बेलौरी नगरपालिकाका ट्र्याक्टर चालक हरिदास चौधरी, वडा नम्बर ५ को कार्यालय सञ्चालन भइरहेको घरका घरबेटी कल्यानसिंह पाल र गत वर्षसमेत अनुदान पाएका बालकुमार पोखरेलपनि अनुदान पाउनेको सूचीमा परेका छन् । भेटेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले जारी गरेको सूचनामा व्यवसायिक किसानलाई अनुुदान दिने उल्लेख छ तर एउटा बाख्रासमेत नपालेकाहरु पनि अनुदान पाउनेको सूचीमा रहेका स्थानीय किसानहरु बताउँछन् ।
स्थानीय बुद्धिराम चौधरी वास्तविक किसानलाई वञ्चित गरेर जनप्रतिनिधिले आफ्ना आसेपासेलाई अनुदान दिलाएको बताउँछन् ।
मेयर सापले आफ्नै श्रीमती, स्वकीय सचिव, पार्टीका केन्द्रीय र स्थानीय नेतालाई अनुुदान वितरणका लागि छनोट गरेर वास्तविक किसानहरुमाथि अन्याय गरेका छन्,’ चौधरीले भने, ‘यसरी छनोट भएका लाभग्राहीको सूची हामीलाई स्वीकार्य हुने छैन ।
उक्त निर्णयको विरोधमा शुुक्रबार स्थानीयले वडा कार्यालय घेराउसमेत गरेका छन् । ‘जसले १०/१५ वटा बाख्रा पालेका छन् उनीहरुलाई बेवास्ता गरेर दुुई वटा बाख्रा समेत नभएकाहरुलाई पहुुँचका भरमा अनुुदान वितरण गर्न खोज्नुु सरासर गलत छ,’ स्थानीय देवानसिंह साउदले भने, ‘छानबिन गरेर वास्तविक किसानलाई अनुुदान दिनुपर्छ भन्ने हाम्रो माग छ ।’
वडाध्यक्ष साइतुकुुमार चौधरीले भने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुरोधका आधारमा आवेदन संकलन गरिएको गरेको बताए । तर लाभग्राही छनोटमा त्रुटी भएकाले सच्याउनुपर्ने उनको भनाइ छ । लाभग्राही छनोट भएका बेला म काम विशेषले बाहिर थिएँ ! वडाध्यक्ष चौधरीले भने, ‘तर छनोट प्रक्रियामा केही त्रुटी र अनियमितता भएको भन्ने स्थानीयको माग जायज छ । यो निर्णय सच्याउनका लागि हामी पहल गछौँ ।’
वडाध्यक्ष नभएका बेला निमित्त वडाध्यक्षको जिम्मेवारीमा रहेका कृपाराम चौधरीले लाभग्राही छनोट गरेर सूची पठाएको पाइएको छ ।
बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले भने लाभग्राही वडा कार्यालय र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छनोट गरेको भन्दै त्यसमा आफ्नो भूमिका नरहेको बताए । लाभग्राही छनोट मापदण्डअनुुसार भएको छ कि छैन भन्ने कुराको अनुगमन गर्ने काम भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गर्ला नि,’ मेयर चौधरीले भने ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. पानसिंह ठगुन्नाले वडा कार्यालयले सिफारिस गरेको सूची विवादित भएपछि पुनः छनोट गर्ने तयारी गरिएको बताए ।
‘हामीले वडा कार्यालयसँग लाभग्राही छनोट गरेर पठाइदिन अनुरोध गरेका थियौं तर त्यो छनोट विधिसम्मत भएन भनेर स्थानीयको विरोध आएको छ,’ ठगुन्नाले भने, ‘अब कार्यालय आफैंले स्थलगत अनुगमन गरेर आवेदन फारम भरेकाहरु मध्येबाट पुनः छनोट गर्छौं ।
उनले व्यवसायिक रुपमा बाख्रा पालन गरिरहेका किसानलाई अनुदान वितरण गरिने जनाए ।
