काठमाडौँ । जग्गाधनीकाे मृत्यु प्रमाणपत्र बनाई काठमाडाैँस्थित कीर्तपुरमा रहेकाे जग्गा बेच्ने ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
हाल जापानमा बसिरहेका ती जग्गाधनीकाे नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाई जग्गा बेचेकाे । आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।
२०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जन प्रहारलाई जानकारी दिए ।
आरोपितहरूले शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर नक्कली श्रीमान खडा गरी जग्गा बिक्री गरेको पाइएको प्रहरीले जनाएकाे छ ।
सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेपछि उनी प्रहरीकाेमा पुगेकी थिइन् ।
