अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थालाई संकटका बेला बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिए । बैंक तथा वित्तीय संस्थाले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उनले बताए । ‘संकट परेको बेला बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन ?,’ उनको प्रश्न छ, ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ ।’
उनले मुलुकको ग्राहस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको भन्दै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले दक्षिण कोरिया लगायत मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै उनले ती मुलुकमा शाखा खोल्न आग्रह गरेका हुन् । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनको भनाइ छ ।