Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्डक्सन चुलो : कुन ब्राण्डको कति पर्छ मूल्य ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १६ २०७९
  • 8.3K
    SHARES

काठमाडौं । महंगी दिन प्रतिदिन बढ्दो छ । सामान्य गृहिणीलाई घरखर्च चलाउन कठिन हुँदै गएको छ । खानेतेलदेखि खाना पकाउने ग्याससम्मको मूल्य बढ्दा उपभोक्ता नराम्ररी आत्तिएका छन् ।

यस्तो अवस्थामा कसरी खर्च कटौती गर्ने ? कसरी घरव्यवहार धान्ने ? विकल्प खोज्न थालिएको छ । अहिले धेरैले ग्यास चुलोको ठाउँमा इन्डक्सन चुलोमा खाना पकाउन थालेका छन् । काठमाडौं कपन निवासी रामप्रसाद लुइँटेलको कुरा गरौं । विगतमा उनको भान्सामा एक सिलिन्डर ग्यास खपत हुन्थ्यो । अहिले उनको भान्सामा इन्डक्सन चुलो छ । ‘सस्तो र सजिलो रहेछ,’ उनी सुनाउँछन्, ‘ग्यास बाल्नुभन्दा इन्डक्सन चुलो प्रयोग गर्न ठीक लाग्यो ।’

प्रा. डा. जगननाथ श्रेष्ठका अनुसार ग्यासको तुलनामा विद्युतीय चुलो ४० प्रतिशत सस्तो पर्न आउँछ । ‘बजारमा पाइने इन्डक्सनहरू एकमुखे मात्र हुन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ दुईवटा चुलोमा एकसाथ खानेकुरा पकाउने चलन छ । त्यसैले इन्डक्सनमा पकाउन अल्छी गर्छन् । तर इन्डक्सन चुलो निकै राम्रो विकल्प हो ।’

धेरै जनालाई विद्युतीय चुलो भन्ने बित्तिकै सबै एकै प्रकारको हुन्छ भन्ने पनि लाग्न सक्छ । तर विद्युतीय चुलो मुख्यतया इन्डक्सन र इन्फ्रारेड दुई प्रकारको हुने सिटी इलेक्ट्रोनिक्सका सञ्चालक अर्जुन प्रधान बताउँछन् ।

इन्डक्सन र इन्फ्रारेडमा के फरक छ ?

इन्फ्रारेड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि यसको काम गर्ने शैली भने फरक हुन्छ । यसमा ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरेर खाना पकाउन सकिन्छ ।

इन्डक्सनको तुलनामा यो चुलो अलि महंगो हुने भएकाले र यसले हिटरको जस्तो काम गर्ने भएकाले बजारमा यसको माग र बिक्री कम हुने स्मार्ट फ्यामिली होम अप्लायन्सेसका सञ्चालक सनिश गोतामेले बताए ।

इन्डक्सन चुलोमा ताप सबैतिर समान रूपमा जाने भएकाले ग्यासको तुलनामा यो चुलोमा छिटो खाना पाक्छ । तर इन्डक्सनमा प्रयोग गरिने भाँडा इन्डक्सन बेस नै हुनुपर्छ । बजारमा इन्डक्सन चुलोमा प्रयोग हुने कुकर, कराही र प्यान उपलब्ध छन् ।

ब्रान्ड

अहिले नेपालमा विभिन्न ब्रान्डको इन्डक्सन र इन्फ्रारेडहरू उपलब्ध छ । बाल्ट्रा, सीजी, फिलिप्स, बजाज, मिडिया लगायत कम्पनीका चिनियाँ, नेपाली र भारतीय ब्रान्डका इन्डक्सन चुलो नेपाली बजारमा पाउन सकिन्छ ।

विभिन्न ब्रान्डको इन्डक्सन र इन्फ्रारेड चुलो नेपाली बजारमा उपलब्ध भए पनि एकदमै रुचाइएको ब्रान्ड बाल्ट्रा भएको सिटी इलेक्ट्रोनिक्सका प्रधान बताउँछन् । ‘मेरो पसलमा नेपाली ब्रान्ड ओमेगाको पनि इन्डक्सन बिक्रीमा राखिएको छ, तर धेरै बिक्री हुने भनेको बाल्ट्रा नै हो ।’

मूल्य

बाल्ट्रा इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ४५ सय रुपैयाँसम्म छ । बाल्ट्रा इन्फ्रारेडको भने ४ हजार ९७५ देखि ९ हजार ९०० रुपैयाँसम्म पर्न जान्छ ।

सीजी डिजिटलको इन्डक्सनको मूल्य ४ हजारदेखि १० हजार रुपैयाँसम्म छ । सीजी इन्फ्रारेड चुलोको मूल्य भने ४ हजार ७ सय देखि ७ हजार ६ सयसम्म पर्छ ।

ओमेगा नेपाली इन्डक्सनको मूल्य भने ४ हजार हो । र, मिडिया चिनियाँ ब्रान्डको इन्डक्सनको मूल्य पनि ४ हजार जति नै पर्न आउँछ ।

फिलिप्सको इन्डक्सन चुलोलाई ७ हजार ५०० र बजाजको ७ हजार ४०० रुपैयाँ पर्छ ।

क्षमता

साधारणतया इन्डक्सन तथा इन्फ्रारेड चुलोहरू १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । तर धेरै चुलो २ हजार वाट क्षमताका हुन्छन् । कुनैकुनै इन्डक्सन र इन्फ्रारेड भने २२ सय वाटभन्दा माथि पनि हुन्छन् ।

फङ्सन  

इन्डक्सन र इन्फ्रारेड दुवैमा प्रायः एउटै फङ्सन हुने प्रधान बताउँछन् । ‘इन्फ्रारेड र इन्डक्सन दुवैमा पुस बटन र टच बटन दुई प्रकारको फङ्सन हुन्छ । पुस बटनको मूल्य अलि कम पर्न भने टच बटनको मूल्य बढी कम पर्छ ।’

इन्डक्सनको मूल्य अनुसार फङ्सन फरकफरक हुन्छ । कुनै टच बटनवाला हुन्छ भने कुनै पुस बटन, कुनै अलि ठूलो साइजको हुन्छ भने कुनै अलि सानो साइजको हुने बाल्ट्रा इलेक्ट्रोनिक्सका आधिकारिक बिक्रेता धिरज न्यौपाने बताउँछन्  । ‘इन्डक्सनमा प्रि–सेटिङ गर्ने फङ्सन पनि हुन्छ, उमाल्ने र फ्राइ गर्ने सेटिङ गर्न मिल्छ ।’

त्यस्तै इन्डक्सनमा डिप फ्राइ, प्रेसर कुकर र कडी लगायतका फङ्सन हुन्छन् भने इन्फ्रारेड भने कुनै फङ्सन नहुने स्मार्ट फ्यामिली होम अप्लायन्सेसका गोतामेले बताए ।

भाँडाकुँडा कस्तो प्रयोग गर्ने ?

इन्डक्सन चुलोमा इन्डक्सन बेस भाँडा प्रयोग गर्नुपर्छ । तर इन्फ्रारेडमा जस्तोसुकै भाँडा प्रयोग गर्न मिल्छ । इन्डक्सनमा प्रयोग हुने भाँडाकुँडा इन्डक्सन बेस भएको नै हुन्छ । धेरैलाई एउटा भ्रम पनि छ । सबै भाँडा प्रयोग गर्न मिल्ने इन्डक्सन भनिरहेका हुन्छन् । सबै भाडा प्रयोग हुने इन्डक्सन नभएर इन्फ्रारेड भएको प्रधान बताउँछन् ।

इन्फ्रारेड र इन्डक्सनमा कुन बढी उपयोगी ?

इन्डक्सनको तुलनामा इन्फ्रारेडमा बढी बिजुली खपत हुने भएकोले इन्फ्रारेड चुलो भन्दा इन्डक्सन नै बढी उपयोगी हुने बाल्ट्राका न्यौपाने सुझाउँछन् ।

‘इन्डक्सनमा कम बिजुली खपत हुन्छ भने इन्डक्सनको तुलनामा इन्फ्रारेडमा बढी बिजुली खपत हुन्छ । तर इन्डक्सनमा इन्डक्सन बेस भाँडा मात्र प्रयोग गर्न मिल्छ भने इन्फ्रारेडमा सबै प्रकारको भाँडा प्रयोग गर्न मिल्छ,’ उनी भन्छन्, ‘दुवैको आ–आफ्नो विशेषता भएकोले कस्टुमरहरुले आवश्यकता अनुसारको विद्युतीय चुलो रोज्न सक्छन् ।’

विद्युतीय चुलोप्रति आकर्षण बढाउन के गर्ने ?

प्रा. डा. श्रेष्ठका अनुसार ग्यासको तुलनामा विद्युतीय चुलोमा खाना पकाउँदा ४० प्रतिशतसम्म सस्तो पर्न आउँछ । बजारमा पाइने इन्डक्सन एकमुखे मात्र हुन्छ । तर नेपालीहरूको बानी भात, दाल एकैपटक दुईतिर पकाउने बानी हुन्छ, इन्डक्सनमा एक पटकमा एउटा कुरा मात्र पकाउन मिल्ने भएकाले पनि यो धेरैको रोजाइमा पर्न सकेको छैन । तर आजभोलि बजारमा दुईमुखे इन्डक्सन पनि आउन थालेका छन् ।

विद्युतीय चुलोको प्रयोग कम हुनुको अर्को कारण भनेको विद्युत आपूर्ति हो ।  बिहान बेलुका खाना पकाउने समयमा १० मिनेट मात्र बत्ती गयो भने पनि खाना बिग्रन्छ ।

श्रेष्ठ भन्छन्, ‘नेपालभर एक दिनमा एक लाख सिलिन्डर एलपीजी ग्यास खपत हुन्छ । ग्यासलाई विस्थापित गर्ने हो भने नेपालको विद्युतीय सप्लाई गुणस्तरीय बनाउनुपर्छ । अनि मात्र विद्युतीय चुलोको खपत बढ्दै जान्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४