Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावका लागि सत्ता अनुकूल प्रहरी प्रमुखको खोजी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ६ २०७८
  • 10.4K
    SHARES

काठमाडौं । केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार हुँदा चुनाव लक्षित गरेर ‘अस्वाभाविक’ रुपमा विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई भावी आईजीपीको रोलक्रममा ल्याए । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले चाहिं एमालेको रोजाइका पोखरेल र थापालाई चुनौती दिन आफ्नो अनुकूलका तीन डीआईजीलाई एआईजी बनाउने तयारी गरेका छन् ।

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तीन वटा दरबन्दी थप्ने निर्णय गर्‍यो । शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिले आवश्यकता र औचित्यको आधारमा विशिष्ट श्रेणीको दरबन्दी थपेको चाहिं होइन ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । उनीसँगै एआईजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीले पनि अवकाश पाउनेछन् । त्यसपछि बन्ने आईजीपीले ३० वैशाखका लागि घोषित स्थानीय तहको निर्वाचन गराउने छन् । जानकारहरुका अनुसार त्यही चुनावलाई लक्षित गरेर आफू अनुकूल आईजीपी बनाउने गरी देउवाले एआईजीको दरबन्दी थपेका हुन् ।

यदि अहिले एआईजीको दरबन्दी थप नभएको भए विश्वराज पोखरेल र सहकुल थापा मात्रै आईजीपीको प्रतिस्पर्धी हुने थिए । पोखरेल र थापालाई पूर्ववर्ती ओली सरकारले ‘अस्वाभाविक’ रुपमा बढुवा गरेका थिए । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार विश्वराजलाई भावी आईजीपीका रुपमा सुरक्षित गराउन ओली सरकारले २७ कात्तिक २०७७ मा एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत थाहै नदिई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पोखरेलका लागि एआईजीको एउटा दरबन्दी थपेको थियो । त्यसविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उजुरी पर्‍यो, तर सरकारले आफ्नो निर्णयमाथि पुनर्विचार गरेन । एसएसपीबाट डीआईजी बढुवामा हुँदा पनि पोखरेललाई ओली सरकारले ब्याचबाट एकल बढुवा गरिदिएको थियो ।

जतिवेला पोखरेललाई बालुवाटारले अघि बढाइरहेको थियो, त्यतिवेला एमाले नेताहरुको बुझाइ पाँच वर्ष ओलीकै नेतृत्वमा सरकार रहन्छ भन्ने थियो । तर सरकार धर्मराउन थालेका वेला ओलीनिकट केही नेताहरुको जोडबलमा फेरि डीआईजी सहकुलबहादुर थापाका लागि दरबन्दी थप गर्ने काम भयो ।

‘चुनावी आईजीपीका लागि दुई जना मात्र प्रतिस्पर्धी भए, जो बढुवा भए पनि एमालेकै रुचिको अधिकृत आईजीपी बन्छ भन्ने बालुवाटारको बुझाइ रह्यो’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले कांग्रेसको सरकार आएपछि उनीहरुलाई अरु पनि प्रतिस्पर्धी छन् भन्ने पार्न पनि एआईजीको दरबन्दी थप्ने प्रयास सुरु भयो ।’

कांग्रेसले चाहेको प्रहरी अधिकृतलाई अघि बढाउन एआईजीको एउटा दरबन्दी थप्दा हुन्थ्यो । तर सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लबिइङका कारण मन्त्रिपरिषद्ले एकै पटक तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय भएको छ ।

जसरी विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई एआईजी बनाउँदा ओली सरकारले अपनाएको बाटो ठीक थिएन, अहिले देउवा सरकारले तीन एआईजीको दरबन्दी थप्नु पछाडि पनि आफ्नो अनुकूलताबाहेक अरु कारण देखिन्न ।

पूर्वगृहसचिव एवं ट्रान्सपरेन्सी इन्टरनेश्नलका पूर्वअध्यक्ष खेमराज रेग्मीको बुझाइमा प्रहरी नेतृत्व आफू अनुकूल भए चुनावमा सहयोग पुग्ने राज्यसत्तामा रहनेहरुको बुझाइ हुने गरेको छ । ‘त्यसैले कार्यक्षमता र दक्षताभन्दा पनि निकटता हेरेर दलहरुले अधिकृतहरुलाई अघि बढाउने गरेका छन्’ उनी भन्छन्, ‘यो खेल ओली, देउवा मात्र होइन, जोसुकैको नेतृत्वमा सरकार हुँदा पनि हुने गरेको छ ।’

को–को छन् प्रतिस्पर्धामा ?

थपिएको तीन दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिस्पर्धी हुनुपर्ने हो । तर एक डीआईजी गुनासो गर्छन्, ‘निश्चित अधिकृतका लागि दरबन्दी थपिएकाले हामी प्राविधिक रुपमा मात्र प्रतिस्पर्धामा छौंं, व्यावहारिक रुपमा हामी दृश्यबाट बाहिरिइसकेका छौं ।’

उनको बुझाइमा बढुवाका योग्य डीआईजीमध्ये वसन्तकुमार पन्त, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीमध्ये तीन जनालाई एआईजी बनाउने गरी दरबन्दी थप भएको हो ।

उनीहरुमध्ये पन्त सुदूरपश्चिमका भएकाले बालुवाटारसँग निकट सम्बन्ध छ । धिरजप्रताप सिंह र उत्तम सुवेदी व्याचका अब्बल अधिकृत मानिन्छन्, दुवैलाई कांग्रेस नेताहरुले पनि विश्वास गरेको अधिकृतहरु बताउँछन् । सुवेदी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि नजिक छन् । धानुक चाहिं सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा निकट अधिकृत हुन् । उनको उर्जामन्त्री पम्फा भुसालसँग पनि निकट सम्बन्ध छ ।

‘एआईजीको दरबन्दी थप्ने प्रयास ५/६ महिनाअघिबाटै भइरहेको थियो, तर माओवादीले रवीन्द्र धानुकको नाममा अडान लिएपछि समस्या भइरहेको थियो’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले उनलाई पनि अघि बढाउने गरी अर्थ मन्त्रालयले दरबन्दी थप्न स्वीकृति दिएको छ ।’

एक डीआईजी चाहिं अहिले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन नै धरापमा परिरहेका वेला धानुक एआईजी बढुवामा छुट्ने जोखिम रहेको बताउँछन् । हुन त कांग्रेसका केही नेताहरुले लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ लिने वेला धानुकले कांग्रेस प्रमुख सेचतक निर्मला क्षेत्रीसहितका प्रदेश सांसदहरुलाई दुर्व्यवहार गरेको बताउँदै उनलाई बढुवा नगर्न गृहमन्त्री बालकृष्ण खाँणलाई दबाव दिइरहेका छन् ।

पोखरेलले शपथ लिन १९ वैशाखमा प्रदेश प्रमुखको कार्यालय गएका वेला महिला सांसदहरुले विरोध जनाएका थिए । त्यतिवेला धानुकले पोखरेलसँग अस्वाभाविक रुपमा नजिकिएको कांग्रेस सांसदहरुको आरोप छ । धानुकलाई तत्कालीन एमाले सांसद् नवराज सिलवाललाई किर्ते कसूरमा कारबाही नगरेको भनेर काठमाडौं प्रहरी प्रमुखबाट हटाइएका थिए ।

प्रहरी प्रधान कार्यालय । तस्वीरः जन प्रहार डटकम 

ओली र देउवाका एआईजीबीच प्रतिस्पर्धा

प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सकिने भनिएको छ । तर जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ ।

अहिले थपिएको एआईजीको तीन दरबन्दीमा केही दिनभित्रै बढुवा प्रक्रिया सुरु हुने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

यदि सिंह, धानुक र सुवेदीमध्ये जो कोही एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । र, उनीहरुको प्रतिस्पर्धा ओली सरकारको रोजाइमा एआईजी बनेका पोखरेल र थापाबीच हुनेछ ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी दैनिक शान्ति सुरक्षादेखि चुनाव गराउनेसम्ममा प्रहरी संलग्न हुने हुँदा प्रहरीलाई हातमा लिन सके चुनाव लिन सकिन्छ भन्ने मासिकता शासकमा देखिने बताउँछन् ।

‘प्रहरीलाई हातमा लिएर चुनाव जित्ने, विपक्षीलाई तह लगाउने र विरोधीलाई थुन्न सकिन्छ भन्ने मानसिकता राज्य सञ्चालकहरुमा देखिन्छ’ उनी भन्छन्, ‘त्यसैले प्रहरीमा दलहरुले चलखेल गर्ने गर्छन् ।’

यदि सिंह, धानुक र सुवेदीमध्ये जो कोही एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । र, उनीहरुको प्रतिस्पर्धा ओली सरकारको रोजाइमा एआईजी बनेका पोखरेल र थापाबीच हुनेछ ।

अनुकूलताअनुसार एआईजीको दरबन्दी थपघट

जानकारहरुका अनुसार जसरी विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई एआईजी बनाउँदा ओली सरकारले अपनाएको बाटो ठीक थिएन, अहिले देउवा सरकारले तीन एआईजीको दरबन्दी थप्नु पछाडि पनि आफ्नो अनुकूलताबाहेक अरु कारण देखिन्न ।

सत्तामा रहेको दलका नेताले आफू निकटस्थलाई अगाडि सार्न हचुवाका भरमा दरबन्दी थपघट गर्ने प्रचलन पनि पहिल्यैदेखि रहिआएको छ । शेरबहादुर देउवा नेतृत्वकै सरकारले २० कात्तिक २०७१ मा हचुवाको भरमा एआईजीको दरबन्दी बढाएर १६ वटासम्म पुर्‍याएको थियो ।

पछि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा धेरै एआईजी अनावश्यक नभएको र आर्थिक भार बढेको जिकिरसहित प्राविधिकसहित ४ वटा एआईजीको दरबन्दी कायम गर्‍यो । तर फेरि पोखरेल र थापालाई बढुवा गर्न आफू अनुकूल दरबन्दी थप्यो ।

२०७१ सालमा तत्कालीन गृहमन्त्री बनेका बेला वामदेव गौतमले केदार साउद र रमेशशेखर बज्राचार्यका लागि प्रहरीमा एआईजीका दुईवटा विशेष दरबन्दी थप गराएका थिए । त्यसबेला बढुवामा छुटेका डीआईजी यादवराज अधिकारी, सुशीलवरसिंह थापा, विश्वराजसिंह शाही र पर्शुराम खत्रीले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले ८ असोज २०७१ मा उनीहरुलाई पनि एआईजीमा बढुवा गर्न आदेश दियो । त्यसपछि प्रहरीमा चारवटा एआईजीको विशेष पद सिर्जना गर्दै कुल एआईजीको संख्या १४ पुर्‍याइएको थियो । दुई वर्षपछि चार एआईजीको अवकाश भएसँगै विशेष पद खारेज भएको थियो ।

जानकारहरुका अनुसार लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा रहेको सरकारले ५ भदौ २०४२ मा रत्नशमशेर जबराका लागि पहिलोपटक एआईजीको दरबन्दी सिर्जना गरेको थियो ।

हेमबहादुर सिंह महानिरीक्षकमा बढुवा भइसकेपछि एआईजी दरबन्दी थप नभएको भए, जबराले डीआईजीको पदावधिका कारण सिंहभन्दा पहिल्यै अवकाश पाउँथे । तर, दरबन्दी थप गरेर उनलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा पदस्थापन गरिएको थियो । र, २०४७ साल असारपछि उनले नेपाल प्रहरीको नेतृत्व गर्ने अवसर पाएका थिए ।

पूर्वप्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली संगठनमा देखिएका यस्ता विकृतिको समाधानका लागि दरबन्दी थपघट, बढुवाका प्रावधान जस्ता विषयलाई प्रहरी ऐनमै समेट्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘ऐनमा समेटेपछि कुनै एक वा दुई व्यक्तिका लागि पनि संसदबाट पास गराउनुपर्ने भएपछि अहिले जत्तिको बेथिति रहँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४