काठमाडौं । जुम्ला र तनहुँमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ ।
जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।
यसैगरी, तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर स्थानीय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते उनको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालक इलाका प्रहरी कार्यालय भानु तनुहुँको नियन्त्रणमा रहेका छन् ।