महिलाको महिनावारीमा काम लाग्ने मिन्स्ट्रुअल कपको प्रोटोटाइप पहिलो पटक सन् १९३० को दशकमा आएको थियो । यसको पेटेन्टको पहिलो आवेदन सन् १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले गरेकी थिइन् ।पछिल्ला केही वर्षमा यसको अत्याधुनिक र उन्नत संस्करण बजारमा आएका छन् ।सिलिकन, रबर वा लेटेक्सले बनेको सानो कपको आकारको यो वस्तु महिलाको जीवनमा बिस्तारै सही तर यसले अब स्यानिटरी प्याडको स्थान ओगटिरहेको छ । यसको एउटा कारण यो पनि हो कि स्यानिटरी प्याड एकपटक मात्रै प्रयोगमा आउँछ जबकी मेन्स्ट्रुअल कप धेरै व्यावहारिक र टिकाऊ हुन्छ ।
यो कप लचिलो उत्पादनहरु मार्फत् बनेको हुन्छ, त्यसैदे महिलाको यौनाङ्ग भित्र यसले कुनै समस्या पैदा गदैन ।दक्षिण अमेरिकी देश ब्राजिलको साओ पाउलोको एउटा अस्पतालकी स्त्री रोग विशेषज्ञ अलेक्जेन्ड्रे पुपो यसबारे थप जानकारी दिन्छिन् ।उनी भन्छिन्, ‘यसको प्रयोग गर्ने महिलाका अनुसार बिकिनी वा लेगिङ्ग्स जस्ता कपडा लगाउँदा पनि यो प्रयोग गरिएको छ भनेर थाहा हुँदैन । यस्तै यसले टेम्पोनजस्तो फाल्तू तत्व पनि पैदा गर्दैन ।’यो कप थुप्रै साइजमा उपलब्ध छ । यसको लम्बाई ४ देखि ६ सेन्टिमिटरको बीचमा हुन्छ । यस्तै माथि यसको व्यास ३ देखि ५ सेमीको बीचमा हुन्छ । ठूलो आकारको कपको आवश्यकता ती महिलालाई हुन्छ जसको बढी रक्तश्राव हुन्छ ।
स्वच्छता र सुरक्षित उपायको मामिलामा डाक्टरको दिशानिर्देश मान्ने हो भने यो उत्पादन पूर्ण रुपमा सुरक्षित छ र यो १० वर्षससम्म टिक्न सक्छ ।
यो लेखमा हामी मेन्स्ट्रुअल कपसँग जोडिएका पाँच महत्वपूर्ण प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेका छौँ ।

१. मेन्स्ट्रुअल कप योनीमा कसरी हाल्ने ?
महिलाको योनीमा यो कपलाई हाल्नुअघि यसलाई दुई वा तीन हिस्सामा मोड्नुपर्छ ताकि योनीभित्र यसलाई प्रवेश गर्न सहज होस् । यसलाई थुप्रै तरिकाले मोड्न सकिन्छ ।
दक्षिण ब्राजिलको पोर्टो एलेग्रेको एउटा अस्पतालसँग सम्बन्धित स्त्री रोग विशेषज्ञ गेब्रिएला गेलिना यसबारे बीबीसीसँग भन्छन्, ‘यदि कोही महिलाको यौनाङ्ग सुख्खा छ भने यसलाई प्रवेश गराउन गाह्रो हुन्छ, त्यसैले लुब्रिकेन्टको प्रयोग गर्नुपर्छ । विशेषगरी जब यसको प्रयोग पहिलो पटक भइरहेको छ भने ।’
गेलिना भन्छिन्, ‘त्यसपछि बिस्तारै यसलाई भित्र हाल्नुपर्छ । हामीले रगत जम्मा गर्ने भागलाई छोड्छौँ तब यो कप बिस्तारै खुल्ने गर्छ । यसलाई भित्र राम्रोसँग मिलाउनका लागि यसलाई थोरै घुमाउनुपर्छ ।’
औंलाको मद्दतले यसलाई यौनाङ्ग भित्र यसरी राख्नुपर्छ कि यो एउटा ट्याम्पोन हो । ट्याम्पोन र यो कपमा मुख्य भिन्नता के छ भने ट्याम्पोनको काम रगत सोस्नु हो र कपको काम रगत जम्मा गर्नु हो ।
अलेक्जेन्ड्रे पुपो भन्छिन्, ‘एकपटक यो प्रवेश गराएपछि यो कप यौनाङ्गाका भित्ताहरुमा टाँस्सिने गर्छ । यो खुला नै रहोस् भनेर सुनिश्चित गर्नका लागि यसको किनारामा हुने इलास्टिकको ब्यान्ड थोरै कडा हुन्छ । भित्र यो अलि फैलिएर भित्तासँग जोडिने गर्छ, जहाँ यो स्थिर हुन्छ ।’
मेन्स्ट्रुअल कपको प्रयोग एक पटकमा धेरैभन्दा धेरै १२ घण्टासम्म गर्न सकिन्छ । यद्यपि, जुन महिलाको रक्तश्राव बढी हुन्छ उनीहरुलाई ४ देखि ६ घण्टापछि यसलाई फेर्न सल्लाह दिइन्छ ।
यसको सानो आकार यसलाई खोज्नमा सहयोगी हुन्छ । यद्यपि, यसले समस्या पनि निम्त्याउन सक्छ ।
पुपोले यसलाई निकाल्न निकै कसरत गर्नुपर्ने हुनसक्ने बताइन् । त्यसैले भित्रको भ्याक्युम कम गर्नका लागि उनी औँलाको प्रयोग गर्न सल्लाह दिन्छिन् ।
यद्यपि, नुहाउँदा यसलाई निकाल्न आरामदायी हुनसक्छ तर शौचालयमा बसेर पनि यसलाई निकाल्न सुरक्षित छ ।
गेलिना भन्छिन्, ‘पहिलो पटक यसको प्रयोग साधारणतया थोरै असहज हुन्छ भन्ने कुरा ध्यानमा राख्नुपर्छ । कुनै महिलालाई मेन्स्ट्रुअल कपको प्रयोगमा बानी पार्न दुई वा तीन कोसिस लाग्न सक्छन् । महिनावारी नभएका बेला यसलाई प्रयोग गर्न सिक्नुपर्ने सल्लाह दिइन्छ ।’

२. मेन्ट्रुअल कपलाई कसरी सफा गर्ने ?
पहिलो पटक प्रयोग गर्नुभन्दा अघि मेन्स्ट्रुअल कपलाई भकभकी उम्लिएको पानी वा माइक्रोवेवमा ५ मिनेटसम्म उमाल्नुहोस् ता कि यो सुरक्षित होस् । थुप्रै ब्रान्डले त यसका लागि विशेष प्रकारको कन्टेनर पनि उपलब्ध गराउँछन् ।
महिनावारी भइरहेका बेला जब यसको बारम्बार प्रयोग गरिन्छ तब यसलाई पानी र साबुनले राम्रोसँग सफा गर्न सल्लाह दिइन्छ । जब महिनावारी समाप्त हुन्छ तब यसलाई त्यसरी नै उमाल्नुपर्छ ।
यसको प्रयोग नहुँदा यसलाई कुनै कपडाको थैलीमा बन्द गरेर राख्नुपर्छ । त्यसपछि महिनावारी सुरु हुँदा यसको प्रयोग पुनः पानीमा उमालेपछि मात्रै गर्नुपर्छ ।
३. के यसले स्वास्थ्यमा खतरा निम्त्याउँछ ?
राम्रोसँग स्यानिटाइज भएपछि मेन्स्ट्रुअल कपको प्रयोग निकै सुरक्षित हुन्छ । तर यसलाई राम्रोसँग सफा गरिएन भने यसले संक्रमणको खतरा बढ्न सक्छ ।
गेलिनाका अनुसार यदि यौनाङ्ग सूक्ष्मजीवको सम्पर्कमा आउँछ तब यो हानीकारक हुनसक्छ । यसले केन्डिडिआसिस र वेजिनोसिसको समस्या पैदा हुनसक्छ ।
स्त्रीरोग विशेषज्ञ अलेक्जेन्ड्रे पुपोले दिएको सल्लाह अनुसार जुन महिलालाई कण्डमबाट एलर्जी हुन्छ उनीहरुले लेटेक्स–फ्रि कपको प्रयोग गर्नुपर्छ ।

४. मेन्स्ट्रुअल कप लगाउँदा के गर्ने, के नगर्ने ?
साधारणतया मेन्स्ट्रुअल कप लगाइरहँदा पिसाब फेर्न कुनै समस्या हुँदैन । तर यदि दबाब महसुुस भइरहेको छ भने यो कपलाई यौनाङ्ग भित्र थप प्रवेश गराउनुपर्छ भन्ने बुझ्नुपर्छ ।
कुनै महिलाले गर्भाशयमा गर्भनिरोधक आर्एयूडी लगाइरहेका छन् भने पनि यसको प्रयोगमा कुनै समस्या हुँदैन । दुबैको स्थान भिन्न भिन्न हुने भएकोले समस्या हुँदैन । एउटा गर्भाशयको भित्र हुन्छ भने अर्को यौनाङ्गको भित्र ।
यद्यपि, जब यौन सम्बन्ध स्थापित गर्नु छ भने यो कपलाई यौनाङ्गबाट निकाल्नुपर्छ । ती महिला जसले पहिला कहिल्यै यौन सम्बन्ध स्थापित गरेका छैनन्, उनीहरुका लागि थप नरम कप आउँछन् ।
जानकारका अनुसार अहिले पनि मेन्स्ट्रुअल कपबारे धेरै मानिसलाई खासै थाहा छैन किनभने यसबारे धेरै कुरा हुँदैन ।

५. मेन्स्ट्रुअल कपको प्रयोग र फाइदा र हानी के ?
डाक्टरको धारणा अनुसार मेन्स्ट्रुअल कपको सबैभन्दा ठूलो खुबी यो स्थायी प्रकृतिको वस्तु हो ।
कुनै महिला आफ्नो जीवनकालमा ४५० पटक महिनावारी हुन्छिन् । यसको अर्थ यो हो कि एक महिलाले आफ्नो जीवनमा करिब ७,२०० स्यानिटरी प्याडको प्रयोग गर्नुपर्ने हुन्छ । जबकी मेन्स्ट्रुअल कपको सबैभन्दा ठूलो विशेषता भनेको एउटा कप ३ देखि १० वर्षसम्म चल्छ ।
यसको अर्को एउटा विशेषता भनेको यसले बनाउने भ्याक्युमले महिनावारीको रगतलाई हावाको सम्पर्कमा आउन दिँदैन । त्यसैले महिनावारी हुँदा पनि भित्रीवस्त्रमा गन्ध आउँदैन ।
स्त्रीरोग विशेषज्ञका अनुसार यसको नकारात्मक पाटो भनेको सबै महिलालाई यो कप राम्रोसँग प्रयोग गर्ने तरिका नआउन सक्छ त्यसैले उनीहरुले यसमा समस्या झेल्नुपर्ने हुनसक्छ।
