काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्लाई निष्प्रभावी बनाएर राखेको आरोप लगाएका छन् ।
आइतबार नेकपा एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले आफूहरू संसद्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर, सरकारले संसद् चलाउने वातावरण नबनाएको टिप्पणी गरे ।
गत भदौदेखि नेकपा एमालेले संसद् बैठक लगातार अवरोध गर्दै आएको छ । अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको बताए ।
आफूहरू संसद्मा सहभागी भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न इच्छुक भए पनि सरकारले अवसर नदिएको अध्यक्ष ओलीले बताए । ‘हामी संसद्मा सहभागी हुन चाहन्छौं, आफ्नो भूमिका प्रभावकारी बनाउन चाहन्छौं, तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन’ उनले भने ।
