अध्यक्ष चयन भएका एकलाल श्रेष्ठ (बाँया) र असन्तुष्ट उम्मेदवार बद्री लम्सल ।
हेटौंडा । नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत लिन सकेको छैन ।
२३ पुसमा शुरु भएको ११औं जिल्ला अधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको थियो । अध्यक्षमा श्रेष्ठसँगै बद्रीप्रसाद लम्सालले उम्मेदवारी दिएका थिए, नेताहरुले सहमतिको प्रयास पनि गरे । तर सहमति जुट्न नसकेपछि चुनावी तयारीका लागि २४ गते बिहान ८ बजेसम्म अधिवेशन स्थगित गरिएको थियो ।
तर भोलिपल्ट जिल्ला इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर रानाले लम्सालको उम्मेदवारी फिर्ता नहुँदै श्रेष्ठको नेतृत्वमा निर्विरोध भएको घोषणा गरे । एमालेका एक नेताका अनुसार रानाले यसरी नामावली घोषणा गर्नु विधान विपरित थियो । भन्छन्, ‘स्थगित प्रक्रियालाई व्यवस्थित रुपमा अघि बढाउने, सहमतिका लागि उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउने लगायत प्रक्रिया नगरीकन नामावली घोषणा गर्न हाम्रो पार्टीको विधानले दिँदैन ।’
- लम्सालको उम्मेदवारी कायमै
आफूले उम्मेदवारी फिर्ता नदिएकै अवस्थामा निर्वारोध कमिटी घोषणा गरेपछि लम्सालले विरोध गरे । उनले आफ्नो उम्मेदवार अहिले पनि कायमै रहेको बताए । लम्सालले जन न्युज नेपाल खबरसँग भने, ‘अन्य कुराहरु हुँदै गर्लान्, तर अहिलेसम्म मेरो उम्मेदवारी कायमै छ । म निर्वाचन प्रक्रियाको पक्षमा छु ।
विवादपछि केन्द्रीय नेतृत्व वा प्रतिनिधिले आफूसँग कुनै छलफल नगरेको भन्दै लम्सालले संगठन विभाग र निर्वाचन कमिटीको भूमिका कस्तो हुन्छ भनेर हेरिरहेको बताए । विधि, विधान र प्रक्रिया मिचेर गरिने क्रियाकलाप आफूलाई मान्य नहुने उनले बताए । अधिवेशनको आयोजक कमिटीका अध्यक्ष समेत रहेका उनी प्रक्रिया पुरा नभएसम्म पार्टीको अध्यक्ष परिवर्तन नहुने बताउँछन् ।
लम्सालको अडानपछि न मतदान प्रक्रियामा पनि जान सकेको छ, न निर्विरोध निर्वाचित घोषणा भएको जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुले सपथ लिन पाएका छन् ।
- योगेश भट्टराई भन्छन्– प्रक्रियामा जानै पर्छ
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई भने अधिवेशनमा प्रक्रिया शुरु भइसकेपछि प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने बताउँछन् । ‘अध्यक्षका लागि दुइ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत बनाउन एक जना निर्वाचन प्रकृयाबाट बाहिरिनुपर्छ, अन्यथा चुनाव हुन्छ,’ उनले जन न्युज नेपाल खबरसँग भनेका छन् ।
एमाले मकवानपुरका इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर रानाले भने निर्विरोध घोषणा भएको श्रेष्ठ नेतृत्वको कमिटी नै आधिकारिक भएको उनले बताए । साथै उनले कोरोना संक्रमणका कारण उनीहरुको सपथ रोकिएको बताए । उनले अघि भने, ‘अन्य कुरा नगरौं, त्यही अनुसार बुझौं ।
