काठमाडौँ — सरकारले वैशाख ६ र ७ गते देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगी नछुटाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सूचना जारी गरेको छ ।
पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको स्वास्थ्य सेवा विभाग पोषण शाखाले जनाएको छ ।