरूले केही गर्दैनन्। खतरा महसुस नगरेसम्म सर्पले आक्रमण गर्दैनन्।

सर्पका १५ प्रतिशत भन्दा कम प्रजाति विषालु छन्। विषालु सर्पमध्ये पनि अतिविषालु र कम विषालु प्रजातिका सर्प छन्।

कम विषालु सर्पले टोक्यो भने दुख्छ, सुनिन्छ तर मान्छे मर्दैन।

तर अति विषालु सर्पले टोक्यो र विष शरीरभित्र छिर्‍यो भने मानिसको मृत्यु हुने हो।

नेपालमा हालसम्म फेला परेका ८१ प्रजातिका सर्प मध्ये १८ प्रजातिका सर्प विषालु छन्। गोमन, करेत, मुगा सर्प र रुसी भाइपर चार प्रकृतिका सर्पहरू अति विषालु हुन्छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४