पोखरा । लागूऔषधसम्बन्धी आरोपमा पक्राउ परेका र्यापर आशिष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि अदालतले उनीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनले छुट दिएको छ ।
पहिलो मितिको म्याद सकिएपछि दोस्रो पटकको म्याद थपिएको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने, ‘अनुसन्धान अधिकृतहरुले अनुसन्धान गर्दै हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय र्यापर लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङ ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ परेका थिए ।
पुस १४ गते साँझ करिब ७ बजेतिर उनीहरुलाई सिर्जनाचोकबाट प्रहरीले पक्राउ गरेको थियो । १५ गते सार्वजनिक विदा भएका कारण १६ गतेबाट मात्रै अदालतबाट अनुमति लिएर उक्त मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी स्रोतका र्यापर लाउरेले लागुऔषध सेवन गर्नेबारे भने स्वीकारिसकेका छन् । लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो ।
प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८ हजार ३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ । कारोबार पुष्टि भएको खण्डमा र्यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । पोखरा नयाँबजारका राना ‘रअ बाज’ र्याप ब्याटलपछि चर्चामा आएका थिए । पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत अभिनय गरिसकेका छन् ।
