काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको सम्भावना नरहेको बताएका छन् । चितवनको भरतपुरमा बिहान पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
एमालेसँग गठबन्धनका लागि छलफल शुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको उनको दाबी छ । ‘एमाले नेतृत्वमा भएको कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वमा भयो, अब फेरि उनीहरूसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन,’ उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।
पोखरेलले प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरे । ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीको हिसाबले गरिएको भ्रमणमा उहाँले जसरी आफूलाई प्रस्तुत गर्नुपर्दथ्यो सक्नुभएन, चुच्चे नक्साको विषयमा कुरा पनि उठाइएन,’ उनले भने, ‘यो भ्रमणको उपलब्धि बनारस दर्शन गर्नुभन्दा बढी म देख्दिनँ ।

