Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसले तपाईंको अफिसमै ल्याइदिन्छन् खाना र खाजा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 3K
    SHARES

जम्मा ५ लाख लगानीमा खुलेको कम्पनीले अहिले दिँदैछ क्यान्टिनदेखि क्याटरिङसम्मको सेवा


सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। ‘नेपाली ब्रान्ड’स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (jananewsnepalkhabar@gmail.com)

विभिन्न पेसामा संलग्न व्यक्तिहरूको मुख्य समस्या भनेको समयमा खाना-खाजा नहुनु नै हो। दैनिकजसो रेस्टुरेन्ट वा होटलमा खाँदा खर्चिलो हुन्छ। घरबाटै बनाएर लैजाऊँ, नभ्याइने। अफिसमा क्यान्टिन भए पनि घरको स्वाद नपाइने! 

यस्ता अनेक समस्याकी भुक्तमान विशालनगरकी दीपिका श्रेष्ठ पनि थिइन्। झन्डै एक दशकअघि जागिर क्रममा उनलाई खाना-खाजाको यही समस्याले सताएको थियो। बिहानै अफिस हिँड्नुपर्दा खाना बनाउन भ्याउँथिनन्। अफिसमा भनेजस्तो खाना नहुने। त्यस्तो समयमा उनी भारतको दिल्लीमा पाइने ‘टिफिन बक्स’ सम्झिन्थिन्।

दीपिका २०६२ देखि २०६६ सालसम्म पढाइको सिलसिलामा दिल्लीमा थिइन्। उनले दिल्ली विश्वविद्यालयबाट इन्टेरिअर डिजाइनिङ गरेकी हुन्।

‘दिल्लीमा हुँदा धेरैले टिफिन बक्समा खाना डेलिभरी गरिदिने कम्पनीबाट खाना मगाउँथे। दिउँसो के खाने भन्ने सोच्नुपर्ने अवस्था नै हुन्थेन। खाना पनि स्वस्थकर हुन्थ्यो,’ ३८ वर्षीया दीपिकाले भनिन्, ‘नेपालमा पनि त्यस्तै खाना डेलिभरी सेवा खोजेँ। होटल र रेस्टुरेन्टबाट फास्ट फुड डेलिभरी हुन्थ्यो। तर स्वस्थकर घरेलु स्वादको खाना दिने कम्पनी भेटिनँ।

त्यसपछि दीपिकाले सोचिन्- काठमाडौंमा यस्ता थुप्रै मान्छे होलान् जसले समयमा स्वस्थकर खाना खान पाएका छैनन्। उनीहरूको कार्यस्थलमै खाना पुग्ने हो भने…!

यही कुरा उनले साथी समीक्षा राईलाई सुनाइन्। समीक्षाले पनि २०६१ देखि २०६४ सालसम्म दिल्ली विश्वविद्यालयमै पढेकी हुन्। त्यहाँ व्यवस्थापन संकायमा स्नातक सकेर उनी व्यवसाय प्रशासनमा स्नातकोत्तर गर्न अमेरिका गइन्। स्नातकोत्तर सकेर २०६७ सालतिर नेपाल फर्केकी थिइन्।

दीपिका र समीक्षा दुवै नेपाल फर्केर जागिरमा लागेका थिए। त्यसै बेला दीपिकाले मनमा लागेको कुरा समीक्षालाई भनेकी हुन्। समीक्षालाई दीपिकाको कुरा मनपर्‍यो। अमेरिका बसाइमा समीक्षाले पनि विभिन्न खाना डेलिभरी कम्पनीबारे बुझेकी थिइन्। 

केही समय उनीहरूबीच नेपालमा सोही अवधारणामा कम्पनी खोल्ने विषयमा छलफल चल्यो। अनि काठमाडौं केन्द्रित खाना डेलिभरी कम्पनी सञ्चालन गर्ने योजना बनाए। त्यही योजनाको केही समयपछि, २०७० सालको असोजतिर उनीहरूले सञ्चालनमा ल्याए, ‘प्याक माई लन्च’। छोटकरीमा आफ्नो व्यवसायलाई उनीहरू ‘पिएमएल’ भन्छन्।

प्याक माई लन्च ‘लन्च बक्स’ डेलिभरी गर्ने उद्देश्यसहित खुलेको कम्पनी हो। हाल यसले बक्स्ड मिल (बट्टामा खाना), क्यान्टिन, क्याटरिङ, फ्रोजन फुड, इभेन्ट म्यानेजमेन्ट लगायत सेवा दिइरहेको छ।

यसले काठमाडौंभर चार ठाउँमा क्यान्टिन चलाएको छ भने चारभन्दा बढी कार्यालयमा खाना पुर्‍याउँछ।

व्यवसाय सुरू गर्ने योजना बनेपछि दीपिका र समीक्षाले विशालनगरको चोकमा एउटा सानो भान्सा र कोठा लिए। खाना पकाउने मान्छे र डेलिभरीमा कर्मचारी राखे। सबै गरेर पाँच जना भए। समीक्षा र दीपिका आफैं भान्सामा पसे, खाना बनाए, भाडा माझे र आवश्यक परे डेलिभरीका लागि पनि दौडिए।

अहिले पनि पिएमएल विशालनगरकै तीन तले घरमा सञ्चालन भइरहेको छ। यहीँ यसको कार्यालय र भान्सा छ। पिएमएलमा झन्डै तीस जना कर्मचारी छन्। कोरोना महामारीअघि त ५० जनाभन्दा बढी थिए। कोरोना र लकडाउनका कारण थुप्रै व्यवसायझैं पिएमएलमा पनि असर देखियो।

समीक्षाका अनुसार अन्य कर्पोरेट क्षेत्रमा असर पर्नेबित्तिकै पिएमएलको व्यवसायमा प्रत्यक्ष प्रभाव पर्छ। कार्यालयहरू बन्द हुँदा खाना-खाजाको अर्डर आउँदैन। महामारीअघि उनीहरू दैनिक नौ सय जनासम्मका लागि खाना-खाजा बनाउँथे। हाल दैनिक तीन सय जनाका लागि बनाउँदैछन्।  

प्याक माई लन्च जम्मा पाँच लाख लगानीमा सुरू भएको व्यवसाय हो। यो दीपिका र समीक्षाको बचत रकम थियो।

सुरूआती दिनमा यहाँका ग्राहक दीपिका र समीक्षाका चिनजानका साथी र सहकर्मी थिए। उनीहरूका लागि पिएमएलले टिफिन बट्टामा खाना सेट प्याक गरेर सम्बन्धित कार्यालय र व्यक्तिहरूसम्म पुर्‍याउन थाल्यो। सुरूमा शाकाहारी र मांसाहारी खाना सेटको विकल्प थियो। अर्डर आए मःम, चाउमिनजस्ता अन्य फास्ट फुड मेनुमा थप्दै गए।

विस्तारै विभिन्न कर्पोरेट र अन्य कार्यालयले यसबारे चाल पाए। र आफ्ना कर्मचारीका लागि पनि खानाको अर्डर दिए। 

पछि एउटा बैंकले आफ्ना कर्मचारीका लागि क्यान्टिन सञ्चालन गर्न प्रस्ताव राख्यो। यो उनीहरूका लागि व्यवसाय विस्तार गर्ने राम्रो मौका थियो। त्यसैले राजी भए। बैंकका कर्मचारीमार्फत उनीहरू झन् ठूलो व्यक्तिहरूमाझ चिनिँदै गए। यसरी समयसँगै उनीहरूले विभिन्न ठाउँमा क्यान्टिन सेवा सुरू गरे। अहिले रिटेल, आइटी कम्पनी र अन्य कर्पोरेट अफिसहरूमा खाना-खाजा पुर्‍याइरहेका छन्।

‘अधिकांश ग्राहकबाट अजिनामोटो र अनावश्यक बढी मसला नहालेको, घरको स्वादको खाना भन्ने प्रतिक्रिया पाएका छौं,’ सह-सञ्चालक समीक्षा भन्छिन्, ‘छोटो समयमै मिलेको सकारात्मक प्रतिक्रियाले व्यवसाय विस्तार गर्न हौसला मिलेको छ। त्यसैले मागअनुसार सेवा विस्तार गर्दैछौं।’

यति बेला पिएमएलको प्राथमिकता नेपाली मिठाइमा छ।

पिएमएलबाट कम्तीमा दस जना साथी मिलेर दैनिक रूपमा खाना-खाजा मगाउन सकिन्छ।

‘एक जनाका लागि मात्र खाना बनाउँदा हामीलाई पनि गाह्रो हुन्छ। ग्राहकलाई पनि महँगो। त्यसैले आफ्ना साथीसंगी मिलेर एकैपटक अर्डर गर्न सकिन्छ,’ ३५ वर्षीया समीक्षाले खाना अर्डर गर्ने तरिकाबारे जानकारी दिइन्।

पिएमएल सामाजिक सञ्जालहरूमा सक्रिय छ। कम्पनीको व्यवस्थापन सम्हालिरहेकी दीपिकाको अनुभवअनुसार प्रायः १८ देखि २५ वर्षका व्यक्ति इन्स्टाग्राममा सक्रिय छन् भने २५ वर्षमाथिका बढी फेसबुक चलाउँछन्। सोहीअनुसार उनीहरू आफ्नो सेवाका लागि ग्राहक लक्षित गर्दैछन्। यसबाहेक अबको तीन महिनाभित्र वेबसाइट पनि तयार हुने दीपिकाले बताइन्। 

उनकाअनुसार नेपालमा काम गर्न हरेक दिन चुनौतीपूर्ण भने छ। त्यस्तै कर्मचारी व्यवस्थापनदेखि ग्राहक सन्तुष्टिलाई विशेष ध्यान दिनुपर्छ। पिएमएलले सञ्चालन समयदेखि २०७२ सालको भूकम्प, नाकाबन्दी, कोरोना र लकडाउन जस्ता समस्या सामना गरिसकेको छ। तर धैर्य, सेवा गुणस्तर र ग्राहक प्रतिक्रियाका कारण कम्पनीलाई बजारमा स्थापित हुन मद्दत मिलेको दीपिका बताउँछिन्। 

बजारमा बढ्दो प्रतिस्पर्धालाई पनि उनीहरू सकारात्मक मान्छन्।

समीक्षा भन्छिन्, ‘बजारमा जति धेरै सेवाउन्मुख कम्पनी भए त्यति नै सर्वसाधारणका लागि सहज हुन्छ। त्यसैले बजारमा हुने हरेक प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिन्छौं। सेवा गुणस्तरअनुसार ग्राहकले कसलाई रोज्ने भन्ने हो। हामी आफ्नो खाना र सेवामा पूर्ण विश्वस्त छौं।’

अहिले पिएमएलको सेवा काठमाडौं उपत्यकामा सीमित छ। तर छिट्टै उपत्यकाबाहिर विस्तार गर्ने योजना बुनेका छन् उनीहरूले। त्यस्तै भविष्यमा आफ्नै रेस्टुरेन्ट खोल्ने योजना पनि छ।

(प्याक माइ लन्चको फेसबुक पेजका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८४१५१६७१२ )

( जन न्युज नेपाल खबरको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४