दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-१ की ४५ वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरेको भनिएका मुख्य आरोपित सोही ठाउँका भोजराज खडायतलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत खडायतलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार प्रतिवादी खडायतलाई बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको शव फेला परेको थियो ।
यसरी भयो हत्या
भोजराजले ती महिलालाई घरबाट बोलाएर बारीमा लगे । त्यहाँ करणी गर्ने विषयमा उनीहरूबीच विवाद भयो । विवादका क्रममा उनले महिलालाई ढुङ्गा हाने । त्यसपछि घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखिन् ।
भोजराज आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत प्रहरीले बरामद गरेको छ ।
उनी उपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड हुन् । मृतकसँग उनको नाता गाउँले देवर-भाउजूको रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा टाउकोमा चोट रही खरको थुप्रोमा जलेको महिलाको शव, चप्पल, पुरुषले प्रयोग गर्ने कट्टु, रगत जस्तो रातो पदार्थ लागेको ढुङ्गा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटना एक्लैले गरेको भनीभोजराज खडायतले प्रहरीसँग स्वीकार गरेका छन् ।
यद्यपि प्रहरीले अनुसन्धानका लागि भन्दै छिमेकी विरेन्द्र खडायत र तुला खडायतलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई खडायतलाई बैतडीको दोगाडाकेदार गाउँपालिका वडा नं ३ खोचलेकबाट २६ गते पक्राउ गरेको थियो ।
- सम्बन्धित समाचार
दार्चुलामा आगो लगाएर एकल महिलाकाे हत्या
दार्चुला महिला हत्या प्रकरण : मुख्य आरोपित पनि समातिए

धनगढी । दार्चुलाकाे शैल्यशिखर नगरपालिका १ बारिलमा आगो लगाएर एकल महिलाकाे हत्या भएकाे छ ।
घर नजिकैको खरको लुटोमा आगो लगाएर ४० वर्षीया अनिभा खडायतको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टका अनुसार घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।
खडायतकाे शव डढेको अवस्थामा मंगलबार राति फेला परेपछि आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताए ।
घटनापछि प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ । मृतकका दुई छोरी र एक छोरा छन् । उनका श्रीमानकाे केही वर्ष पहिले नै निधन भएकाे थियाे ।
धनगढी । दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपितलाई पनि समातेको छ । मुख्य आरोपित शैल्यशिखर नगरपालिका-१ कै ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
बुधबार बिहान शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव खरले जलाइएको अवस्थामा फेला परेको थियो । उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन । उनीहरूलाई पक्राउ गरेपछि सोधपुछको काम भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
मृतक खडायतका श्रीमान् ७/८ वर्षअघि नै बितेका थिए । बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
