प्रदेश–१ को नामकरणको आधार : पहिचान कि भूगोल ?
विराटनगर । प्रदेश १ को चालू अधिवेशनबाट प्रदेशको नाम राख्न सबै दल सहमत छन् । संसदको पहिलो कार्यकालको उत्तरार्धमा आएर दलहरु सहमत भए पनि नामको विषयमा भने किचलो कायमै छ । भूगोलका आधारमा नाम राख्ने कि पहिचानका आधारमा भन्ने विषयमा किचलो बढेको हो ।
‘चालु अधिवेशनबाट नाम राख्न सबै दलहरु तयार छन्, हामीले सबैसँग एक चरण छलफल पनि गर्यौं,’ नेकपा एमाले नेता तथा प्रदेश सांसद जीवन घिमिरे भन्छन्,‘नामका विषयमा भने दलहरुबीच एकमत छैन ।’
चार वर्षको अवधिमा प्रदेशले तीन जना मुख्यमन्त्री पाएको छ । संसदको अन्तिम अधिवेशनमा मात्रै दलहरु नाम राख्न अग्रसर भएका हुन् ।
नेपाली कांग्रेस भित्र भने भूगोलका आधारमा नाम राख्नुपर्ने जमात ठूलो छ । कांग्रेसमा जस्तै प्रदेशको ठूलो दल नेकपा एमाले भित्र पनि पहिचान मात्र नभएर भूगोल र पहिचानलाई जोडेर नाम राख्नु पर्ने आवाज छ ।

कांग्रेस एमाले एक ठाउँमा उभिए नाम पास हुने एमाले सांसद घिमिरे बताउँछन् । पूर्व मुख्यमन्त्री राई नामांकनका विषयमा सबै दल एकठाउमा उभिन नसके पनि कांग्रेस एमाले एक ठाउँमा उभिनुपर्ने बताउँछन् ।
९० जना प्रदेश सभा सदस्यरहेको प्रदेश १ मा नाम दुई तिहाइले पारित गर्दा कांग्रेस एमालेलाई तीन मत कम हुन्छ । प्रदेश १ मा एमालेसँग ३९, नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक–एक सांसद छन् ।
एमाले नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राई प्रदेशको नाम एउटै शब्दको हुने बताउँछन् । ‘पहिचान वा भूगोल जे भए पनि एउटा शब्दको नाम रहन्छ,’ उनी भन्छन्, ‘जारी अधिवेशनबाट नाम टुंगो लगाउन हामी तयार छौं ।

बिराटनगर नै तोकियो प्रदेश १ को स्थायी राजधानी, नाम अझै टुंगिएन
प्रदेशको राजधानीको मात्रै टुंगो लगाउन सकेका उनी नाम राख्न नपाएकोमा आफूलाई अफसोस लागेको बताउँछन् । पहिचान वा भूगोल दुवैका आधारमा छलफलका लागि एमाले खुला रहेका उनी बताउँछन् ।
नेपाली कांग्रेस भित्र पनि प्रदेशको नाम कोशी राख्नुपर्ने पक्षमा सांसदहरु छन् । कांग्रेसले नामको विषयमा छलफल गर्न संसदीय दलका नेता राजीव कोइरालालाई जिम्मेवारी दिएको छ । ‘दलहरुले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउनुपर्छ भन्नेमा नेपाली कांग्रेस प्रतिबद्ध छ,’ आइतबारको प्रदेशसभाको बैठकमा उनले भने, ‘प्रदेशमा अहिलेसम्म आएका नाम के के हुन् ? मोइ माग्ने ढुङ्ग्रो लुकाउने जस्ता विषयहरु छन् यहाँ ।’
कोइरालाले नाम टुंगो लगाउन पार्टी तत्पर रहेको बताए । ‘बजेट छलफलपछि प्रदेशको नाम टुङ्ग्याउ,’ उनले भने, ‘केही गर्न सकिएन भने एक नम्बर प्रदेश राख्दा पनि भइगयो ।’ उनले कोशी, कोशी किरात, सगरमाथा, चोमोलुङ्मालगायतका नामका विषयमा छलफल गरेर टुंगोमा पुग्नुपर्ने बताए ।
शनिबार नेकपा एकीकृत समाजवादी मोरङले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सहमतिका आधारमा नामको टुंगो लगाउन नसके मतदान प्रकृयाबाट नाम टुंगो लगाउने बताएका छन् ।
