Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केशव स्थापितको अभिव्यक्ति : सार्वजनिक मञ्चबाटै महिलामाथि हिंसा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १६ २०७९
  • 6.8K
    SHARES

आपत्तिजनक अभिव्यक्ति दिएका केशब  स्थापितको सर्वत्र आलोचना भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ उल्टै उनको बचाउमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिबाटै पनि महिला हिंसाका विषयमा एमाले नेतृत्व कति असंवेदनशील छ भन्ने कुराको स्पष्टै हुन्छ ।


काठमाडौं । बिहीबार धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा केशव स्थापितलाई एक जना सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न खोजिन् ।

प्रश्न राख्नुअघि सञ्चालकले सहजीकरण गर्दै भने, ‘हुन त आज सकेसम्म उम्मेदवारलाई निजी प्रश्न नसोध्नु भनेका थियौं, तर यो प्रश्न रोक्न सकिने खालको छैन ।’ यति भनिसक्दा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनाइएका स्थापित आफैं अघि सरेर बोले, ‘मेयरको उम्मेदवारलाई २४ घन्टा प्रश्न सोध्न पाइँदैन भन्नै भएन, रुल ओभर रुल्ड, आई ह्याब टु एन्सर ।’

तर सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिएका छन् ।

उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।

स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी एवं विश्लेषक सरिता तिवारी बताउँछिन् ।

‘सुरुमा उनले आवेगमा प्रश्नकर्तामाथि प्रश्न उठाए होला, तर पछि फेरि वेश्यावृत्ति गर्छौं भनेर निकालिदिउँ भनेर भन्नुले उनमा कुन हदसम्मको हिंसात्मक चिन्तन छ भन्ने देखिन्छ’ उनले जन प्रहारलाई भनिन्, ‘यस्तो मान्छेलाई निर्वाचन आयोगले पनि उम्मेदवार बनिरहन दिन्छ भने त्यो आयोगको पनि गल्ती हुन्छ, यो विषयमा सबैले जबरजस्तरुपमा प्रश्न उठाउन जरुरी छ ।’

स्थापितलाई बिझाएको प्रश्न

कार्यक्रममा सहभागी विवेकशील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाका अनुसार छलफलमा सुरुमा एकै प्रश्न सबै उम्मेवारलाई सोधिएको थियो । कार्यक्रमको अन्त्यतिर सहभागीहरुलाई प्रश्नोत्तरका लागि समय छुट्याइएको थियो, त्यतिबेला सोधिएको एउटा प्रश्नमा स्थापित उत्तेजित भएका हुन् ।

कार्यक्रममा सहभागी भावना राउतले स्थापितलाई सोधेकी थिइन्ः

मेरो प्रश्न केशव स्थापित सरलाई,

विगतमा महागनर यस्तो चलाएको भन्नु भयो, तर तपाईंको विगतमा गएर हेर्दा तपाईंलाई दुई जना महिलाले मिटुको आरोप पनि लगाएका छन् । मैले तपाईंको रवि लामिछानेसँगको अन्तरर्वार्ता हेर्दा भोलिपल्टको दिनमा प्रमाणसहित आउँछ भन्नु भएको थियो ।

मलाई सबैभन्दा खड्किरहेको कुरा चाहिँ के हो भने तपाईंले भोलि मेयर जितेको अवस्थामा तपाईंको अफिस जानलाई म सुरक्षित हुन्छु कि हुँदिन ? अथवा तपाईंकै उपमेयर सुनिताजी सुरक्षित हुनुहुन्छ कि हुनुहुँदैन, अथवा तपाईंकै उपमेयर सुरक्षित हुनुहुन्छ कि हुँदैन ? अनि, आज यहाँ हामीलाई तपाईंको एक्सपेलेसन (स्पष्टीकरण) चाहिएको होइन, एकाउन्टेबिलिटी (जवाफदेहिता) चाहिएको हो ।

गल्ती भएको हो भने त्यो अपराध हो । अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि भएको होइन भने तपाईं मेयरको उम्मेवादर हो । हामी सबैको भोट तपाईंलाई चाहिन्छ र जित्छु भन्ने अपेक्षा राख्नुहुन्छ भने चाहिँ त्यसलाई स्पष्ट गर्नुपर्छ । अब होइन, यसमा नगरौं, यसमा नबोलौं भनेर भएन । किनभने, महिला नै तपाईंको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनु होला । यो तपाईंलाई सुहाउँदा पनि सुहाउँदैन ।

राउतले यी विषयलाई सम्बोधन गर्न नसक्ने हो भने स्थापितलाई कुर्सीमा बसिराख्ने नैतिकता नभएको पनि बताइन् । उनले भनिन्, ‘तपाईंले अपराध गरेको हो कि होइन, होइन भने प्रमाणसहित आउनुस्, नत्र कुर्सी छाडेर जानुस् ।’

राउतले स्थापितलाई मात्र महिला हिंसाबारे प्रश्न सोधिनन् । उनले स्वतन्त्र उम्मेवार बालेन्द्र शाह (बालेन) लाई पनि पुराना र्‍याप गीत महिलाप्रति असंवेदनशील भएर गाएको भन्दै प्रश्न सोधिन् । साथै, उनले माफी माग्न पनि भनेकी थिइन् ।

उनले बालेनलाई भनेकी थिइन्, ‘विगतमा मैले तपाईंका गीत सुनेको छु, र्‍यापहरु हेरेको छु, त्यसमा महिलालाई कुन चाहिँ दर्जामा राख्नु भएको छ भनेर पनि देखेको छु । आज तपाईंले पब्लिक स्पेसमा आएर बाल्दै गर्दा यी सबै महिला भोटरहरुसँग माफी माग्ने कि नमाग्ने ? उनीहरुलाई फेरि म यस्तो गर्दिनँ भनेर भन्ने कि नभन्ने ।’

राउतले सोधेको प्रश्नमा बालेनले स्पष्टीकरण त दिए तर माफी चाँहि मागेनन् । अन्यत्र पनि त्यसरी र्‍याप गाउने चलन रहेको भन्दै बचाउ गरे । ‘स्थापितले पनि सामान्यरुपमा लिएर स्पष्टीकरण दिनु भएको भए, यति धेरै हुने थिएन’ प्रश्नकर्ता राउतले जन प्रहारलाई भनिन्, ‘मैले उत्तर मात्र खोजेकी थिएँ, उहाँलाई पनि स्पष्टीकरण दिने मौका थियो, तर उहाँले नै महौल विगार्नुभयो ।’

केशव स्थापित र बालेन्द्र शाह ।

उनले स्थापितप्रति आफ्नो कुनै नियत नभएको र सार्वजनिक सरोकारको प्रश्न मात्र राखेको बताइन् । ‘मैले आरोप लगाएको होइन, प्रश्न सोधेको हो । प्रश्न सोध्ने हक सबैको हुन्छ’ राउत भन्छिन्, ‘मैले प्रश्न सोध्दा यत्रो हंगामा होला भन्ने सोचेकै थिइनँ, भोलिका दिनमा उहाँमाथि फेरि यो प्रश्न नफर्कियोस् भनेरै मैले सोधेकी थिएँ ।’ तर मेयरको उम्मेदवार जस्तो व्यक्तिले दिएको अभिव्यक्तिले आफ्नो चित्त दुखेको उनले बताइन् ।

लेखक रिता साह स्थापितले कार्यक्रममा दिएको अभिव्यक्तिले उनी महिलाप्रति कति असंवेदनशील छन् भन्ने देखाउने बताउँछिन् । ‘आज उहाँ जसरी प्रस्तुत हुनु भयो, त्यो एकदमै नराम्रो कुरा हो’ साहले भनिन्, ‘सार्वजनिक जीवनका व्यक्तिले आफूमाथि कुनै पनि प्रश्न उठ्दा संयम भएर जवाफ दिनुपर्ने हो, तर उहाँको बोलाई लैंगिकरुपमा संवेदनशील भएन ।’

स्थापितले बोलेका शब्द सार्वजनिक पद धारण गरेको व्यक्तिलाई उच्चारण गर्न समेत नसुहाउने उनले बताइन् । ‘उहाँले कसरी बोल्नु भयो, यो महिलाहरुका लागि चुनौति हो भन्ने म मान्छु’ उनले भनिन्, ‘यो सबै पितृसत्तात्मक सोच र संरचनाको उपज हो ।’

विगतमा मिटुको आरोप लाग्दा समाज र राज्यले दिनुपर्ने सजाय नदिँदा वा जिम्मेवारीको घेरामा नल्याउँदा अहिले स्थापित जस्ता व्यक्तिले सार्वजनिक पदमा दाबेदारी गरिरहेको शाहको बुझाइ छ ।

केपी ओलीकै साथ

आपत्तिजनक अभिव्यक्ति दिएका स्थापितको सर्वत्र आलोचना भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ उल्टै स्थापितकै पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिबाटै पनि महिला हिंसाका विषयमा एमाले नेतृत्व कति असंवेदनशील छ स्पष्टै हुन्छ ।

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा उनले चुनावका बेला कुप्रचार गरेर स्थापितको चरित्र हत्या गर्न खोजिएको बताए ।

‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ?’ ओलीले भने, ‘हामी यस्ता कुराहरुमा होइन, महान उद्देश्यतर्फ अघि बढेका छौं ।’ ओलीको यो अभिव्यक्तिले सिंगो नेकपा एमाले पार्टीले नै महिलामाथि कस्तो दृष्टिकोण राख्छ भन्ने छर्लंग भएको विश्लेषक तिवारी बताउँछिन् ।

‘पहिलो कुरा हिजो उनलाई एमालेले नै मन्त्री पदबाट फिर्ता बोलाएको छ, आज उसैलाई उम्मेदवार बनाएर सार्वजनिक गर्नुले पनि एमालेको नियत छर्लंग हुन्छ’ तिवारीले भनिन्, ‘ओलीको अभिव्यक्तिले एमाले महिलालाई हिंसा हुँदा मुकदर्शक भएर बसिरहने पार्टी हो भन्ने सन्देश बाहिर जान्छ ।’

यस्ता उम्मेदवार निर्वाचित भएर गए पनि भोलि महिला, बालबालिका तथा किशोरीसँग जोडिएका मुद्दामा कसरी काम गर्छन् भन्ने कुरामा पनि गम्भिर प्रश्न उठ्ने उनी बताउँछिन् । ‘यो विषयलाई निर्वाचन आयोगले पनि गम्भिरताका साथ उठाउनुपर्छ भन्ने मलाई लाग्छ’ उनी भन्छिन् ।

विवकेशील साझा पार्टीकी उम्मेदवार छलफलमा सहभागी बाँस्कोटा पनि आफूले कार्यक्रममै पनि स्थापितको बोलीप्रति प्रतिक्रिया जनाएको बताउँछिन् । ‘उहाँले यस्तो बोल्ने हो भने म कार्यक्रममा बस्दिनँ भनेर त्यतिबेलै पनि भनेकी थिएँ,’ उनले जन प्रहारलाई भनिन्, ‘सार्वजनिक पदमा बस्नु भएको छ, तपाईं उम्मेवार हुनुहुन्छ भने विभिन्न प्रश्न उठ्न सक्छन्, आक्षेप लाग्न सक्छ । तर, हामी संयमित हुनुपर्छ ।’

 केशव स्थापितलाई मेयरको टिकट : यौन हिंसामा एमाले असंवेदनशील

एमाले उपाध्यक्ष नेम्वाङ भन्छन् – पृष्ठभूमि हेरेरै टिकट दिएका हौं

एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा पोखरामा एमालेबाट उम्मेदवार बनाइएका दीपक पौडेललाई सुनको सिक्री चोरीको आरोप लागेपछि टिकट फिर्ता लिएको एमालेले काठमाडौं महानगरमा चाहिँ यौन दूराचारको आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाएको छ ।

पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष थममाया थापा मगर चाहिँ आफूले स्थापितको अभिव्यक्ति नसुनेको बताउँछिन् । ‘कस्तो प्रश्न आयो, कसरी जवाफ दिनु भयो नसुनी केही भन्न सकिँदैन,’ उनले जन प्रहारलाई भनिन्, ‘तर जे भए पनि उम्मेवारले संयम भएर प्रस्तुति दिनुपर्छ ।’ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा पोखरामा एमालेबाट उम्मेदवार बनाइएका दीपक पौडेललाई सुनको सिक्री चोरीको आरोप लागेपछि टिकट फिर्ता लिएको एमालेले काठमाडौं महानगरमा चाहिँ यौन दूराचारको आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाएको छ । सोमबार मनोनयन दर्ता गर्न राष्ट्रियसभा गृह पुगेका बेला स्थापितले समय–समयमा आफूविरुद्ध केही न केही विवाद आउने गरेको बताउँदै भने, ‘म जस्तो व्यक्तित्वबारे विवाद उठेन भने त केशव स्थापित नै भएन । विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?’

उनले विगतमा आफूविरुद्ध ५० वटा मुद्दा भएका बेला ५ वटा थप्नु पर्‍यो भनेर आफैं भन्ने मान्छे भएको बताउँदै भने, ‘यस्तो मान्छेलाई सडकमा केही विवाद उठ्दा त्यतातिर ध्यान दिनु हुँदैन ।’स्थापितलाई मेयरको उम्मेदवार बनाएपछि सार्वजनिक रुपमा आलोचना सुरु भएको छ, तर स्थापितले चाहिँ आरोप लगाउनेलाई नै पागलको संज्ञा दिँदै हलुका टिप्पणी गरेका छन् । चार वर्षअघि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले महानगरपालिकामा आफूमाथि दुर्व्यवहारको प्रयास भएको सार्वजनिक गरेकी थिइन् । ‘स्थापितको उद्देश्य पूरा हुन नसक्दा मैले मेरो जागिर पनि गुमाउनुपरेको थियो’ प्रजापतिले भनेकी थिइन्, ‘मलाई अन्य महिलाहरुबारे पनि थाहा छ, जो उनीबाट दुर्व्यवहारको  शिकार बनेका छन् ।’

त्यतिबेला रश्मिला महानगरपालिका अन्तर्गत हनुमानढोका दरबार क्षेत्रको कार्यक्रम व्यवस्थापकको पदमा कार्यरत थिइन् । उनलाई बढुवा गराइदिने आश्वासन दिँदै स्थापितले कहिले नगरकोट त कहिले धुलिखेल जाने प्रस्ताव राखेको प्रजापति सम्झन्छिन् । ‘असह्य भएपछि मैले मुखै फोरेर उहाँलाई म एउटा जागिरका लागि ठाउँठाउँ जाने मान्छे होइन भनेकी थिएँ’ प्रजापतिले अनलाइनखबरसँग भनिन्, ‘त्यतिबेला मेयरको कार्यकाल सकिएर उहाँ जानु भयो, राजाको शासनमा मेयर मनोनित हुँदा उहाँले २०६० सालमा पहिलो निर्णय नै मलाई जागिरबाट हटाउने गर्नुभयो ।’

विश्वभरि महिलाहरुले आफूमाथि भएको हिंसाबारे आवाज उठाउँदै मीटू अभियान चलाइरहेका बेला स्थापितमाथिको यो आरोप सार्वजनिक भएको थियो । त्यति नै बेला पूर्वपत्रकार उज्ज्वला महर्जनले पनि सन् २०१२ मा स्थापितले आफूलाई दुर्व्यवहार गर्न खोजेको सार्वजनिक गरिन् ।

महर्जनले फेसबुकमा स्ट्याटस लेख्दै प्रश्न गरिन्, ‘एउटा अन्तर्वार्ताका लागि भेटेको मान्छेले तपाईंलाई राति बोलाउँछ भने तपाईं के सोच्नु हुन्छ ?’

स्थापितले उपत्यका विकास प्राधिकरणको प्रमुख भएका बेला पटकपटक राति फोन गरेर बोलाएको उनले खुलाएकी थिइन् । ‘कम्तीमा चार-पाँच दिन बेलुकी मलाई फोन आइरह्यो, मैले बेवास्ता गरिरहेँ’ उनले भनेकी थिइन् ।

मीटू आरोप लागेका बेला स्थापित बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री थिए । २०४७ सालमै एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका महासचिव बनेका २०७० सम्ममा राजनीतिको किनारमा पुगिसकेका थिए । आफ्ना अधिकांश समकक्षी पार्टी पदाधिकारी बनिसक्दा उनी चाहिँ कहिले बामदेव गौतम, कहिले ज्ञानेन्द्र शाह, त कहिले माओवादीको नजिक भएर हिँडिरहेका थिए ।

‘मलाई शत प्रतिशत के थाहा छ भने उहाँले महिलालाई ह्यारेस गर्ने विषयबारे कुनै पनि महिला नेतृ अनभिज्ञ हुनुहुन्न, तर जो महिला अधिकारका लागि लामो लडाइँ लड्नु भयो, उहाँहरु नै स्थापितको उम्मेवारीमा चुइँक्क बोल्नुभएन’ प्रजापतिले भनिन्, ‘एमालेले पनि २५ वर्षमा मेयरका लागि योग्य अर्को एउटा व्यक्ति पनि जन्माउन सकेको रहेनछ ।’

एमालेबाट टिकट नपाएपछि २०७० सालको चुनावमा उनले काठमाडौं–६ मा योगेश भट्टराईविरुद्ध संघीय समाजवादी फोरमबाट उम्मेदवारी पनि दिए । त्यतिबेला भट्टराईलाई हराउन स्थापित कारक बनेको एमाले नेताहरुले आरोप लगाए ।

तर ०४७ सालमा युवासंघको महासचिव हुँदा अध्यक्ष रहेका हालका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थापितलाई चुनाव हारेको केही समयमै फेरि एमाले फर्काए । र, राजनीतिमा उनलाई कमब्याक गराउन हरसम्भव प्रयास गरे, २९ माघ २०७४ मा बागमती प्रदेशको मन्त्री नै बनाए । त्यसवेला उनको नियुक्तिप्रति तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल पनि सन्तुष्ट थिएनन् ।

स्थापितको कार्यशैलीविरुद्ध पनि प्रश्न उठिरहेका वेला उनले मुख्यमन्त्री पौडेलसँगै पनि विवाद गरे । मन्त्रिपरिषद् बैठकमै भनाभन भएपछि तत्कालीन मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । त्यति नै बेला स्थापितविरुद्ध मीटूको आरोप पनि चर्किरहेको थियो र उनलाई फेरि ओलीसँग सल्लाह गरेरै बर्खास्त गरिएको थियो ।

त्यतिबेला ओलीकै सहमतिमा प्रदेशमन्त्रीबाट बर्खास्तीमा परेका स्थापितलाई एमालेले काठमाडौं महानगरको मेयरमा दाबेदार बनाएको छ । यसअघि २०७४ सालको स्थानीय चुनावमा पनि उनले मेयरमा उठ्न दाबेदारी प्रस्तुत गरेका थिए, तर तत्कालीन एमाले काठमाडौं अध्यक्ष कृष्ण राईसहित ओली पक्षका केही नेताहरुले उनलाई रोकेका थिए । अन्तिममा ओली स्थापितलाई मेयर उठाउने निर्णयबाट पछाडि हटेका थिए र विद्यासुन्दर शाक्यलाई टिकट दिएका थिए ।

अहिले तिनै स्थापितलाई मेयरको उम्मेवार बनाउनुलाई राजनीतिक दलको हदैसम्मको गैरजिम्मेवारी भएको नागरिक अगुवा मोहना अन्सारी बताउँछिन् । ‘कुनै पनि राजनीतिक दलले यस्ता खाले पृष्ठभूमि भएका व्यक्तिलाई उम्मेदवार बनाउनु भनेको कानून, मानवअधिकार र महिला हिंसा जस्तो विषयमा असंवेदशीलताको पराकाष्ठा हो’, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य समेत रहेकी अन्सारी भन्छिन्, ‘जुन राजनीतिक दल यस्तो विषयमा संवेदनशील छैन, त्यो दल भोलि अरु कुनै विषयमा पनि संवेदनशील बन्न सक्दैन ।’

स्थापितलाई मिटुको आरोप लगाउने रश्मिला प्रजापतिले पनि ‘नेकपा एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक यौन दुराचारीलाई उठाएको’ बताएकी छन् । पद पाउने भए पछि महिला अधिकारको पक्षमा वकालत गर्ने अन्य महिला पनि उनै दुराचारीको मतियार बनेको उनको आरोप छ ।

‘मलाई शत प्रतिशत के थाहा छ भने उहाँले महिलालाई ह्यारेस गर्ने विषयबारे कुनै पनि महिला नेतृ अनभिज्ञ हुनुहुन्न, तर जो महिला अधिकारका लागि लामो लडाइँ लड्नु भयो, उहाँहरु नै स्थापितको उम्मेवारीमा चुइँक्क बोल्नुभएन’ प्रजापतिले भनिन्, ‘एमालेले पनि २५ वर्षमा मेयरका लागि योग्य अर्को एउटा व्यक्ति पनि जन्माउन सकेको रहेनछ ।’

उनी आफू नेकपा एमाले पार्टीको विरोधी नभएको बताउँदै भन्छिन्, ‘एउटा जिम्मेवार दलले यौन दुराचारी मात्र होइन, हालसम्मकै भ्रष्टलाई मेयरको उम्मेदवारी दिएकोमा विरोध हो, गलत व्यक्ति र प्रवृत्तिको विरोध हो ।’

मानवअधिकारकर्मी अन्सारी पनि महिला हिंसाको विषयमा जिम्मेवारीपन देखाउन नसक्ने दलले अन्य मुद्दामा उत्तरदायी बन्न नसक्ने बताउँछिन् । ‘राजनीतिक दलले खाली विकासको मुद्दा मात्र उठाउने होइन, जुन राजनीति दल यस्तो विषयमा संवेदनशील छैन, त्यो राजनीतिक दल भोलि अरु मुद्दामा पनि संवेदनशील हुन सक्दैन’ उनी भन्छिन्, ‘जुन समाजमा महिला तथा बालबालिका प्रताडित छन्, त्यो समाज कहिल्यै पनि अघि बढ्न सक्दैन, सधैँ त्यही विषयमा रुमल्लिराख्छ ।’

चार वर्षअघि स्थापितविरुद्ध मीटूको आरोप लागे पनि कुनै निकायबाट छानबिन चाहिँ भएन । त्यतिबेला किटानी जाहेरी नपर्दा छानबिन नभएको हो । स्थापित आफैंले झुटो अभियोग लगाइएको भन्दै कानूनी उपचार खोज्ने बताएका थिए, तर पछि उनी पनि मौन बसे ।

‘फौजदारी अभियोगमा उजुरी नै परेको छैन भने अभियोग स्थापित हुने कुरा भएन, तर उजुरी नपर्नुको खास कारण भनेको यस्तो उजुरीमा हदम्याद कम हुनु हो’ मानवअधिकारकर्मी अन्सारी भन्छिन्, ‘अन्य मुलुकमा यस्ता विषयमा हदम्याद लामो हुन्छ, नेपालको कानूनी व्यवस्थामा पनि पुनर्विचार हुनु जरुरी छ ।’

जापानमा उछृङ्खल अभिव्यक्ति दिएका कारण मेयरले राजीनामा दिएको, भारतमै पनि आरोपीमाथि कारबाही भएको उदाहरण रहेको बताउँदै अन्सारी भन्छिन्, ‘खासमा अहिले जस्तो व्यक्तिमाथि प्रश्न उठेको छ, उनीमाथि कारबाही गर्ने जिम्मेवारी सम्बन्धित दलकै हो ।’ तर दलले उल्टै पुरस्कृत गरेको अवस्थामा मतदाताले मतपत्रमार्फत यसको जवाफ दिनुपर्ने उनी बताउँछिन् ।

नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ चाहिँ उनको पृष्ठभूमिबारे विचार गरेरै मेयरमा उठाइएको बताउँछन् । ‘आरोपबारे हेरेका हौं, तर त्यस्तो कुनै पनि आधार देखेनौं’ नेम्वाङले अनलाइनखबरसँग भने, ‘अहिले उहाँ बहालवाला प्रदेश सांसद पनि हुनुहुन्छ, उहाँमाथिको आरोप राजनीतिक धृष्टता हो भन्ने निष्कर्षसहित टिकट दिइएको हो ।’

महिला अधिकारको पक्षमा संसदमा आवाज उठाउँदै आएकी सांसद विन्दा पाण्डे चाहिँ स्थापितको उम्मेदवारीबारे बोल्न चाहिनन् । ‘यो पार्टीको जिल्ला कमिटी हुँदै सिफारिस भएर सचिवालयले गरेको निर्णय हो’ उनी भन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४