Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिले बुस्टर डोज कि एक मात्रा खोप ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 7.9K
    SHARES

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै बुस्टर डोज दिनुपर्ने माग चौतर्फी उठेको छ । छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा ओमिक्रोनको संक्रमित तीव्र रुपमा बढिरहेको छ । नेपालमा पनि अहिलेसम्म तीन जनामा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । जोखिम बढेसँगै मानिसहरुमा ओमिक्रोनबाट सुरक्षित रहन बुस्टर डोजप्रतिको चासो बढेको छ ।

सरकारले पनि खोपको सहज उपलब्धता रहेको भन्दै बुस्टर डोज दिन सकिने बताउँदै आएको छ । तर बुस्टर डोज कहिले दिने भन्ने सवालमा सरकार आफैं अन्योलमा छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिए बुस्टर डोज दिन सकिने बताएका छन् ।

  • बुस्टर डोजबारे विज्ञहरुबीच मतभेद

बुस्टर डोज दिने सवालमा नेपालका जनस्वास्थ्यविद पनि एकमत छैनन् । एक थरी विज्ञहरु अहिलेसम्म पूर्ण मात्रा खोप लगाएकालाई बुस्टर डोज र अहिलेसम्म खोप नलगाएकालाई एक डोज पनि दिने अभियान सँगसँगै चलाउन सकिने बताउँछन् । कतिपयले भने कम्तीमा खोप लगाउन बाँकी नागरिकलाई कम्तीमा एक डोज दिएपछि मात्र बुस्टर डोज दिनुपर्ने सुझाव दिएका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालको सन्दर्भमा महामारी नियन्त्रण तथा रोकथामका लागि पहिलो डोजका साथ–साथै ‘जोखिम वर्ग’ लाई बुस्टर डोज खोप दिनुपर्ने सुझाव दिन्छन् ।

खोप लगाएका व्यक्ति पनि संक्रमणको उच्च जोखिम समूहमा छन् भने त्यस्ता व्यक्तिलाई ‘बुस्टर डोज’ दिनुपर्ने उनको तर्क छ । खोप पर्याप्त भएको अवस्थामा उच्च जोखिममा भएका दीर्घरोगी तथा स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिन सकिने उनी बताउँछन् । पहिलो र दोस्रो लहरमै खोप नलगाएका धेरै स्वास्थ्यकर्मी संक्रमित हुन पुगे । ओमिक्रोन नेपालमा फैलिएको अवस्थामा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन सक्छन्,’ डा. सुवेदी भन्छन्, ‘त्यसैले स्वास्थ्यकर्मीलाई जोखिमको आधारमा बुस्टर डोज दिन शुरू गरौं ।

अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीको सुझाव पनि डा. सुवेदीसँग मेल खान्छ । भारतमा ओमिक्रोन तीव्र रुपमा फैलिरहेको अवस्थामा नेपालमा फ्रन्टलाइनमा रहेका मानिसलाई तुरुन्तै बुस्टर डोज दिनुपर्ने उनको तर्क छ । ओमिक्रोन भेरियन्टको फैलने क्षमता तीव्र रहेकोले पूर्ण खोप लगाएपनि ६ महिनापछि त्यस्ता व्यक्तिको एन्टिबडी खस्कँदै जाने भएकोले तत्काल बुस्टर डोज दिनुपर्ने उनको सुझाव छ ।

‘अहिलेको तथ्यांक अनुसार भारतमा केही दिनमा ओमिक्रोनले तीव्र गति लिन थालेको छ । त्यसको दुई–तीन हप्तामा नेपालमा पनि संक्रमणले गति लिन सक्छ,’ डा. अधिकारी भन्छन्, ‘हामीसँग ओमिक्रोन नियन्त्रणका लागि कम समय छ । अन्य रोकथामका प्रयासदेखि बुस्टर डोज लगाउन शुरू गरौं ।’ ‘बुस्टर डोज’ लगाएको तीन हप्तापछि मात्रै एन्टिबडी बन्ने हुँदा चाँडै नै खोप दिनुपर्ने डा. अधिकारीको तर्क छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. गणेश राई भने लक्षित समूहको ८० प्रतिशतभन्दा बढी मानिसलाई पहिलो डोज खोप लगाएपछि मात्रै ‘बुस्टर डोज’ दिन सकिने बताउँछन् ।

अहिलेको सन्दर्भमा खोप सल्लाहकार समितिले बुस्टर डोज अगाडि बढाउन कुनै सुझाव दिएको छैन,’ डा. राई भन्छन्, ‘सबै लक्षित समूहलाई एक मात्रा नै खोप नदिइ बुस्टर डोज दिन सान्दर्भिक हुँदैन ।’ महामारी विज्ञ डा. केदार बराल भने संक्रमणलाई मध्यनजर गर्दै अहिले सरकारले छिटोभन्दा छिटो सबै मानिसलाई पहिलो डोज दिनुपर्ने बताउँछन् । खोपको पहिलो मात्रा लगाएपनि धेरै हदसम्म सुरक्षा दिने भएकोले जतिसक्दो छिटो सबै नागरिकलाई पहिलो डोज दिनुपर्ने उनको सुझाव छ ।

बुस्टर डोज खोप स्वास्थ्य प्रणालीलाई जोगाउन मात्रै दिनुपर्ने डा. बरालको तर्क छ । ‘ओमिक्रोन फैलिएको खण्डमा स्वास्थ्य संस्थालाई जोगाउनको लागि मात्रै बुस्टर डोज लगाउनुपर्छ,’ डा. बराल भन्छन्, ‘एक डोज नै नपाएको मानिसलाई छोडेर बुस्टर डोज दिन न्यायोचित हुँदैन ।’ डा. बरालको जस्तै सुझाव सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको पनि छ । अहिलेको सन्दर्भमा प्राथमिकतामा पहिलो डोज नपाउने मानिसलाई दिनुपर्ने डा. पुनको पनि तर्क छ ।

‘नेपालको कोरोना मृत्युदरमा डेल्टा भेरियन्ट प्रमुख छ । जसलाई रोक्न एकै डोज खोप पनि प्रभावकारी हुन्छ,’ डा. पुन भन्छन्, ‘सरकारले खोप वितरणलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्छ ।’ सरकारले नागरिकलाई कम्तीमा पनि एक डोज खोप दिँदा धेरै हदसम्म सुरक्षित बनाउने र गम्भीर बिरामी र मृत्युबाट जोगाउने डा. पुनको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल अहिले खोप लगाउने दर बढाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् । अहिले एक डोज पनि खोप नलगाउनुको कारण पहिचान गरेर चेतना फैलाउनुपर्छ । अहिले हाम्रो रणनीति अधिकांश मानिसलाई पहिलो डोज दिएपछि मात्रै बुस्टर डोज दिनुपर्छ भन्ने योजना छ,’ डा. पौडेल थप्छन् ।

बुस्टर डोज दिनुभन्दा नलगाएका व्यक्तिलाई पहिलो डोज खोप लगाउने काम महामारी नियन्त्रणका लागि प्रभावकारी हुने उनको तर्क छ ।

‘विकसित देशमा खोपको सहज उपलब्धता पनि छ । त्यस्ता ठाउँमा सबैलाई बुस्टर डोज दिनु स्वाभाविक हो । तर, नेपालमा कसैले एक डोज पनि नपाउँदै अन्यले बुस्टर पाउनुलाई न्यायोचित हुँदैन,’ डा. पुन भन्छन् । कुल जनसंख्याको आधाभन्दा धेरै मानिस खोप लगाउन बाँकी हुँदाहुँदै लगाइसकेकालाई फेरि खोप दिनु न्यायको दृष्टिकोणले सही नभएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘जनता प्रति सरकारले न्यायपूर्ण व्यवहार गर्नुपर्छ । कम्तीमा सबैले पहिलो मात्रा खोप पाइसक्नुपर्छ,’ ती अधिकारी भन्छन्, ‘अझ धेरै जनसंख्याले पहिलो खोप नपाएको अवस्थामा अहिले नै बुस्टर डोज दिने हतार गर्नु हुँदैन ।’

‘डब्ल्यूएचओले प्राविधिक सल्लाह दिनसक्छ । निर्णय सरकारले गर्ने हो,’ ती अधिकारी थप्छन्, ‘लक्षित वर्गलाई अहिले पहिलो डोज दिइसक्नुपर्थ्यो । तर, सरकार व्यवस्थापनमा धेरै चुकिसकेको छ । बोलेर मात्रै सबै पूरा हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४