Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरको मेयर जितेका स्वतन्त्र उम्मेदवार साहले भने : म कांग्रेस नै हुँ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 5.7K
    SHARES

जनकपुरधाम । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार नेपाली कांग्रेसकै विजय र्‍यालीमा सहभागी भए ।

उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्‍यालीको अग्रपंक्तिमा थिए ।

कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको स्वतन्त्र उम्मेदवार बनेका साह बुधबार कांग्रेसले नै आयोजना गरेको र्‍यालीमा सहभागी हुँदा धेरैले आश्चर्य माने ।

तर साह भने आफू कांग्रेस नै भएको र कांग्रेसले नै मतदान गरेर जिताएका कारण र्‍यालीमा सहभागी भएको बताउँछन् । ‘मलाई कांग्रेसीले नै जिताएको हो । उनीहरुप्रति आभार प्रकट गर्न कांग्रेसकै विजयी जुलुसमा सहभागी भएको हुँ’ साहले भने ।

सभापति भएपछि आफैंले उपमहानगरपालिकाको वडास्तरमा संगठन बनाएको र सबै वडाका सभापतिको समर्थनमा आफू मेयरको उम्मेदवार भएको भन्दै साहले जन प्रहारलाई भने, ‘उनीहरुप्रति आभार त प्रकट गर्नुपर्‍यो नि !’

उनी अघि भन्छन्, ‘म मेयर बनेँ तर कांग्रेसको सहयोग बिना चल्न सक्दिनँ ।’ आफूले दिएको राजीनामा स्वीकृत गरे पनि नगरे पनि आफू कांग्रेस नै भएको उनको भनाइ छ

आफूले कांग्रेसबाट कुनै बिद्रोह नगरेको भन्दै साहले कांग्रेसमा फर्किन सक्ने पनि बताए । ‘यसबारे साथीहरुसँग सल्लाह गरिरहेको छु’ उनी भन्छन्, ‘म कांग्रेस नै हुँ । तर कांग्रेस नेतृत्व डिप्लोमेटिक हुनुपर्छ ।’

निधि फ्याक्टरले गरेको काम

निर्वाचनको तीन दिनअघि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको एउटा भिडियो सार्वजनिक भएको थियो । उनले भिडियोमा जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवारहरुलाई जिताउन मतदातासँग आग्रह गरेका थिए ।

उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साह मेयर पदका उम्मेदवार थिए । तर निधिले गठबन्धनका उम्मेदवारलाई मत नमागीकन कांग्रेसका उम्मेदवारलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका थिए ।

भिडियोमा उनले भनेका थिए, ‘उपमेयरको पदमा मात्रै कांग्रेसको उम्मेदवार किशोरी साह छन् । २५ वटै वडामा वडाअध्यक्ष र सदस्यका उम्मेदवार छन् । त्यहाँ कुनै गठबन्धन छैन् । त्यसैले मतदातासँग गाछी छापमा मोहर लगाएर किशोरी साहसहितका नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु ।’

उनले जनकपुरधामको आफ्नै क्रान्तिकारी परम्परा र इतिहास रहेको भन्दै सबै कांग्रेसीलाई निर्वाचित गराएर परम्परालाई कायम राख्न आग्रह गरेका थिए ।

सार्वजनिक रुपमै भिडियो बनाएर कांग्रेसका उम्मेदवारलाई मात्रै मत दिन भन्नुको मतलव गठबन्धनका मेयरका उम्मेदवारलाई मत दिन नहुने आशय देखिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका साह निधि निकट मानिन्छन् । निधि निकट रहेका कांग्रेस धनुषाका सभापति योगनारायण पजियार, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव पनि निधि निकट नै मानिन्छन् ।

यी सबैको भरोसामै मनोजले पहिला नै चुनाव जित्ने दावी गरिसकेका थिए । निर्वाचनको तीन दिनअघि उनीसँग कुरा गर्दा मनोजले जनताले आफूलाई मोहर मारिसकेको र औपचारिकता मात्रै पूरा हुने बताएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर उम्मेदवार जसपालाई दिन सहमति जनाएपछि नेता निधि रुष्ट बनेका थिए ।

उनले मधेशमा कांग्रेस सकाउन लागेको भन्दै टिप्पणी गरेका थिए भने सत्तारुढ गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा सहभागी समेत भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४