Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ओमिक्रोन फोबिया’!  


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 7.8K
    SHARES

काठमाडौं । झण्डै डेढ महिनाको विश्व भ्रमणपछि ओमिक्रोन छिमेकी देश भारतमा आइपुगेको र फैलने गतिमा तीव्रता दिएको छ।  नेपालमा पनि हिजोमात्र स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितका नमूनाहरूमध्ये एक चौथाइमा एस-जीन नेगेटिभ देखिएको र त्यसमध्ये २४ जनाको जीन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको सार्वजनिक गरेको छ। अर्थात् झन्डै संक्रमितहरूमध्ये एक चौथाइमा ओमिक्रोनले अघिल्लो भेरियन्टलाई प्रतिस्थापन गरेको देखिन्छ।

 पुस महिनाभरि संकलन गरिएका २२ प्रतिशतमा ओमिक्रोन देखिँदा पनि संक्रमितहरूमा जटिल अवस्था देखिएर अस्पताल भर्ना हुने चाप वा मृत्युदरमा भने उल्लेखनीय वृद्धि भएको भने देखिएन। डेढ महिनायताका अध्ययन, अनुसन्धान र विभिन्न देशहरूमा ओमिक्रोन अनुभवलाई आधार मान्ने हो भने ओमिक्रोन बिजुली गतिमा फैलन सक्ने तर घातकता भने डेल्टाभन्दा कम साबित भैसकेको छ।

स्वास्थ मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकले पनि त्यही संकेत गर्छ। तर यी सबैका बाबजुद ‘ओमिक्रोन फोबिया‘ फैलँदो क्रममा छ।   भारतमा बढ्दो संक्रमण र नेपालमा ओमिक्रोन भेरियन्टको सरप्राइज उपस्थितिले तेस्रो लहरको संकेत गर्दछ। तर त्यो लहर संक्रमितको संख्यामा मात्र सीमित हुने हो कि मृत्युदरको अनुपातलाई पनि बढाइदिने हो भनेर हेर्न जरूरी हुन्छ। यी दुई लहरलाई फरक तरिकाले हेर्नुपर्ने आवश्यकता ओमिक्रोन भेरियन्टले देखाएको हर्कतको कारणले हो।

त्यो भनेको ‘विद्युतीय गतिमा फैलने तर घातकता भने कम‘ हुनु हो। 

ओमिक्रोनले यही विशेषता डेल्टाभन्दा फरक लिएर आएको देखिन्छ। यस्तो फरक विशेषता सृजना हुनुमा विभिन्न कारण हुन सक्दछ।

दोस्रो लहरपछि खोप लगाउनेको संख्या बढ्नु, धेरैजना संक्रमित भैसकेको हुनु अथवा ओमिक्रोन भेरियन्टमा व्यापक म्युटेसन हुनु आदि जस्ता हुनु सक्दछ। यद्यपि ओमिक्रोन अघिल्लो भेरियन्टभन्दा कम घातकको कारकको बारेमा भने वैज्ञानिक अनुसन्धान जारी नै छन्। भारतमा हाल कोरोना संक्रमितको संख्याले दैनिक एक लाख पार गरेको देखिन्छ। तर कडा लक्षण लिएर अस्पताल भर्ना हुनेको संख्याको अनुपात भने धेरै कम देखिएको छ।

अन्तर्राष्ट्रिय समाचारमा जनाइएअनुसार मुम्बईमा देखिएका संक्रमितहरूमध्ये झन्डै ९० प्रतिशतमा लक्षण नै थिएन (वा सामान्य थियो) भने ८ प्रतिशतमात्र अस्पताल भर्ना भएका थिए। भारतको राजधानी नयाँ दिल्लीमा संक्रमितको संख्या दोब्बरले बढेको भएता पनि कोभिड बिरामीका लागि छुट्याइएका बेडको ७ प्रतिशतमात्र भरिएको भनिएको छ।

बेलायतमा पनि ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेर अधिकतम दैनिक २ लाखभन्दा बढीसम्म देखिएको थियो तर मृत्युदर भने संक्रमितको अनुपातमा स्थिर देखिन्छ। इम्पेरियल कलेज लन्डनले गरेको अनुसन्धानले ओमिक्रोन संक्रमितहरू डेल्टाको तुलनामा झन्डै २५ प्रतिशतले अस्पताल जाने अवस्था कम भएको र एक वा सोभन्दा बढी दिनको अस्पताल बसाइ ४५ प्रतिशतले कमी देखाएको थियो।

ओमिक्रोनले व्यापक प्रभाव पारेको अर्को युरोपेली देश फ्रान्स हो।

त्यहाँ दैनिक झन्डै ३ लाखभन्दा बढीसम्म संक्रमण पुष्टि भएको छ जुन अघिल्लो लहरभन्दा झन्डै चार गुणाले बढी हो तर मृत्युदर भने त्यसको ठिक उल्टो तीन गुणाले कम देखिन्छ।             ओमिक्रोनको घातकता अरू भेरियन्टहरूभन्दा कम देखिएको भएता पनि जोखिम भने यथावत् नै छ। विशेषत खोप नलगाएका वा पहिले संक्रमित नभएकाहरू ओमिक्रोनको जोखिममा देखिन्छन्।

युरोप, अमेरिका तथा दक्षिण अफ्रिकाको अनुभवअनुसार अस्पताल भर्ना हुनेहरूमा खोप नलगाउनेहरूको वर्चस्व नै देखिन्छ। 

बालबालिकाहरूमा खोप अभियान ढिला सुरू हुँदा उनीहरू ओमिक्रोनको चपेटामा परेको देखिन्छ। दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानले ओमिक्रोनको कारणले अस्पताल भर्ना भएका १३ वर्ष मुनिका बालबालिकामध्येमा ६२ प्रतिशत ५ वर्ष मुनिका थिए। त्यो अनुसन्धान हुँदासम्म १२ वर्ष माथिका बालबालिकालाई मात्र खोप लगाउन सुरू गरिएको थियो अर्थात् भर्ना भएका लगभग सबै बालबालिकाले खोप लगाएका थिएनन्।

पछिल्लो समय अमेरिकामा पनि ओमिक्रोन संक्रमित बालबालिकाहरू अस्पताल भर्ना हुने क्रम बढेको समाचार आइरहेका छन्।
त्यहाँ पनि बालबालिकामा खोप लगाउन सुरू गरेको धेरै भएको छैन अर्थात् अधिकांशले खोप लगाइसकेका छैनन्। नेपालमा पनि १२ वर्ष माथिका बालबालिकामा सुस्त गतिमा भए पनि खोप त सुरू गरिएको छ, तर ओमिक्रोनले नेपालमा अचानक उपस्थिति जनाउँदै गर्दा र तीव्र गतिमा फैलने क्षमता भएकोले खोप लगाउनुपूर्व व्यापक फैलिए संक्रमणको जोखिममा पर्न सक्दछन्। हाल विद्यालयहरू पूर्ण रूपमा सुचारू भैसकेको र स्वास्थ्यका मापदण्ड सही तरिकाले पालना नगर्दा ओमिक्रोनको जोखिमलाई थप बढावा दिएको छ।

अन्तमा, ओमिक्रोन विगतमा देखिएका भेरियन्टहरूभन्दा कम घातक भएको अनुसन्धानका नतिजा, विभिन्न देशका अनुभव तथा विश्लेषणले देखाएको भए पनि नेपालमा भने ‘ओमिक्रोन फोबिया‘ ले ह्वात्तै उचाइ लिएको छ।

तर ओमिक्रोनलाई पूर्णरूपमा बेवास्ता/नजरअन्दाज गर्न भने हुन्न। खोप नलगाएकाहरूमा ओमिक्रोनको जोखिम भने कायमै रहेको छ। जति धेरैलाई संक्रमण भयो त्यति नै संख्यात्मक हिसाबले अस्पताल भर्ना हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन। तसर्थ ओमिक्रोन व्यापक नफैलियोस् र अस्पतालमा जटिल बिरामीको चाप/मृत्युदर कम गर्न खोप अभियानमा सबैको ‘अर्जुन दृष्टि‘ हुन अति जरूरी छ। 

(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४