©नेत्र बहादुर कार्की जन प्रहार
काठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्दै छन् । दिउँसो २ बजे बन्दरगाह उदघाटको कार्यक्रम छ । वीरगञ्जबाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिने कार्यक्रम रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जन प्रहारलाई जानकारी दिए ।
२२८ रोपनी क्षेत्रमा फैलिएको यो सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ भने सीमा क्षेत्रका भन्सारमा हुने पट्ट्यार लाग्दो जाम तथा अन्य खर्चबाट व्यवसायीले राहत पाउने विश्वास गरिएको छ । सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो ।
विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिना ढिला गरी आयोजनाको शिलान्यास गरिएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण आयोजनाले १४ महिना अनावश्यक समय गुजार्नु परेको थियो ।
तयार भयो चोभार सुख्खा बन्दरगाह (फोटोफिचर)
काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भएको छ । सीमा नाकाभन्दा टाढा भित्री सहरमा बनेको पहिलो सुख्खा बन्दरगाह सञ्चालनका लागि तयारी अवस्थामा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भन्सार, क्वारिन्टिन र प्रशस्त पार्किङ सुविधासहित अत्याधुनिक सूचना प्रविधिमा आधारित सुख्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न भएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका छन् । बन्दरगाहको भौतिक निर्माण सकेको छौं, अब प्राविधिक काम सकेर छिट्टै काठमाडौंबाटै भन्सार जाँच पास सुचारु गर्न अतुर छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने । कोभिड महामारीको चुनौतीपूर्ण अवस्थाका बाबजुत पनि बन्दरगाह निर्माणले आकार लिएरै छाडेको उनले बताए ।
बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने माल सामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुने गजुरेलको भनाई छ ।
बन्दरगाहमा यस्ता छन् संरचना
तत्कालिन हिमाल सिमेन्टले ओगटेको २२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा प्रशासन, भन्सार, बैंक तथा वित्तीय संस्था र क्वारेन्टाइनका संरचना निर्माण भएका छन् । यस्तै ठूला ५४ मिटर बाई २४ मिटरको तीन वटा गोदाम पनि बन्दरगाहमा रहेका छन् । सवारी साधनले ल्याउने सामानको भन्सार प्रयोजनको परीक्षणका लागि तीन वटा स्टपिङ पनि तयार भएको छ । प्रशासनिक र कन्टेनर पार्किङ यार्ड पनि तयार छ । बन्दरगाहमा विद्युतीय सबस्टेसन, लाइटिङ र पूर्ण निगरानी राख्न सकिनेगरी सीसी क्यामेरा पनि जोडिएको छ । बन्दरगाहमा पाँच सय ट्रक र पाँच सयकै हाराहारीमा कन्टेनर अट्ने पार्किङ यार्ड पनि निर्माण सम्पन्न भइसकेको छ ।
भन्सार, क्वारिन्टिन र प्रशासन, कन्टेनर प्रवेश र निर्यातको कन्टेनर बाहिरीने प्रयोजनका लागि तीन वटा छुट्टा छुट्टै प्रवेश गेट पनि निर्माण भएको छ । बन्दरगाहका कारण स्थानीयलाई असर नपुगोस् भनेर ध्वनी प्रदूषण नियन्त्रण गर्ने प्रविधि पनि बन्दरगाहले प्रयोग गरेको छ । विकास समितिले बन्दरगाहलाई दुई प्रकारले विभाजन गरेको जनाएको छ । जसमा आन्तरिक र एक्जीम गरि कामको प्रकृति छुट्ट्याइएको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए । गेट तीन र यसको भित्री संरचनाबाट एक्जिम अर्थात वस्तु आयात र यससंग सम्बन्धित काम हुनेछ भने गेट एक र बाँकी संरचना वस्तु निर्यात वा नेपाली व्यवसायीले कन्टेनर वा ट्रक पाकिङ एवम् होल्ड गर्नका लागि प्रयोग हुनेछ ।
समुद्री बन्दरगाहबाट आएका कन्टेनर अब सिधै काठमाडौ
बन्दरगाह भित्र रहने भन्सार, क्वारिन्टिन र प्रशासन संरचनामा जनशक्ति खटाएर बन्दरगाह सञ्चालन गर्न सकिने अवस्थामा पुगेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि र अर्थ मन्त्रालयसँगको समन्वयनमा बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा र जनशक्तिबारे अहिले छलफल अघि बढेको छ ।
त्यसपछि नेपाली व्यवसायीले समुद्री बन्दरगाह हुँदै माल वस्तु ल्याउने कन्टेनर सीमा क्षेत्रमा सामान्य प्रक्रिया पुर्याएपछि सिधै काठमाडौं आउने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए । ‘चीन वा भारत भएर आउने कन्टेनरलाई सीमा क्षेत्रमा सिल गरेर सिधै काठमाडौं पठाइने गरी कुरा अघि बढेको छ, चुहावट रोक्ने प्राविधिक उपायबारे पनि छलफल भइरहेको छ,’ कार्यकारी निर्देशक गजुरेलले भने । कन्टेनरहरु सिधै काठमाडौं आउँदा व्यासायीहरुलाई नाकामा हुने झन्जट अन्त्य हुने र समय तथा लागत कम पर्ने उनले बताए ।
काठमाडौं केन्द्रित व्यवसायीका लागि निकै महत्वपूर्ण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।
तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण आयोजनाले १४ महिना अनावश्यक समय गुजार्नु परेको थियो । तराई मधेश द्रूतमार्गको प्रवेशद्वारमै निर्माण सम्पन्न भएको बन्दरगाह सो सडकपछि अझै उपयोगी हुने अपेक्षा गरिएको छ । बन्दरगाह प्रस्तावित नेपाल भारत तथा चीन नेपाल रेल मार्गको संगम विन्दुमा रहेको इन्टर मोडल यातायता विकास समितिले जनाएको छ।






