Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २१ २०७८
  • 7.5K
    SHARES

म्याग्दी । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ ।

वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ’, उनले भने, ‘हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई स्वागत गर्न आतुर छौँ ।’ जाडो हटेर वनजङ्गलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो ।

यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

‘वनैभरि राताम्मे फुलेका गुराँसका रङ्गले घोडेपानी क्षेत्रको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ’, उनले भने, ‘गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।’ बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०-७० विदेशी र १०० जति नेपाली पर्यटक भ्रमणमा आएका छन् ।

‘घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्याङ्क हामीले राख्ने गरेका छौँ’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि २०७६ चैतदेखि रोकिएको पर्यटकको उपस्थिति गत फागुनदेखि हुन थालेको छ ।’ काठमाडौँबाट आठ जनाको समूहमा घोडेपानी घुम्न आउनुभएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जङ्गलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए । गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाए ।

फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छौँ, ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गीकरण गरेर फरक फरक दररेट बनाइएको हो ।

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । यसअघि सबै होटलले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु एक हजार पाँच सय शुल्क लिने गरेका थिए । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । गत फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दर २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४